बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

अली मियाँ सम्मान पुरस्कार अधिकारीलाई

बिहीबार, १२ फागुन २०७८, १९ : १४
बिहीबार, १२ फागुन २०७८

यस वर्षको अली मियाँ लोकवाङ्मय सम्मान पुरस्कारबाट समालोचक, साहित्यकार डा बाबुराम अधिकारीलाई सम्मान गरिने भएको छ । अली मियाँ लोकवाङ्मय प्रतिष्ठानले स्थापना र सञ्चालन गर्दै आएको यो पुरस्कारको राशि ५० हजार र ताम्रपत्र छ ।

डा अधिकारी अहिले पृथ्वीनारायण क्याम्पसमा नेपाली शिक्षा विभाग प्रमुख छन् । उनका आधा दर्जनभन्दा बढी समालोचनात्मक कृति, आधा दर्जन पाठ्यपुस्तक र विभिन्न साहित्यिक रचना प्रकाशित छन् ।  उनी यसअघि जमर्को पुरस्कार तथा सम्मान (२०५६), नेपाल विद्या भूषण ‘क’ (२०७०), दीर्घ सेवा पदक सम्मान (२०७५), बलराम वाङ्मय प्रतिभा पुरस्कार चितवन (२०७७) आदिबाट सम्मानित भइसकेका छन् ।

प्रतिष्ठानका सल्लाहकार प्राडा रविलाल अधिकारी संयोजक र प्रतिष्ठानका सचिव पद्यराज ढकाल र कोषाध्यक्ष फडिन्द्र अकिञ्चन सदस्य रहेको प्रतिभा छनोट समितिले अधिकारीलाई पुरस्कृत गर्न सिफारिस गरेको थियो । यही फागुन १५ गते आयोजना हुने लोककविको १०४ औँ जन्म जयन्ती समारोहमा उक्त पुरस्कार अर्पण गर्ने कार्यक्रम छ ।

अली मियाँ लोकवाङ्मय सम्मान पुरस्कार यसअघि लोकगायिका हरिदेवी कोइराला, जनकविकेशरी धर्मराज थापा, लोकगायकहरू भेडिखर्के साइँला, खिमबहादुर गन्धर्व, बमबहादुर कार्की, प्रेमराजा महत, ठाकुर सिग्देल, संस्कृतिविद्हरू मोतिलाल पराजुली र चूडामणि बन्धु, चेतन कार्की, आना मेरी स्टर, डा जगमान गुरुङ लगायत सम्मानित भइसकेका छन् ।

अली मियाँकै नाममा स्थापित अली मियाँ लोकवाङ्मय पुरस्कारद्वारा पद्मराज ढकाल, सोम बज्राचार्य, गौमाया थापा, उत्तम गुरुङ, धनबहादुर गन्धर्व, शकुन्तला ज्ञवाली, ऋतु लामा, भीष्म बास्तोला, युवराज भुसाल र अम्बिका भण्डारी सम्मानित भइसकेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप