सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

एलसीमा शत प्रतिशत मार्जिन, भन्सार राजस्व संकलन लक्ष्य प्रभावित

सोमबार, ०९ फागुन २०७८, ०७ : २४
सोमबार, ०९ फागुन २०७८

नेपाल राष्ट्र बैंकले आयात घटाउन गरेको नीतिगत व्यवस्थाले भन्सार राजस्व संकलन लक्ष्य प्रभावित बनेको छ । भन्सार विभागका अनुसार अघिल्ला महिनाहरूमा लक्ष्यभन्दा बढी तथा लक्ष्यको नजिकै पुग्दै आएको भन्सार राजस्व संकलन माघ महिनामा ५ अर्ब ६८ करोड रुपैयाँले प्रभावित बनेको हो ।

नेपाल राष्ट्र बैंकले निरन्तर बढिरहेको आयातलाई निरूत्साहित गर्न एलसी खोल्दा शत प्रतिशत बैंक मार्जिन राख्नुपर्ने व्यवस्था गरेको थियो । आयात बढ्दा विदेशी विनिमय दरमा दबाब परेपछि त्यसलाई नियन्त्रण गर्न केन्द्रीय बैंकले दुई चरणमा गरेर ४७ वटा ‘एचएस कोड’ अन्तर्गत आउने वस्तुको आयातमा शत प्रतिशत मार्जिन राख्नुपर्ने व्यवस्था गरेको हो । जसको सिधा प्रभाव राजस्व संकलनमा परेको हो । 

नेपाल सरकारले प्रत्येक वर्षको बजेट ल्याउँदा भन्सार आयातबाट उठ्ने राजस्वलाई प्रमुख स्रोत मान्ने गरेको छ । चालु आर्थिक वर्षमा पनि भन्सार शुल्कमार्फत ठूलो स्रोत जोहो गर्ने दाउमा अर्थमन्त्री जनार्दन शर्मा छन् । सोहीअनुसार राजस्व संकलन वृद्धि गर्न अर्थमन्त्री शर्माले पटक–पटक कर्मचारीहरूलाई निर्देशन दिँदै आएका छन् ।

यसअघिका महिनामा भन्सार विभागले लक्ष्यअनुसारकै राजस्व संकलन गर्दै आएको प्रवक्ता पुन्यविक्रम खड्काले बताए । ‘पुस महिनामा थोरैले लक्ष्य पूरा भएन । त्यसबाहेकका सबै महिनामा लक्ष्य पूरा गर्दै आएका थियौं,’ उनले भने, ‘माघ महिनामा त ठूलो रकम अपुग देखियो ।’

विभागले माघ महिनामा हुने वस्तु आयातबाट ४२ अर्ब ७४ करोड रुपैयाँ राजस्व संकलनको आन्तरिक लक्ष्य लिएको थियो । तर, माघ महिनाभरमा जम्मा ३७ अर्ब ५ करोड रुपैयाँ राजस्व संकलन भएको छ । यो लक्ष्यभन्दा ५ अर्ब ६८ करोड कम हो । खासगरी, केन्द्रीय बैंकले नीतिगत कडाई गर्दा आयातसँगै राजस्व संकलन प्रभावित विभागको विश्लेषण छ ।

माघमा कुन भन्सारबाट कति संकलन ?

स्रोतः भन्सार विभाग

भन्सार विभागले उपलब्ध गराएको तथ्याङ्कअनुसार सबै भन्सार कार्यालय यो महिनामा लक्ष्य भेट्टाउन असफल बनेका छन् । मुख्य भन्सार कार्यालय र सहायक तथा छोटी भन्सार कार्यालयहरूले समेत लक्ष्य भेट्टाउन नसकेका हुन् ।

सबैभन्दा बढी विरगञ्ज भन्सार कार्यालयबाट माघ महिनामा १५ अर्ब ८१ करोड रुपैयाँ भन्सार राजस्व संकलन भएको छ । यो भन्सार नाकाबाट १६ अर्ब ४९ करोड रुपैयाँभन्दा बढीको भन्सार राजस्व संकलन गर्ने लक्ष्य थियो । यद्यपि, लक्ष्यभन्दा ६८ करोड रुपैयाँ कम राजस्व संकलन भएको हो ।

यस्तै, ४ अर्ब रुपैयाँभन्दा बढी राजस्व संकलन गर्ने लक्ष्य लिइएको विराटनगर भन्सार कार्यालयबाट जम्मा ३ अर्ब रुपैयाँ हाराहारीमा संकलन भएको छ । 

यसैगरी माघमा अन्य भन्सार कार्यालयले समेत आफ्नो लक्ष्य भेट्टाउन सकेनन् । 

कुन महिना कति भन्सार राजस्व ?

स्रोतः भन्सार विभाग

भन्सार विभागको तथ्याङ्कअनुसार चालु आर्थिक वर्षको तीन महिना बाहेक अन्य सबै महिना लक्ष्यभन्दा बढी भन्सार राजस्व संकलन भएको छ । कात्तिक र पुस महिनामा लक्ष्यको नजिक भन्सार राजस्व संकलन भएकोमा माघ महिनामा भने लक्ष्यभन्दा निकै कम संकलन भएको हो ।

कात्तिक महिनामा ४५ अर्ब ५१ करोड रुपैयाँ राजस्व संकलनको लक्ष्य लिइएको थियो । तर, उक्त महिनामा ४४ अर्ब ५५ करोड रुपैयाँ मात्रै राजस्व संकलन भएको थियो । यस्तै, पुस महिनामा पनि ४५ अर्ब ८४ करोड राजस्व संकलनको लक्ष्य लिइएकोमा जम्मा ४२ अर्ब ७२ करोड रुपैयाँ संकलन भएको थियो । माघ महिनामा लक्ष्यको तुलनामा ५ अर्बभन्दा बढी रकम अपुग भएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

निकेश खत्री
निकेश खत्री

खत्री रातोपाटीका लागि आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप