मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

कोरियामा किन हुन्छ आकस्मिक मृत्यु तथा आत्महत्या ?

सोमबार, ०४ मङ्सिर २०७४, १३ : ०२
सोमबार, ०४ मङ्सिर २०७४

पछिल्लो समय दक्षिण कोरिया नेपाली युवाहरूको एउटा आकर्षणको केन्द्रविन्दु  बनेको छ । रोजगारीको सिलसिलामा रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत धेरै युवाहरू दक्षिण कोरियाका औद्योगिक, कृषि तथा पशुपालन क्षेत्रमा दिनानुदिन भित्रिने क्रम जारी छ । आम्दानीको दृष्टिकोणले अरू गल्फ मुलुकमा भन्दा राम्रो भएको कारणले पनि युवा यतातर्फ आकर्षित छन् । 

नेपालमा विद्यमान राजनीतिक अस्थिरता, परिवारको आर्थिक अवस्था, बेरोजगारी, शैक्षिक योग्यताअनुसार काम नपाउनु साथै पाइहाले पनि पारिश्रमिक एकदमै कम हुनुका पछाडि वैदेशिक रोजगार आकर्षित छ । वैदेशिक रोजगारको नाममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको बाटो भएर दिनहुँजसो हजारौँ युवाहरू आफ्नो मातृभूमि छोडेर वैदेशिक रोजगारीको यात्रा तय गर्छन् । वैदेशिक रोजगारीले एकातिर रेमिट्यान्स भित्र्याएर समग्र राष्ट्रको आर्थिक विकासमा काँध थापेको छ भने अर्काेतर्फ बर्सेनि शिक्षित जनशक्ति अदक्ष कामदारको रूपमा वैदेशिक रोजगारीका लागि बाहिरिनु देशकै लागि अभिसाप हो । 

रोजगार अनुमति प्रणाली मार्फत दक्षिण कोरिया जाने युवाहरूको सङ्ख्या पनि बर्सेनि बढ्दो क्रममा छ । रोजगार अनुमति प्रणाली लागू भएयता दक्षिण कोरियामा नेपालीहरूको सङ्ख्या झन्डै पचास हजारको हाराहारी पुगेको छ । नेपालको परिप्रेक्ष्यमा दक्षिण कोरिया जाने १८ देखि २५ वर्ष उमेर समूहका प्लसटु तथा स्नातक पढ्दै गरेका युवाहरूको सङ्ख्या उच्च छ । विद्यार्थी उमेरमा नेपालमा कामको नाममा सिन्को नभाचेका, परिवारमा बुबा आमाले पुलपुल्यायर पालेका, अभावको महसुस नगरेका, जिम्मेवारी वहन नगरेका युवाहरूलाई दैनिक १२, १५ घन्टाको कामको प्रेसर तथा त्यहाँको व्यस्त दैनिकीसँग हेलमेल हुनका लागि हम्मेहम्मे पर्छ । त्यो पारिवारिक पृष्ठभूमिबाट हुर्केका व्याक्तिहरू छिट्टै मानसिक तनावमा पर्ने गरेका छन् । 

पछिल्लो समयमा कोरियामा नेपाली युवाहरूको विभिन्न कारणले मृत्यु भएका खबर सामाजिक सञ्जालमा मासिक २, ३ वटा घटनाको दरले आउने गरेका छन् । यीमध्ये औद्योगिक दृर्घटना, हृदयाघात, डिप्रेसन तथा अन्य विभिन्न कारणले ज्यान गुमाउनेहरू छन् । यो हाम्रा लागि चुनौतीको विषय बनेको छ । कोरिया गएर कतिपय युवाले परिवारको आर्थिक अवस्था सुधारेका छन् । केही युवाले परिवारलाई कहिल्यै सन्चो नहुने घाउ बनाइदिएर संसारबाट बिदा भएका छन् । यस्ता निर्णयले उसको समस्या त समाधान होला तर परिवारलाई थप समस्या थुपारेर लिएको निर्णयको कुनै तुक हँुदैन । 

कोरियामा नेपाली युवा डिप्रेसनमा पर्ने कारण धेरै छन् । नेपालमा सोचेको  जस्तो वास्तविकता त्यहाँ नहुनु, अशिक्षित मालिकसँग काम गर्दा उनीहरूको विचारसँग हेलमेल हुन नसक्नु, भाषागत समस्या, आफूलाई निको हुन नसक्ने रोग लागेको थाहा हुनु, कार्यक्षेत्रमा दिनहुँजसो दुव्यवहार तथा झगडा पर्नु, त्यहाँको व्यस्त दैनिकीसँग समायोजन हुन नसक्नु, आफ्नो कामसँग रमाउन नसक्नु, कम्पनी छोड्न साहुबाट लेटर नपाउनु, आफ्नै नेपाली साथीहरू द्वारा हेपिनु, त्यहाँको संस्कृति, वातावरण, खानपानमा रमाउन नसक्नु, बस्ने व्यवस्था भनेजस्तो नहुनु, आफ्नै रुममेटसँग पर्याप्त सञ्चार नहुनु, नेपालमा भएका परिवारसँगको झगडा तथा बेमेल, प्रेममा असफल हुनु जस्ता धेरै कारणहरूले नेपाली युवा डिप्रेसनको शिकार भएका छन् । 

योबाहेक मृत्यु हुने अरू कारणहरू पनि व्याप्त छन् । अत्यधिक धूमपान तथा मध्यपान गरी बेहोस तालमा सुत्नु, कोठामा पर्याप्त मात्रामा अक्सिजनको परिवहन नहुनु, जाडो समयमा झ्यालढोका तथा भेन्टिलेसन बन्द गर्नु तथा बोइलर, हिटर जस्ता हिटिङ उपकरणको तापक्रम मेन्टेन नगरी सुतिदिनाले कोठामा भएको अक्सिजन तथा शरीरमा भएको पानीको मात्रा ती हिटिङ उपकरणले सोसिदिनाले शरीरलाई चाहिने अक्सिजन अभाव तथा डिहाइड्रेसनका कारणले कतिपयले अकालमै आफ्नो ज्यान गुमाउनु परेको छ । साथै औद्योगिक क्षेत्रतर्फ काम गर्नेहरूले लगातार रूपमा स्वचालित तथा म्यानुअल मेसिनमा काम गर्नुपर्ने भएकाले अत्यधिक मदिरा सेवन गरी काम गर्नाले, अनिद्राको कारणले, काम गर्दा मन अन्तै डुलाउनाले, मानसिक तनावको कारणले, पारिवारिक झैझगडा, कार्यस्थलमा हुने दुव्यवहारका कारणले औद्योगिक दुर्घटना भई अङ्गभङ्ग हुने तथा ज्यानै गुमाउने जस्ता घटना बढिरहेका छन् । 

यस्ता कतिपय समस्याको सही पहिचान गर्नु कामदार स्वयंको हो । पहिले आफू कुन समस्याबाट पीडित भएको हो र त्यसको समाधानका लागि साथीभाइ, कम्पनी स्टाफसँग गुनासो खुला रुपमा गर्नुपर्छ । यसले त्यस्ता समस्याबाट छुटकारा पाउने उपाय भेट्नसकिन्छ । यसरी पनि समस्याको समाधान हुन नसके विशेशज्ञ, सम्बन्धित निकाय तथा सङ्घसंस्थामार्फत राख्नुपर्छ । तर हामी नेपाली कतिपय सानातिना कुरालाई बेवास्था गर्छाैं । पछि तिनै साना कुराले विकराल समस्या ल्याइदिन्छ । खानपान तथा सुत्ने बानीमा मात्रै सुधार ल्यायौं भने पनि कतिपय समस्याहरू आफै समाधान हुन्छन् । समयमा खाने, सुत्ने, उठने, ब्यायाम गर्ने, मादक पदार्थ तथा धुमपान नगर्ने, कोठाको भेन्टिलेसन रेगुलर चेक गर्नुपर्छ । कोठामा प्रशस्त मात्रामा अक्सिजन छिर्ने व्यवस्था मिलाउने, सुत्नु अगाडि ठूलो भाँडोमा पानी भरेर कोठामा राख्ने जसले गर्दा कोठाको आद्रता मेन्टेन भई शरीरमा डिहाइड्रेसन हुन पाउँदैन । 

मानसिक तनावलाई कम गर्न आफ्ना समस्या साथीलाई सेयर गर्ने, फुर्सदको समयमा साथीहसँग घुम्न जाने रमाइलो गर्ने, नेपाली सङ्घसंस्थाले आयोजना गरेका सांस्कृतिक कार्यक्रम, पार्टी, पिकनिक तथा भ्रमणमा सहभागी हुने, बिदाको समयमा मनपर्ने परिकार साथीसँग मिलेर बनाएर खाने, छुसक तथा सलनालमा आफ्नो गाउँठाउका साथीसँग भेटी सुखदुःख सेयर गर्ने, नजिकैको विदेशी सहयोग संस्थामा गई त्यहाँ आयोजना गरिएका विभिन्न कार्यक्रममा सहभागिता जनाउने, गितार, कम्प्युटर तथा कोरियन भाषा साथै बेलाबेलामा एचआरडीले आयोजना गर्ने तालिमहरूमा सहभागी हुने, घरपरिवारसँग नियमित रूपमा इन्टरनेटको माध्यमबाट अपडेट भइराख्ने, गुगलबाट विभिन्न कुराहरू सर्चगरी सिक्ने, साथै आफूलाई मनपर्ने गीतसुन्ने तथा मुभीहरू हेर्ने, गेम खेल्ने गर्नाले मानसिक समस्यालाई न्यूनीकरण गर्न सकिन्छ । 

मानसिक तनाव दक्षिण कोरियामा एउटा विकराल समस्याका रूपमा खडा भएको छ । यसलाई न्यूनीकरण गर्न विलम्ब गर्नुहुँदैन । सम्बन्धित निकायहरूले यसको बारेमा गहन अध्ययन गरेर छिट्टै न्यूनीकरण गर्ने उपायहरू प्रतिस्थापन गर्नुपर्ने देखिएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप