आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

एमसीसी पास गर्दा संसद्‍मा देखिएका रोचक १० दृश्य

आइतबार, १५ फागुन २०७८, २२ : ५७
आइतबार, १५ फागुन २०७८

अमेरिकी सहयोग एमसीसी परियोजना संसद्बाट पारित गर्नका लागि आइतबार  दिउँसो १ बजेका लागि बोलाइएको प्रतिनिधि सभाको बैठक निर्धारित समयमा  सुरु नभई झन्डै २ घण्टा ढिलो सुरु भयो । यसरी बैठक ढिलो सुरु हुनुको कारण थियो, गठबन्धन दल माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीको एमसीसी सम्झौता पारित गने आन्तरिक तयारी ।

गठबन्धन दल  माओवादी केन्द्रले नयाँ बानेश्वरस्थित ल्होत्से हलमा संसदीय बैठक बोलाएको थियो भने नयाँ बानेश्वरमै रहेको एक पार्टी प्यालेसमा नेकपा एकीकृत समाजवादीले स्थायी कमिटीको बैठक बोलाएको थियो । संसद् बैठक बोलाइएको निर्धारित समयमै प्रधानमन्त्री शेरबहादुर देउवा संसद् भवन पुगेका थिए । तर, कम्युनिस्टहरू समयमा आएनन् ।

गठबन्धन दलमा रहेका माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी दलले  आफ्ना केही नेता तथा सांसदहरूको असन्तुष्टिका बीच एमसीसी सम्झौता पारित गर्नका लागि मतदान गर्ने निर्णय गरेका थिए । त्यो निर्णयको जगका रूपमा गठबन्धन दलले एमसीसी सम्झौतालाई हेर्ने  दृष्टिकोणबारे १२ बुँदे व्याख्यात्मक घोषणा तयार पारेका थिए ।

सुरुमा ११ बुँदे घोषणा रहे पनि साँझ ६ बजे संसद् भवनमै बसेको मन्त्रिपरिषद्को बैठकमा एक बुँदा थप गरी त्यसलाई १२ बुँदे घोषणाका अनुमोदन गरियो । सो बैठकपछि साँझ साढे ७ बजे बसेको प्रतिनिधि सभाको दोस्रो बैठकले एमसीसी सम्झौतामाथिको व्याख्यात्मक घोषणा र एमसीसी परियोजना सम्झौता ध्वनि मतका आधारमा बहुमतले पारित गर्‍यो ।

सम्झौताको विपक्षमा नेमकिपाका सांसद प्रेम सुवाल, राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेल र नेकपा एमालेका भीम रावल उभिए । सत्तारुढ माओवादीकै नेताहरू राम कार्की र गिरिराजमणि पोखरेल लगायतले सम्झौताको विपक्षमा बोले ।

एमसीसी सम्झौता पारित गर्ने क्रममा संसद् भवनमा देखिएका रोचक १० दृश्य यस्ता छन् ः  

१. प्रचण्डले पोखे बाध्यात्मक व्यथा

दिउँसो साढे १२ बजेदेखि झन्डै डेढ घण्टा बसेको माओवादी केन्द्रको संसदीय दलको बैठकको सुरुमा प्रमुख सचेतक देव गुरुङले ५ दलीय गठबन्धनले एमसीसी पास गर्ने जगका रूपमा रहेको ११ बुँदे व्याख्यात्मक घोषणा वाचन गरेर सांसदहरूलाई सुनाएका थिए । सो बुँदा सोही दिन बसेको मन्त्रिपरिषद्को बैठकले १२ बुँदा बनाएको थियो । सो बैठकमा नेता गुरुङले सो बुँदा अमेरिकाले मान्छ भन्नेमा आशङ्का रहेको बताएका थिए ।

दलको बैठकमा गिरिराजमणि पोखरेल, अञ्जना बिशंखे, राम कार्की लगायतले असन्तुष्टि ब्यक्त गरेका थिए । सो छलफललाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले गठबन्धन जोगाउने बाध्यात्मक अवस्थाका रूपमा एमसीसीबारे व्याख्यात्मक घोषणा आएको जानकारी गराएका थिए ।

२. भोट नहाल्ने भन्दै झलनाथ खनाल हिँडे

नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले प्रतिनिधि सभामा एमसीसीमाथिको छलफल प्रक्रियामा भाग लिँदै सो सम्झौता अहिलेकै अवस्थामा पास गर्न नसकिने बताए । उनले सो सम्झौतामा व्यापक संशोधन नगरी पास नगर्न आग्रह गरे ।

प्रतिनिधि सभा बैठकमा आफ्नो भनाइ राखेपछि खनाल बाहिरिएका थिए । संसद् भवन बाहिर प्रतिक्रिया दिँदै उनले यथास्थितिमा एमसीसी परियोजना पास गर्न नहुने बताउँदै २०५४ सालमा भएको महाकाली सन्धि गरिएको क्षणलाई स्मरण गरे ।

खनालले महाकाली सन्धि गर्ने बेला मुलुकको कायापलट हुने व्याख्या भएको बताउँदै अहिले एमसीसीको सन्दर्भमा भएको ११ बुँदे व्याख्यात्मक घोषणा पनि त्यस्तै भएको बताए । यथास्थितिमा एमसीसी सम्झौतामाथि आफूले मतदान नगर्ने बताएर उनी संसद् भवनबाट बाहिरिएका थिए ।

३. ओलीले भने– देखिहाल्नुभएकै छ त !

संसद्को प्रमुख प्रतिपक्ष दलका नेता एवं एमाले अध्यक्ष केपी शर्मा ओली प्रतिनिधि सभाको बैठकमा सहभागी भएका थिए । संसद्मा सभामुख विरुद्धको नाराबाजीका क्रममा उभिएर उनले सहभागिता जनाएका थिए ।

पहिलो बैठकको अन्तिमतिर संसद्बाट बाहिरिएका ओलीलाई बाहिर रहेका सञ्चारकर्मीले एमसीसी पास गर्ने विषयमा एमालेको धारणा मागेका थिए । उनी ‘देखिहाल्नुभएकै छ’ भनेर अरु कुनै प्रतिक्रिया नदिई संसद् भवनबाट बाहिरिए ।  

४. दुर्लभ क्षण : संसद् भवनमै मन्त्रिपरिषद्को बैठक

यसअघि अघिकांश समय प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा मन्त्रिपरिषद बैठक बस्ने गरे पनि आइतबार संसद् भवनमै मन्त्रिपरिषद बैठक बस्यो । करिब ६ मिनेट बसेको सो बैठकले गठबन्धनले तयार गरेको एमसीसीमाथि १२ बुँदे व्याख्यात्मक घोषणालाई अनुमोदन गरेको थियो ।

५. साढे ६ बजेका लागि बोलाइएको बैठक १ घण्टापछि बस्यो

एमसीसी सम्झौतामाथिको सैद्धान्तिक छलफलपछि साँझ ६ बजे प्रतिनिधि सभाको पहिलो बैठक सकिएको थियो । आधा घण्टाका लागि भनेर बैठक स्थगित गरिए पनि निर्धारित समयको एक घण्टापछि अर्थात् साढे ७ बजे दोस्रो बैठक सुरु भएको थियो । सो बैठकले राति ९ बजे ध्वनि मतका आधारमा एमसीसी सम्झौता अनुमोदन गरेको थियो ।

६. अर्थमन्त्री शर्माले नै प्रस्ताव प्रस्तुत गरे

प्रतिनिधि सभाको यसअघिको बैठकमा एमसीसी सम्झौता टेबल गर्ने क्रममा बिरामी भएको भन्दै अर्थमन्त्री जनार्दन शर्मा बैठकमा सहभागी भएनन्  र सूचना तथा सञ्चार मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले टेबल गराएका थिए । त्यसबेला मन्त्री शर्मा पर्वतको स्काई क्याफेमा खाजा खाइरहेको भिडियो सार्वजनिक भएको थियो । तर, आइतबारको बैठकमा भने अर्थमन्त्री शर्माले प्रतिनिधिसभामा उपस्थित भएर एमसीसीमाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरे ।

आइतबार नै बसेको प्रतिनिधि सभाको दोस्रो बैठकमा मन्त्री शर्माले एमसीसी अनुदान सहयोग सम्झौताको प्रावधानमाथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए । त्यहाँ शर्माले मन्त्रिपरिषद्का पारित १२ बुँदे व्याख्यात्मक घोषणा प्रस्तुत गरेका थिए ।

७. एमालेका सांसदले घाँटी सुकाए : पहिलो र दोस्रो बैठकमा निरन्तर नाराबाजी  

प्रतिनिधिसभाको नवौं अधिवेशनदेखि बैठक सञ्चालनमा अवरोध गर्दै आएको प्रमुख प्रतिपक्ष दलका सांसदहरूले आइतबार पनि पहिलो र दोस्रो दुवै बैठकमा सभामुखको आसन अगाडि गरेर सभामुख विरुद्ध नाराबाजी गरे ।

अमेरिकी सहयोग परियोजना एमसीसीमाथि छलफल चलिरहेका बेला उनीहरूले आफ्नो दलले कारबाही गरेका १४ सांसदलाई प्रतिनिधि सभाको बैठकमा निषेध गर, संवैधानिक सर्वोच्चता कायम गर, सभामुखको पार्टी फुटाउने कदम मुर्दावाद भन्दै नाराबाजी गरिरहे । उनीहरूले पहिलो बैठकमा निरन्तर ३ घण्टासम्म उभिएर नाराबाजी गरिरहे ।

८. भीम रावलले गरे एमालेको सिङ्गो प्रतिनिधित्व : व्याख्यात्मक घोषणालाई ‘भ्रमात्मक ठगपत्र’ को संज्ञा   

प्रतिनिधि सभाको दुबै बैठकमा एमालेका अरु सांसदहरू नाराबाजी गरिरहेका बेला एमालेका नेता भीम रावलले बैठकमा भनाइ राख्ने प्रतिनिधित्व गरेका थिए । एमाले एमसीसी परियोजनाको पक्षमा रहेपछि त्यसको विपक्षमा रहेका रावलले दुवै बैठकमा संसद्बाट एमसीसी पारित गर्न लागेकोमा चर्को विरोध गरे । उनले एमसीसी पारित गर्नेहरू राष्ट्रिय गद्दार रहेको आरोप लगाए ।

रावलले एमसीसी सम्झौताबारे सरकारले गरेको १२ बुँदे व्याख्यात्मक घोषणालाई भ्रमात्मक ठगपत्रको संज्ञा दिए । प्रतिनिधि सभाको दोस्रो बैठकमा एमसीसी सम्झौता माथिको प्रावधानमाथिको छलफलमा भाग लिँदै उनले सो सम्झौता संसद्मा प्रस्तुत गर्नु नै संविधान विपरीत रहेको टिप्पणी गरे ।

उनले सरकारले गरेको व्याख्यात्मक घोषणालाई भ्रमात्मक घोषणा गरेको र एकपक्षीय रूपमा गरिएको सो पत्रलाई उनले ठगपत्रको संज्ञा दिए । उनले आफू अन्र्तराष्ट्रिय कानुनको बिद्यार्थी रहेको बताउँदै एकपक्षीय रूपमा गरिएको घोषणालाई अर्को पक्षले नमान्ने बताए । यसबाट जनतालाई भ्रमित पार्न खोजिएको उनले आरोप लगाए ।

एमाले नेता रावलले आफूलाई आधा घण्टाको समय दिएमा एमसीसी सम्झौता कसरी राष्ट्रघाती रहेको छ, कसरी अमेरिकाले कसरी नेपालमा समानान्तर सरकार चलाउन खोजेको छ, त्यसबारे आफूले प्रमाणित गरिदिने बताए । उनले रातारात संसद्मा पेश गरिएको एमसीसी सम्झौता नाङ्गो षड्यन्त्र भएको बताए । उनले महाकाली सन्धीका बेला भएको भनिएको संकल्प प्रस्ताव कहाँ छ भनेर प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रश्न गरे ।

९. प्रेम सुवाल, जसले सदावहार प्रतिपक्षी दलको भूमिकालाई निरन्तरता दिए

नेपाल मजदुर किसान पार्टीका एकमात्र सांसद प्रेम सुवालले एमसीसी सम्झौता पास नगर्न खबरदारी गरे । उनले प्रतिनिधि सभाको दिउँसोको पहिलो बैठक र साँझ बसेको दोस्रो बैठकमा एमसीसी सम्झौता बिरुद्ध कडा टिप्पणी गरे । उनले संसद्मै अमेरिकी साम्राज्यवाद मुर्दावादको नारा लगाए ।

सुवालले अमेरिकी साम्राज्यवादको संसारभर विरोध भइरहेको र संसारभरबाट अमेरिका एक्लिँदै गएको र एमसीसी सम्झौता राष्ट्रघाती सम्झौता रहेको भन्दै त्यसलाई खारेज गर्न माग गरे । उनले एमसीसी सम्झौतामा रहेका केही बुँदाहरू प्रस्तुत गर्दै ती बुँदामाथि किन व्याख्यात्मक घोषणा नआएको भन्दै प्रश्न गरे ।

१०.व्याख्यात्मक घोषणाको पक्ष र विपक्षमा माओवादी सांसद   

प्रतिनिधि सभामा एमसीसी सम्झौता तथा त्यसमाथिको १२ बुँदे व्याख्यात्मक घोषणामाथि भएको छलफलमा भाग लिने क्रममा माओवादी केन्द्रका सांसद दुई कित्तामा बाँडिए । छलफलका क्रममा सहभागी देव गुरुङ, राम कार्की, गिरिराजमणि पोखरेलले सो व्याख्यात्मक घोषणा अमेरिकाले स्वीकार गर्नेमा आंशका गरे । उनीहरूले अहिले तत्काल हतारमा सो सम्झौता पारित गर्न आवश्यक नभएको भन्दै व्यापक छलफल गरेर संशोधनसहित पास गर्न आग्रह गरे ।

माओवादीकै सांसद मातृका यादवले व्याख्यात्मक घोषणाको स्वागत गरे । माओवादी केन्द्रका सांसद शक्ति बस्नेतले पनि सो १२ बुँदेले एमसीसीलाई प्रष्ट पारेको बताए । यस्तै अर्थमन्त्री जनार्दन शर्माले पनि सो घोषणाले एमसीसी सम्झौतामा रहेका आंशकाहरुलाई स्पष्ट पारेको बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शम्भु दंगाल
शम्भु दंगाल

शम्भु दंगाल संसदीय मामिला, पुनर्निर्माण र समसामायिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप