बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

फक्रिन नसकेका रातो गुलाफ

शनिबार, ०७ फागुन २०७८, १२ : ५०
शनिबार, ०७ फागुन २०७८

काँडै काँडाबीच कोपिलाएको 
एउटा रातो गुलाफ
काँडाकै सुरक्षामा रमाइरहन्छ
काँडाकै नजिक हाँसिरहन्छ
गुलाफले रमाउनु र हाँस्न पाउनु भनेको
काँडाको निकटमा मात्र हो ।
बजारको सस्तो गल्लीमा
बजारको सस्तो भाउमा
काँडाहरू नै गुलाफको खुल्ला मोल गरिरहन्छ ।
सुरक्षा दिने बहानामा समाज गिद्धेदृष्टि लगाइरहन्छ
भोको ब्वाँसोहरू र्याल चुहाउँदै एउटा मौका पर्खिरहन्छ ।
गुलाफले कोपिलाउनु भनेको खुल्ला यौन चुनौती दिनु हो
माटोको दुर्गन्धित ‘फर्टिलाइज’मा उभिएर संसार हेर्न भनेको
उसको सुकोमल ‘भर्जिनिटी’को खुल्ला विज्ञापन गर्नु हो ।

प्रेमको रङ्ग रातो, युद्धको रङ्ग रातो, गुलाफको रङ्ग पनि रातो
अनि रातै हुन्छ रजस्वलाको रगत पनि
रातो रङ्गको मूल्य नबुझ्दै हत्या हुन्छ गुलाफको ।
नारा हुन्छ, जुलुस हुन्छ, चक्का जाम हुन्छ सडकमा
हत्याराहरू नै जुलुसमा कराइरहन्छन्, नारा लगाइरहन्छन्
‘वी वान्ट जस्टिस’ भन्नेहरूले नै 
कोटको खल्तीमा गुलाफ लुकाइरहन्छन्
मौका पर्खिरहन्छन्
हत्या गर्न गुलाफको ।

डुवर्स, भारत

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप