सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

रातोपाटी ब्रिफिङ : दिनभर नेताहरुबीच घोचपेच, सत्ताका लागि दौडधुप

शुक्रबार, १३ फागुन २०७८, २१ : १७
शुक्रबार, १३ फागुन २०७८

सरकारले अमेरिकी सहयोग परियोजना एमसीसी संसदमा टेबल गरेसँगै सत्तारुढ दलमा विवाद उत्कर्षतिर पुग्दै गर्दा नयाँ राजनीतिक समीकरणका लागि समेत प्रयासहरु भइरहेका छन् । यसकै लागि प्रधानमन्त्री शेरबहादुर देउवाले एमालेसँग सहकार्यको हात बढाएका छन् भने सत्ता गठबन्धनलाई बचाउने बारे पनि छलफल त भएका छन् भने नतिजाउन्मुख भने देखिँदैन ।

एमसीसीकै कारण बढ्दो विवादका बीच नेताहरुबीच घोचपेच चलिरहेको छ भने अर्कातिर सत्ताका लागि दौडधुप पनि उस्तै छ । एमसीसीको विषयमा एमाले शुक्रबार अध्यक्ष केपी शर्मा ओली र नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालबीच दोहोरी चल्यो भने त्यसमा अन्य नेताहरु पनि त्यसमा थपिए । यस्तै सत्ता जोगाउन र नयाँ रणनीति अपनाउन पनि दिनभर उस्तै दौडधुप चल्यो । आज हामी अरु दिनझै दिनभरका घटनाक्रमसहितको रातोपाटी ब्रिफिङ लिएर आएका छौँ–

१.ओली–खनाल दोहोरी
एमसीसी सम्झौताका बारेमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लगाएको आरोपलाई नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले प्रतिवाद गरेका छन् । पूर्व प्रधानमन्त्रीसमेत रहेका ओलीले पोखरामा शुक्रबार आयोजित कार्यक्रममा झलनाथ खनालमाथि एमसीसी सम्झौताका लागि अमेरिकालाई निवेदनपत्र लेखेको आरोप लगाएका थिए । ओलीले भने, ‘एमसीसीमा निवेदन हाल्ने झलनाथ खनाल हिँड्दा ताली पिट्छन्, म हिँड्दा ढुंगा हान्छन् ।’

ओलीले एमसीसीको विरोधमा राजधानीमा भएको प्रदर्शनमा आफूहरुमाथि ढुंगा हान्ने तर एमसीसीका लागि निवेदन दिने झलनाथ खनाल लगायतले भने ताली पाउने गरेको बताएका हुन् । ओलीको यो आरोप लगत्तै पूर्वप्रधानमन्त्री खनालले राजधानीमा आयोजित एक कार्यक्रममार्फत ओलीलाई चुनौतीसहितको जवाफ दिएका छन् । उनले एमसीसीका लागि आफूले कुनै पत्र नलेखेको दाबी गर्दै यदि लेखेको भए त्यस्तो पत्र सार्वजनिक गर्न चुनौती दिए ।

यसैगरी नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले एमसीसी ठिक कि बेठीक भनेर भन्न नसक्ने एमाले कस्तो पार्टी हो भनेर प्रश्न गरेका छन् । शुक्रबार राजधानीमा नेकपा एकीकृत समाजवादी पार्टीका जनवर्गीय संगठनले आयोजना गरेको एमसीसीबारेको खुला बहसमा श्रेष्ठले एमसीसीबारे धारणा सार्वजनिक गर्न पनि शर्त राखेको भन्दै आश्चर्य प्रकट गरे ।

२. एमाले–काँग्रेस वार्ता
प्रधानमन्त्री शेरबहादुर देउवा प्रमुख प्रतिपक्ष नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगेका छन् । शुक्रबार साँझ बालकोट पुगेका देउवा र ओलीसहित दुई पार्टीका नेताहरुको बैठक बसेको छ ।

३. काँग्रेस–माओवादी बैठक
सत्ता गठबन्धनभित्र खटपट रहेको भनिएकै बेला शुक्रबार काँग्रेस र माओवादी केन्द्रका नेताहरुबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा गठबन्धनलाई जोगाएरै अघि बढ्ने विषयमा दुबै पक्ष सकारात्मक भएको दावी गरिएको छ।  

प्रधानमन्त्री शेरबहादुर देउवासँग एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल पनि भेटवार्ता गरेका छन् ।

४. जसपा बैठक
जनता समाजवादी पार्टी नेपाल (जसपा) को कार्यकारिणी समितिको बैठकमा एमसीसीबारे शनिबार छलफल हुने भएको छ ।  शुक्रबारको बैठकमा एमसीसी सम्झौतापत्र नेताहरुलाई वितरण गरिएको र यसबारे शनिबार छलफल हुने नेता ईस्तियाक राईले जानकारी दिए । वितरण गरिएको सम्झौता पत्र अध्ययन गरेर शनिबारको बैठकमा धारणा राख्न सदस्यहरुलाई निर्देशन दिइएको छ । त्यसका लागि शनिबार मध्यान्ह १२ बजेका लागि बैठक राखिएको छ । यस्तै शुक्रबारको बैठकमा स्थानीय तह निर्वाचनका लागि पार्टी दर्ता गराउने निर्णय पनि भएको छ।

५. पल शाह प्रकरण 
अभिनेता पल शाहलाई पक्राउ गर्न प्रहरीको जम्बो टोली परिचालन गरिएको फिल्डमा खटिएको छ ।  बलात्कार मुद्दा दर्तासँगै उनीविरुद्ध जिल्ला अदालत तनहुँले फागुन ११ मा पक्राउ पूर्जी जारी गरेको थियो । पलको खोजीमा प्रहरीको ५ टोली परिचालन गरिएको छ । केन्द्रीय अनुसन्धान ब्यूरो, महानगरीय प्रहरी परिसर काठमाडौं, महानगरीय अपराध महाशाखा, परिसर ललितपुर र जिल्ला प्रहरी कार्यालय तनहुँको टोलीले उनीबारे अनुसन्धान गरिरहेका छन् ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमण पुष्टि हुने भन्दा निको हुने दोब्बर बढी रहेका छन् । २४ घण्टामा ८ हजार ६२८ जनामा गरिएको परीक्षणमा जम्मा २७५ जनामा संक्रमण पुष्टि भएको छ । तर निको हुनेको संख्या भने ५५५ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।  
मन्त्रालयका अनुसार सोही अवधिमा १ जना संक्रमितको मृत्यु भएको छ ।  हाल देशभर सक्रिय संक्रमित ९ हजार २८० जना रहेका छन् ।

​७. विमानस्थल प्रकरणमा छानबिन
पासपोर्ट र भिसा विना विमानस्थल पुगेको सम्बन्धमा गृह मन्त्रालयले छानविन थालेको छ । यही फागुन ९ गते त्रिभुवन विमानस्थलबाट कतारको दोहा उड्न लागेको नेपाल वायुसेवा निगमको विमानमा पासपोर्ट र भिसा विना एकजना विमानस्थल पुगेका थिए । उक्त घटना विमानस्थलको सुरक्षाका लागि अति संवेदनशील भएको भन्दै गृहमन्त्रालयले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ ।

प्रतिनिधिसभाको शुक्रबारका लागि बोलाएको बैठक आइतबार बस्ने गरी स्थगित भएको छ । सरकारका तर्फबाट कानुनमन्त्री दिलेन्द्रप्रसाद बडूले सभामुख अग्निप्रसाद सापकोटाको कार्यालयमा गएर बैठक सार्न आग्रह गरेपछि संसद बैठक आइतबारसम्म स्थगित गरिएको हो ।

९. एमालेद्वारा आयोगमा दल दर्ता
नेकपा एमालेले स्थानीय तह निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगमा दल दर्ता गराएको छ । शुक्रबार काठमाडौंको कान्तिपथस्थित निर्वाचन आयोगको कार्यालयका पुगेर एमाले महासचिव शंकर पोखरेल नेतृत्वको टोलीले स्थानीय तह निर्वाचन प्रयोजनका लागि दल दर्ता गराउन निवेदन दिएको हो ।

थप समाचार

 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप