आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

लिटल फ्लावर प्रिमियर लिग : शारदा र स्टेपिङ विजयी

बुधबार, ११ फागुन २०७८, १८ : ४०
बुधबार, ११ फागुन २०७८

धनगढीमा जारी मेयर लिटल फ्लावर प्रिमियर लिग–६ अन्तर्गत आज भएका दुई खेलमा शारदा सरस्वती र स्टेपिङ स्टोन विजयी भएका छन् । 

आज भएको पहिलो खेलमा कञ्चनपुरको शारदा सरस्वती दोधाराले सैनिक आवासीय महाविद्यालय तेघरीमाथि १०० रनको सानदार जीत दर्ता गरेको छ । टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको शारदाले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १७० रन बनायो । १७१ रनको विशाल विजयी लक्ष्य पछ्याएको सैनिकले १५ ओभरमा आफ्ना सबै विकेट गुमाएर ७० रन मात्रै बनाउन सक्यो । 

सैनिकका खड्क बोहराले २७ र प्रज्वल थापाले १७ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यान शारदाका बलर सामु टिक्न सकेनन् । सैनिकलाई सस्तैमा समेट्न शारदाका विकास सुनारले ५ विकेट लिए । अर्जुनसिंह साउदले तीन र मिलन बोहराले दुई विकेट लिए । 

यसअघि शारदाका लागि आक्रामक पारी खेलेका राजेश साउदले २२ बलमा पाँच चौका र तीन छक्काको मद्दतले ४५ रनको पारी खेले । उसका सुनिल चन्दले ४१, कप्तान गणेश बिटालुले २७, सागर चन्दले २० रन बनाएर आउट हुँदा हेमन्त धामी ११ रनमा अविजित रहे । सैनिकका खड्क बोहराले तीन र आकाश चन्दले दुई विकेट लिए । 

खेलको ‘प्लेयर अफ दी म्याच’ विकास सुनार घोषित भए । गेम चेन्जर अवार्ड अर्जुनसिंह साउदले पाउँदा, सर्वाधिक छक्काको अवार्ड राजेश साउद र सुनिल चन्दले पाए । 

त्यस्तै आजै भएको दोस्रो खेलमा स्टेपिङ स्टोनले सत्यवतीमाथि ३० रनको सान्त्वना जीत निकाल्न सफल भयो । टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको स्टेपिङले निर्धारित २० ओभरमा छ विकेट गुमाएर १५७ रन बनाएको थियो । एक सय ५८ रनको विजयी लक्ष पछ्याएको सत्यवतीले १८.४ मा १२७ रन मात्रै बनाउन सक्यो । 

उसका लागि आदील अन्सारीले २५, सन्तोष कार्कीले २४, खगेन्द्र जोशीले २२, सुजन गौतमले १६, नीरज भट्टले १२ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानको प्रदर्शन राम्रो रहन सकेन । बलिङतर्फ स्टेपिङका दिनेश ओडले चार, कपिल मिश्र, भुपेश जोशी, वीरेन्द्र चन्दले समान दुई/दुई विकेट लिए । 

यसअघि स्टेपिङका लागि अभिषेक कुँवरले ४१ बलमा पाँच छक्का र चार चौका प्रहार गर्दै ६५ रनको उत्कृष्ट पारी खेले । दिनेश ओडले २९, वीरेन्द्र चन्दले २१, आर्यन दानपालीले १९ र विशाल विष्टले ११ रन बनाए । 

बलिङतर्फ सत्यवतीका नीरज भट्ट र सन्दीप खत्रीले समान दुई/दुई विकेट लिए । खेलको ‘प्लेयर अफ दी म्याच’ अभिषेक कुँवर भए । गेम चेञ्जर अवार्ड दिनेश ओडले पाउँदा सर्वाधिक छक्काको अवार्ड पनि अभिषेकले नै पाए । सत्यवती यसअघि नै सेमिफाइनलमा प्रवेश गरिसकेको छ भने स्टेपिङ उपाधि होडबाट बाहिरिसकेको टिम हो । 

समूह चरणको अन्तिम खेल बिहीबार बिहान ९ः३० बजे काठमाडौँको हिमालयन ह्वाइट हाउस स्कुल र होलिल्याण्ड स्कुल अत्तरियाबीच हुनेछ । भोलिको खेल जितेको खण्डमा होलिल्याण्ड सेमिफाइनल प्रवेश गर्नेछ । हिमालयन ह्वाइट हाउस, सत्यवती र विद्या भुषण यसअघि नै सेमिफाइनल प्रवेश गरिसकेका छन् ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप