बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

कविता : ललिपप

शनिबार, ०७ फागुन २०७८, १३ : ४३
शनिबार, ०७ फागुन २०७८

अब चुनावसम्म 
बोकालाई घाँस देखाए जस्तै 
भोकालाई गाँसको आश देखाएर 
हामीलाई महामूर्ख बनाउन सक्छन् मुर्खहरूले
रासनको अभावमा छट्पटाएकाहरूलाई 
भाषण पस्किएर 
महामूर्ख बनाउन थालेका छन् 
गाउँमा छिर्न 
चुनावको नाममा 
झुपडी बस्तीमा आगो लगाएर
बाँड्दै  राहतका पोका 
बनाउन पनि सक्छन् हामीलाई भेंडा
दुहुनो गाई बनाएर देशलाई 
लुट्न खोज्नेहरूबाट हुनुहोला सावधान 
र नबस्नु होला फड्के किनाराको साक्षी 
चिन्नु होला को हो तपाईंको दुःख सुखको साथी ?
...
फेरि वृद्धाश्रममा परिणत सुनसान बस्तीहरूमा
केही दिन आस्वासनका पोकाहरू फुकाउँदै
छिर्न थालेका छन् हुलका हुल जमातहरू 
घोषणापत्र र भाषणका पोकाहरू फुकाउँदै
सुनसान मरुभूमि बन्न थालेका बस्तीमा
सपना देखाउने छन् रंगीन फूलवारी बनाउने 
बाँड्दै छन् घर घरमा समृद्धिका ललिपप ।

ओठमा मीठो नक्कली मुस्कान लिएर
कपटी हातहरू जोड्दै 
मुखिया बन्न सपना बाँड्ने छन्
घर घरमा पानीका धारा जडान हुनेछन्
टोल टोलमा बाटो बन्नेछ 
कोही भोकै बस्नुपर्ने छैन 
खुल्ने छन् खाद्य गोदाम र डिपोहरू 
सञ्चालन हुनेछन् टोल टोलमा उद्योग
महलमा बस्नेछन् पालमा बसेकाहरू 
डोल्पाको स्याउ जहाजमा सिमरा उत्रनेछ
सिमराको चामल डोल्पाका गाउँ गाउँ बाँडिनेछ 
आमाको साडी फेर्न पुग्नुपर्ने छैन खाडी
गाउँ शहर सबैतिर आउनेछ समृद्धिको बाढी
घर घरमै रोजगारी खुल्नेछ 
सबैले भन्नेछन्
देशको भाग्य र भविष्य खोसिनेछ 
हाम्रो पार्टीले नजिते
संकटमा फस्नेछ देश
हामी विकासको मूल फुटाउँछौ
तपाईं गरिबहरूको हातमुख जुटाउँछौं ।

नेपाल धर्तीको स्वर्ग बन्ने सपना सजाउँदै 
हामी निरीह मनुवा 
 प्रवेश गर्नेछौँ  मतदान केन्द्रमा
मतपेटिकाको प्वालमा छिरेको भोटसँगै 
हाम्रा सपना मतपेटिकाभित्र कैद हुनेछन् 
फेरि अर्को चुनाव सम्मका लागि 
त्यसैले सजग हुनु होला साथी 
तपाईंलाई भेंडा बनाएर कसैले घाँस नदेखाओस् 
तपाईंलाई मूर्ख बनाएर कसैले आश नदेखाओस् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप