आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

प्रेमको विविधिकरण

मङ्गलबार, १० फागुन २०७८, १२ : ४६
मङ्गलबार, १० फागुन २०७८

‘सबै अण्डा एउटै टोकरीमा राख्नुको सट्टा फरक फरक टोकरीमा राख, जसकारण सबै अण्डा फुट्न पाउँदैन ।’ यो सिद्धान्त लगानी व्यवस्थापन गर्नको लागि निकै प्रचलित छ । सबै रकम एउटै कम्पनीमा लगानी गर्नुको साटो फरक फरक कम्पनीमा गर्नु उचित हुन्छ । ताकि बाँकी कम्पनी घाटामा गए पनि नाफामा गएका कम्पनीले रिकभर गर्छ । मानौं तपाईंले चारवटा कम्पनीमा लगानी गर्नुभयो, तीनवटा घाटामा गए तर तपाईंले चिन्ता गर्नुपर्दैन, बचेको एउटा कम्पनीले असुल गर्छ ।

अब आजको विषयवस्तुतिर लागौं । ‘सबै अण्डा एउटै टोकरीमा राख्नुको सट्टा फरक फरक टोकरीमा राख, जसकारण सबै अण्डा फुट्न पाउँदैन ।’ यो सिद्धान्त प्रेममा पनि लागु गर्न सकिन्छ । कोही एकै व्यक्तिलाई मात्रै असाध्यै माया नगरौं । एउटैलाई पुरै दुनियाँ नठानौं । आफ्नो हृदयको असीमित सामर्थ्यलाई कुण्ठित नतुल्याऔं । आफ्नो प्रेमलाई नि ‘डाइभर्सिफिकेसन’ गरौं । प्रेमलाई बाँडौँ, प्रेम सबैलाई गरौं । यसलाई फैलिन दिऊँ । जसरी घाममा राखिएको लेन्सबाट निस्केको ताप र प्रकाश एकैतर्फ केन्द्रीत गरेपछि, कागज नै जलाउँछ, यसरी नै तिम्रो हृदयबाट निस्केको प्रेम एकै व्यक्तितर्फ केन्द्रीत गरेपछि स्वयम् तिमीलाई नै एकदिन मानसिक पीडाले जलाउनेछ ।

नारायणगोपालको चर्चित गीत सुन्नु भएको होला, ‘एउटा मान्छेको मायाले कति फरक पर्दछ जिन्दगीमा,’ यही गीतले भनेजस्तै एउटा मान्छे मात्रको मायाले अथवा एउटा मान्छेलाई मात्र गरिएको मायाले तपाईंको जीवनलाई फरक पारिदिन्छ या भनौं तहसनहस समेत पारिदिन सक्छ । जीवनमा कहिल्यै पनि मान्छेहरुको मायाले असर पर्दैन, असर पर्छ त केवल एउटा मान्छेको मायाले ।

माया के हो, प्रेम के हो, मोह के हो, मन के हो ? आउनोस्, एकपल्ट वैज्ञानिक तरिकाले व्यावहारिक रुपमा सोचौं । जब हामी कुनै पनि काम लगभग एक्काइस दिनसम्म लगातार गर्छौं, त्यसमा हाम्रो बानी बन्छ । त्यो काम सबेरै उठ्ने, चिया खाने, मर्निङ वाक गर्ने, मेडिटेसन गर्नेदेखि लिएर फेसबुक चलाउने, कसैलाई फोन गर्ने, म्यासेज गर्ने, सम्झनामा हराउने पनि हुन सक्छ । प्रेममा यो लत अझै कडा हुन्छ । किनभने तपाईंकै विरूद्ध तपाईंको हर्मोनले पनि यसै बानीलाई सहयोग गर्छ । अन्ततः एउटै व्यक्ति बाट, एक व्यक्ति मात्रको कल्पना र कल म्यासेजर भेटले मस्तिष्कमा खुशी हुने डोपामिन र सेरेटोरिन नामको केमिकल पैदा गर्छ । सोही खुशीकै आधारमा भन्ने गरिन्छ, संसारका सारा खुशी तिमीले दिन्छ्यौ, मलाई तिमी भए पुग्छ । यो समाज, परिवार के नै हो र हाम्रो माया अगाडि ? आदि । यसरी दिमागमा एउटै मान्छे बस्छ, अरू कसैको मतलब हुँदैन ।

अब अलि मन कठोर बनाऔं । के यो मायाको संसार सधैं रहिरहन्छ ? के मेरो लागि दिनरात नभनी समय दिन तयार हुने मान्छे सधैंभरी अनमोल समय मलाई दिइरहला त ? के मेरो प्रेमीसित सँगै रहन बाध्यकारी सामाजिक परम्परा विवाह मसँगै हुन्छ होला त ? के मलाई यति धेरै माया गर्ने व्यक्तिको माया सधैं रहिरहला त ? यी प्रश्न आफैसँग सोध्नुहोस्, केही प्रश्नको उत्तर अँ त के रे आउला तर सबै प्रश्नको उत्तर ‘हो’मा आउने छैन । यदि सबैको उत्तर सकारात्मक नआएपछि एउटा कुरा ख्याल गरौं । संसार परिवर्तनशील छ, अनित्य छ, यहाँ सधैं रहिरहनेवाला केही छैन, कोही छैन ।

जब यो मायाको संसार अन्त हुन्छ । अनि सुरु हुन्छ घृणा, तिरस्कार, पीडा, छटपटिको सुरुवात । जति नै प्रेम प्राप्तिबाट आनन्द मिलेको थियो, त्यति नै ब्याजसहित पीडाको प्राप्ति पनि हुन्छ । तपाईंको केही वर्ष पहिलेको सोच, विचार, सपना र अहिलेको स्थिति हेर्नोस्, कति फरक छ । तपाईंमा यस्तो परिवर्तन हुन्छ भने स्वभावैले अरू मानिसको शारीरिक एवं मानसिक परिवर्तन पनि स्वभाविक छ । त्यसैले माया सधैं रहिरहँदैन । माया कम हुँदै गएपछि आफैलाई पीडा हुन्छ ।

अन्ततः निष्कर्ष यो हो कि प्रेम सबैलाई गर । तपाईंको हृदयमा आमा, बुबा, हजुरबुबा, हजुरआमा, भाइबैनी लगायतका सबै आफन्त र अन्य साथीहरूले पनि बरोबर ठाउँ ओगटुन् । तपाईंको अमूल्य समय उहाँहरूलाई पनि प्राप्त होस् । एउटै मात्र बेस्ट फ्रेन्ड बनाएर मलाई अरु साथी चाहिंदैन नसोचौं, आफ्नो ‘फ्रेण्ड सर्कल’ बढाउँदै लगौं । सधंै प्रेमिका र प्रेमीलाई मात्र हैन, अन्य केटा वा केटी साथीलाई नि समय देऔं । यदि दिइएन भने तपाईंको लभस्टोरी सुन्ने फुर्सद नहोला उनीहरूलाई ।

मान्छेलाई मात्र होइन सकिन्छ भने जनावर, चराचुरुङ्गी, कीराफट्यांग्रा, वनस्पति, नदी, वन, तलाऊ, हिमाल सबैलाई माया गर्नोस् । अनि नबिर्सेर आफैलाई माया गर्नोस् तर संकुचित प्रेम नगर्नोस् । संकुचित प्रेमले तपाईंको जिन्दगी नै संकुचित पारिदिनेछ । जसरी पोखरीको पानी प्रदूषित हुन्छ, त्यसरी कोही सीमित व्यक्तिलाई मात्र गरिएको प्रेम सीमित रहन्छ र प्रदूषित बन्छ । कोही यति धेरै खास पनि नबनोस् कि अरू बकवास बनुन् । कसैलाई माया सागर सरी अथाह पनि नहोस्, किनभने खाना होस् या माया धेरै कसैलाई पच्दैन । अनि कसैलाई भोकै पनि नराख्नोस्, यति लोभ पनि ठिक हुँदैन । यसलाई टिप्स नै सम्झनोस्, ‘तपार्इंको मायामा पनि विविधिकरण होस् ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप