सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

रातोपाटी ब्रिफिङ : संकटमा जेलिँदै माओवादी केन्द्र, एमसीसीको पक्षमा बहुमत जुटाउने रणनीतिको खोजीमा देउवा

एमसीसीको विपक्षमा मतदान गर्ने एकीकृत समाजवादीको निर्णय
सोमबार, ०९ फागुन २०७८, २० : ४०
सोमबार, ०९ फागुन २०७८

आज २०७८ फागुन ९ गते सोमबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डट कमको नियमित प्रस्तुति ‘सन्ध्याकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौं–

आजका मुख्य समाचारमा एमसीसीको बाछिटा कुन दलमा कति ?, एमसीसीको विरोधमा प्रदर्शन : ओलीको आक्रोश, मुख्य राजनीतिक दलहरु नै चुनावका लागि आयोगमा दर्ता हुन बाँकी, माओवादी केन्द्र संकटमा जेलिँदै, आन्तरिक विवादमा फसेको जसपा नेपालले बोलायो कार्यकारिणी समिति बैठक, नेपाल आइसीसी टी–२० विश्वकप छनोटको सेमिफाइनलमा लगायत छन् ।

१. एमसीसीको बाछिटा कुन दलमा कति ?
अमेरिकी सहयोग परियोजना ‘मिलेनियम च्यालेञ्ज कर्पोरेसन’ (एमसीसी) संसदमा टेबल भएसँगै सत्ता र प्रतिपक्षी दलमाथि समान संकट देखिएको छ । एमसीसीलाई लिएर सत्तारुढ गठबन्धन विभाजित देखिएको छ भने अहिलेसम्म आफ्नो ‘पोजिसन क्लियर’ नगरेको प्रमुख प्रतिपक्ष नेकपा एमाले पनि अब एउटा कित्तामा उभिनुपर्ने अवस्थामा पुगेको छ ।

​२. एमसीसीको विरोधमा प्रदर्शन ः ओलीको आक्रोश
एमसीसीको विरोधमा युवाहरुले प्रदर्शन जारी राखेका छन् । सोमबार पनि राजधानीमा युवा तथा विद्यार्थीले एमसीसीको विरोधमा प्रदर्शन गरेका हुन् । यता, प्रमुख प्रतिपक्ष नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भने एमसीसीको विरोधमा हुँदै आएको प्रदर्शनप्रति आक्रोश पोखेका छन् । सरकारमा रहेका ‘क्रान्तिकारी’हरुले नै सडक भत्काएर सुरक्षाकर्मीमाथि आक्रमणमा उत्रिएको उनको भनाइ छ । 

​३. मुख्य राजनीतिक दलहरु नै चुनावका लागि आयोगमा दर्ता हुन बाँकी
निर्वाचन आयोगमा चुनावका लागि नयाँ तीन दलसहित १० वटा राजनीतिक दल दर्ता भएका छन् । तर नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्रसहितका मुख्य राजनीतिक दलहरु भने अझै आसन्न स्थानीय तहको निर्वाचन प्रयोजनका लागि दर्ता हुन बाँकी रहेको आयोगले जनाएको छ । 

 

४. माओवादी केन्द्र संकटमा जेलिँदै
मुलुकको तेस्रो ठुलो राजनीतिक दल आन्तरिक तथा बाह्य संकटमा जेलिँदै गएको छ । पार्टीभित्र बढ्दै गएको चर्को गुटबन्दी, नेताहरुमा देखिएको पद प्रतिको आसक्ति, नेतृत्वप्रतिको अविश्वास र नेता कार्यकर्तामा जागेको आर्थिक मोहका कारण माओवादी केन्द्र एकपछि अर्को आन्तरिक संकटमा रुमलिन पुगेको हो ।  

 

५. आन्तरिक विवादमा फसेको जसपा नेपालले बोलायो कार्यकारिणी समिति बैठक
जनता समाजवादी पार्टी (जसपा) नेपालले कार्यकारिणी समितिको बैठक बोलाएको छ । पार्टीका अध्यक्ष उपेन्द्र यादवले फागुन १३ गतेका लागि बैठक बोलाएका हुन् । पछिल्लो समय यो पार्टीमा आन्तरिक विवाद बढेको छ ।

 

६. नेपाल आइसीसी टी–२० विश्वकप छनोटको सेमिफाइनलमा
समूह विजेता बन्दै नेपाल जारी आइसीसी टी–२० विश्वकप छनोटको सेमिफाइनलमा प्रवेश गरेको छ । सोमबार समूह चरणको आफ्नो अन्तिम खेलमा नेपालले क्यानडालाई ८ विकेटले पराजित गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो । 

 

७. देश ठग्नेहरूलाई एक साताभित्र कारबाहीको दायरामा ल्याउने मन्त्री आलेको घोषणा
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले देशलाई ठग्नेहरूलाई एक साताभित्र कारबाहीको दायरामा ल्याउन लागेको बताएका छन् । सोमबार राजधानीमा आयोजित एक कार्यक्रममा उनले आजसम्म देशलाई ठग्नेहरूका विरुद्धमा आफुले गरेका काम ट्रेलरमात्रै भएको उल्लेख गर्दै एक साताभित्र पूरा फिल्म देखिने गरी काम गर्ने बताए ।

 

नेपाल राष्ट्र बैंकले आयात घटाउन गरेको नीतिगत व्यवस्थाले भन्सार राजस्व संकलन लक्ष्य प्रभावित बनेको छ । भन्सार विभागका अनुसार अघिल्ला महिनाहरूमा लक्ष्यभन्दा बढी तथा लक्ष्यको नजिकै पुग्दै आएको भन्सार राजस्व संकलन माघ महिनामा ५ अर्ब ६८ करोड रुपैयाँले प्रभावित बनेको हो । 

९.नेपालमा युरेनियम कारोबारीको सञ्जाल
नेपालमा एक वर्षको अवधिमा दोस्रो पटक युरेनियम बरामद भएको छ । २०७७ फागुनमा राजधानीको बौद्धबाट साढे दुई किलो युरेनियम बरामद गरेको प्रहरीले गत फागुन २ गते २ केजी ८०० ग्राम युरेनियम बरामद गरेको छ ।

१०. पछिल्लो २४ घण्टामा ३८८ जनामा कोरोना संक्रमण
नेपालमा पछिल्लो २४ घण्टामा थप ३८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै मुलुकमा कोरोनाभाइरसका सक्रिय संक्रमितको संख्या ११ हजार २८२ रहेको छ । पछिल्लो २४ घण्टामा एक हजार २०५ जना संक्रमणमुक्त भएका छन् भने ४ जनाको मृत्यु भएको छ । 

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) सोमबार दोहोरो अंकले बढेको छ । बजार २५.४१ अंकले बढ्दा ४९ लाख ९२ हजार ८७९ कित्ता शेयर किनबेच भएको छ भने २ अर्ब ९९ करोड ७६ लाख ८१ हजार ७२ रुपैयाँ कारोबार भएको छ ।

प्रदेश १ सरकारको भुक्तानी असन्तुलन फराकिलो बन्दै गएको छ । पूर्ववर्ती सरकारले हचुवाका भरमा ल्याएको बजेट र जथाभावी तर्जुमा गरिएका योजनाका कारण भुक्तानी असन्तुलन बढेको हो । 

सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीको सुरक्षा बढाइएको छ । सञ्चार मन्त्रीको सुरक्षामा नेपाल प्रहरीले अगुवा गाडी सहित थप सुरक्षाकर्मी परिचालन गरेको छ । फागुन ८ मा सञ्चार मन्त्री कार्कीले अर्थमन्त्रीको तर्फबाट प्रतिनिधिसभामा मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) टेबल गरेका थिए । 

 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप