आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

एमसीसीकै कारण सत्तारुढ गठबन्धन टुट्ने खतरा : प्रचण्ड

शनिबार, १४ फागुन २०७८, १३ : १२
शनिबार, १४ फागुन २०७८

सत्ता साझेदार नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सत्तारुढ गठबन्धन टुट्न नदिन आफूहरु गम्भीरताका साथ लागि परेको बताएका छन् । अध्यक्ष दाहालले एमसीसीकै कारण सत्तारुढ गठबन्धन टुट्ने खतरामा रहेको निष्कर्ष निकाल्दै त्यसलाई जोगाउने र एमसीसी समस्या समाधानका लागि आफूहरुले विभिन्न उपायहरूको खोजी गम्भीरतापूर्वक गरिरहेको बताएका हुन् । 

अध्यक्ष प्रचण्डले आफुहरु अहिले भएको गठबन्धन बचाउन लागिरहेको बताउँदै भने, ‘हामीले कहीँ न कहीँ यो गठबन्धन बचाऔँ । एमसीसीको पनि समस्या समाधान होस्, गठबन्धन पनि नटुटोस् भन्ने कुनै त्यस्तो उपाय छ त ? भनेर छलफल भइराख्या छ । संविधानको रक्षा, गणतन्त्रको रक्षा र संघीयताको रक्षा अथवा हाम्रा अधिकारहरूको रक्षाको बारेमा कहिँ कतै दुर्घटना हुन नपाओस् भन्नको निम्ति असाध्यै गम्भीरताका साथ हामी लागिराख्या छौं ।’

शहीद दिलबहादुर रम्तेलको स्मृति दिवसको अवसर पारेर शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले संविधान, लोकतन्त्र र राष्ट्रियताको रक्षाका निम्ति कसम खाएर बनेको सत्तारुढ गठबन्धन टुटाएर कुनै पनि खालको प्रतिगमनकारी गठबन्धन हावी हुने अवस्था नआओस् भनेर आफूहरुले सक्दो प्रयास गरिरहेको पनि बताए । 

एमसीसी परियोजना यथास्थितिमा पारित हुन नदिने विषयमा आफूहरुले सुरु देखिनै प्रष्ट धारणा राख्दै आएको भन्दै अध्यक्ष दाहालले त्यसैलाई उपयोग गरेर प्रतिगमनकारी शक्तिहरुले सत्तारुढ गठबन्धन टुटाउने प्रयास गरिरहेको दावी गरे । अध्यक्ष दाहालले संविधान, लोकतन्त्र र सबै उत्पीडित वर्ग, समूदायको अधिकार खोस्ने षडयन्त्र भइरहेको उल्लेख गर्दै फेरि एउटा जनयुद्ध लड्नुपर्ने अवस्था आएको बताए । उनले भने, ‘फेरि एउटा जनयुद्ध लड्नैपर्ने भयो ।

संविधान, गणतन्त्र र सबै उत्पीडित वर्ग, जातिले पाएका अधिकारहरू खोज्ने षडयन्त्र भइराखेको छ भनेर नै अपिल ग¥यौं र लाखौं जनता सडकमा आएपछि एउटा खालको सफलता फेरि हामीलाई प्राप्त भयो । र, अहिले हामी एउटा गठबन्धनको रुपमा र नयाँ नयाँ सरकारको रुपमा फेरि एकचोटी साझा न्यूनतम कार्यक्रम बनाएर उत्पीडित वर्ग, जाति, क्षेत्र समूदायका जनताको हक, अधिकारीलाई अझ व्यवस्थित गर्ने प्रयास गर्दैछौं ।’ 

अध्यक्ष दाहालले अहिले फेरि एमसीसी परियोजनाका कारण प्राप्त उपलव्धी गुम्ने खतरा बढेको बताए ।  उनले अहिले पनि आफ्नो पार्टीले संविधान, लोकतन्त्र, संघीयता र उत्पीडित जनताको अधिकारको रक्षाका लागि रक्तपातहिन युद्ध जारी राखेको बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप