बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

लघुकथा : घरधन्दा

शनिबार, ०७ फागुन २०७८, १३ : ०९
शनिबार, ०७ फागुन २०७८

“हामीले जागिर खाए पनि घरको सबै धन्दा भ्याउनु पर्ने, यी लोग्ने मानिसको जातलाई घरको कामको सिन्को भाँच्नु नपर्ने ?” रीता अफिसबाट सँगै आएको लोग्नेलाई कराउँदै भान्साकोठामा पसेर चामल भिजाइन्, कुकरमा दाल बसालेर कपडा फेर्न कोठामा पसिन् । 

उनको लोग्ने पनि काममा पटक्क नसघाउने त होइन । उसले पनि कपडा फेरेर तरकारी काटकुट गर्न थाल्यो । सबैको घरमा जस्तै उनीहरुको घरमा पनि एक अर्काले गरेको काम नदेख्ने भइराखेको छ । 

खाना खाई सकेपछि रीताले गुनगुन गरिन्, ‘दिदीले बोलाएको कति भयो । दुई रात बस्न जान पनि पाइएन । अफिसमा त विदा मिल्थ्यो, घर नै लथालिङ्ग हुन्छ, के गर्नु । आफ्नो कुरा कसलाई भन्नु ।’

लोग्नेलाई पनि अलि बढी झोक चल्यो र भन्यो, “कति आफैँले मात्र घर धाने जस्तै गर्छ्यौ । मैले पनि देखेको गरेकै छु त । भो, धाक नदेखाए हुन्छ । दोष नलगाईकन कहाँ जानुपर्ने हो गए हुन्छ । म सबै धन्दा भ्याउँला ।” 
कुरै कुराको सिलसिलामा पर्सि रीता दुई चार दिनका लागि दिदीकोमा जाने सहमति बन्यो । 

श्रीमती नभएपछि लोग्ने एक्लै भात भान्सामा खटियो । काम गर्दा गर्दै आफ्नो अफिस जाने गाडी र छोराछोरीको स्कुल बस छुट्ला भन्ने पीर । “बाबा आज टिफिन के लाने ?” छोराको प्रश्नले उ झस्कियो । धत्तेरी स्कुल टिफिनको बारेमा त सोचेकै छैन उसले । 

हतार हतार चोकमा दौडियो र दुई पोका बिस्कुट किनेर ल्यायो । खोलेर छोराछोरीको बक्समा मिलाएर राख्दै भन्यो, “मामु आएपछि बाबाले बिस्कुटको खाजा पठाएको नभन्नु है ।” 

स्कुल जानु अघि छोरीले भनिन्, “बाबा मेरो कपाल कोरीदिनु न ।” ल, अब उसलाई छोरीको कपाल बाट्न पनि आउँदैन । पल्लो घरमा बस्ने बहिनीलाई झ्यालबाट बोलायो, “बैनी, हाम्रो नानीको कपाल कोरिदिनु न है ।” 
अफिस जाने लगाउने कपडा लगाउँदै लोग्ने मनमनै बोल्यो, “घरधन्दा पनि  गाह्रै रहेछ बा ।’

पोखरा–७ मासबार, कास्की
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप