सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

शिवरात्रि र गाँजाको सम्बन्ध

मङ्गलबार, १७ फागुन २०७८, ०७ : ३५

पूर्वीय तथा वैदिक दर्शनले संसारमा चार रात्रिलाई बढी सम्बोधन गरेको छ । ती चार रात्रिमध्ये पहिलो ‘मोहरात्रि’ अर्थात् कृष्ण जन्माष्टमी, दोस्रोमा ‘कालरात्रि’ जो दसैँको समयमा पर्दछ । तेस्रोमा ‘सुखरात्रि’ अर्थात् लक्ष्मीपूजाको दिन । चौथोमा ‘शिवरात्रि’ जो अहिले हामी मनाइरहेका छौं । शिवरात्रि विशेषतः वसन्तु ऋतुको आगमनको संकेतका रुपमा पनि मानिन्छ ।

शिवको अर्थ कल्याण, समृद्धि हो । संस्कृत भाषामा ‘शिव’ को अर्थ अरुको हित गर्ने, परोपकार गर्ने हो । समग्र चराचर जगतको कल्याणका लागि साधना, ध्यान, सिद्धि नै हो भनेर पूर्वीय दर्शनले मानेको छ । शिवजीको जुन आकृति प्रचलनमा छ, त्यसमा शिवजीले सधैँ ध्यान गरेको, साधना गरेको, एकाग्र भएको, ऊर्जा ऊर्जित गरेको पाइन्छ । ऊर्जा ऊर्जित गर्ने सवालमा अहिले विज्ञानले भनेको छ– हाम्रो शरीर रसायनले बनेको छ ।

हाम्रो शरीरले मादक पदार्थ, लागू पदार्थ सेवन गर्दा तत्क्षण नै शरीरभित्रको रसायनलाई उत्प्रेरकको काम गर्दछ । जसले गर्दा उन्मत्त हुन थालिन्छ ।शिव संहिता, शिव पुराण, लिङ्ग पुराण, स्कन्द पुराणको हिमवत् खण्डमा शिवजीको चर्चा छ । ती सबै पुराणमा गाँजा वा भाङ्गको एक शब्द पनि लेखिएको छैन ।

अहिले पनि कतिपय खेलाडीले उत्तेजना जगाउने वस्तु प्रयोग गर्दछन् । उनीहरु ‘डोपिङ’ परीक्षणमा फेल भएको भनेर सुनिन्छ । साधनामा पनि शरीरभित्रको रसायनलाई ऊर्जित गर्नका लागि कतिपयले त्यस्ता लागू पदार्थ प्रयोग गर्दछन् ।

आफैमा साधनाबाट विषलाई पनि पान गरेर शिवजीले सबै प्राणीको रक्षा गरेको भन्ने प्रसङ्ग पुराणमा उल्लेख छ । त्यसैले शरीरलाई ऊर्जित गर्न भगवान शिवजीले गाँजा, भाङ, धतुरो प्रयोग गर्नुभयो भनेर अर्थ लगाइयो भन्ने मलाई लाग्छ । जुनसूकै शास्त्र पल्टाएर हेरे पनि गाँजाको प्रसङ्ग कतै उल्लेख छैन ।

शरीर भनेको अन्तिममा भष्म नै हुने हो । अन्तिममा जीवनको लक्ष्य भनेको शरीरको भष्म हो, नाश हो । नाङ्गै आएको हो, नाङ्गै जाने हो भन्ने अर्थमा भगवान् शिवजी नाङ्गै बस्नुभयो । त्यसरी हिमालमा, कैलाश पर्वतको चिसोमा नाङ्गै बस्ने व्यक्तिले शरीरमा ताप तथा ऊर्जा पैदा गर्नका लागि गाँजा प्रयोग गर्नुभयो भन्ने अर्थमा शिव साधकहरुले बुझे, उनीहरुले प्रयोग गरे । तर शिवजीले नै गाँजा सेवन गरेको भन्ने प्रसङ्ग कतै छैन ।

कृष्ण पक्षको चतुर्दशीमा चन्द्रमाको तेज अति क्षीण हुन्छ भन्ने कुरा विज्ञानले पनि पुष्टि गर्दछ । शिवरात्रि भनेको कृष्ण पक्षको चतुर्दशीकै दिन पर्दछ । यस दिन चन्द्रमाको तेज वा प्रभाव कम हुन्छ । चन्द्रमा भनेको मनको शक्ति हो । चन्द्रमाको तेज वा प्रभाव कम भएको बेला मन विक्षिप्त हुन्छ, त्यो मनलाई ऊर्जा प्रदान गर्न, उत्तेजना पैदा गर्न ‘शिव बुटी’ भनेर गाँजा प्रयोग गर्ने चलन चलेको हो । यो चलन धेरैपछि आएर चलेको हो ।

अहिले गाँजा औषधिजन्य वस्तुका रुपमा पनि प्रयोग हुन थालेको छ । यसमा केही औषधीय गुण पनि छन् । त्यो विषयलाई अहिलेको विज्ञानले पनि पुष्टि गरेको छ । तर भगवान् शिवजीमा ऊर्जा पैदा गर्ने विशेष शक्ति भएकाले कतै गाँजाले पो ऊर्जा पैदा भएको हो कि भन्ने अर्थमा अनुयायीहरुले लिए । तर कुनै पनि पौराणिक आख्यान, हाम्रो ग्रन्थहरुमा गाँजासँग शिवजीको सम्बन्ध छैन ।

शिव सभ्यता, पाशुपत सभ्यता भनेको हिमालको सभ्यता हो । त्यसको आधारभूमि नेपाल हो । यो हिमाल, पहाडले बनेको क्षेत्र भएकाले यहाँ चिसोपन बढी हुने भयो । शिवजीको भूमि भनेको कैलाश पर्वत, मानसरोवरभन्दा तल । यस्तो चिसोपन भएको क्षेत्रमा शिवजीले नाङ्गै बसेर साधना गर्ने, जलमा डुबेर तपस्या गर्ने ।

शिवजीका साधकहरुले पनि त्यसरी ध्यान गर्दा, साधना गर्दा शरीरमा ताप पैदा गर्न, ऊर्जा पैदा गर्न जडिबुटीहरु सेवन गरे । यस क्रममा उनीहरुले गाँजा प्रयोग गरे । यसरी शिवजीको नाम जोडेर साधकहरुले पछि आएर गाँजा प्रयोग गर्न थाले । यसरी एउटा परम्पराको सुरुवात भएको हो । यो कुनै कालखण्डमा जोडिएको एउटा प्रसङ्गमात्र हो । यसमा पौराणिक आख्यान र शास्त्रीय आयाम हेर्दा शिवजी र गाँजाको सम्बन्धबारे कसैले प्रमाण दिन सक्दैन ।

कसैलाई मांस भोजन गर्न मन लागेको अवस्थामा देवीदेवताको नाममा बलि दिएरर खाए प्रसाद हुन्छ भनेर खाने बाटो बनाए । त्यसरी नै लागू पदार्थ सेवन गर्न मन लाग्दा शिवजीको बुटी हो वा प्रसाद हो भनेर खाए ।

हुन त भगवान शिवजीले समुद्र मन्थन गरेर निस्किएको विष पान गरेको हो । संसार ध्वस्त हुने चिज पान गरेकै कारण त्यसलाई अर्को अर्थ लगाएर शरीर लठ्याउने चिज अर्थात् गाँजालाई जोड्ने काम भएको हो ।

शिव तत्वमा साधना, उपासना, ज्ञान भनेर तीन आयाम जोडिएको छ । शिवलाई गाँजा, भाङ, धतुरोसँग जोड्दा यी तीन आयाम नै ओझेलमा पर्ने भयो । शिवसँग साधना, उपासना, ज्ञानका प्रसङ्ग जोड्नुपर्ने ठाउँमा लागू पदार्थसँग जोडिदिएर शिवप्रतिको आस्था, सम्मान कमजोर हुने हो कि भन्ने हाम्रो आशय हो ।

भगवान शिवको समयमा नभएर धेरैपछिको एउटा कालखण्डमा शरीरमा उष्णता ल्याउन, साधनामा एकाग्रता ल्याउन लागूपदार्थ प्रयोग भएको हो । साधना गर्दा मानिस लठ्ठिन्छ नि ! त्यो एकाग्रपन केले ल्याउँछ भन्दा लागूपदार्थ सेवन गरेपछि । लठ्ठिने भनेको कि त मादक पदार्थले हो, कि त लागूपदार्थले हो । मादक पदार्थ प्रयोग गर्दा घमण्ड, अहंकार पैदा गर्छ । लागूपदार्थले मानिस एकाग्र हुन्छ । गाँजा सेवन गरेको मान्छे लठ्ठिन्छ । त्यही भएर शिवजीजस्तै साधक बन्नका लागि गाँजा सेवन गर्नुपर्छ, मानिस लठ्ठिन्छ भन्ने अर्थमा साधकहरुले प्रयोग गरेका कारण शिवजी र गाँजाको सम्बन्ध धेरैपछि जोडिएको हो । लगभग हजार÷पन्ध्रसय वर्ष अगाडि शिवजी र गाँजाको केही सम्बन्ध थिएन । साधकहरुले शरीर एकाग्र गर्नका लागि गाँजा प्रयोग गरेपछि यो किम्बदन्तीकै रुपमा शिवजीसँग जोडिएको हो । तर वास्तवमा साधना, उपासना र ज्ञानको आयामलाई शिव तत्वसँग जोड्नुपर्नेमा कुलत र गाँजासँग जोड्ने काम भयो । यो वैदिक परम्पराविरुद्ध छ भन्ने मलाई लाग्छ ।

अहिलेको सन्दर्भमा शिवरात्रिको महत्त्व

विज्ञान, तर्क र व्यवहारले चलेका अहिलेका युवा पंक्तिले बुझ्नुपर्ने कुरा हाम्रो शरीर भनेको रसायन हो । हामी हाँस्दा एउटा रसायन पैदा हुन्छ, रुँदा अर्को रसायन पैदा हुन्छ । रिसाउँदा अर्कै रसायन पैदा हुन्छ । स्तब्ध हुँदा अर्कै रसायन पैदा हुन्छ । त्यसैगरी साधनाले पनि हाम्रो शरीरमा ‘मेटाबोलिजम’ पैदा हुन्छ । साधना, योग, ध्यानले पोजेटिभ रसायन शरीरमा पैदा हुन्छ ।

शिव तत्व भनेको योगको प्रारम्भ हो । शिवलाई आदियोगी पनि भनिन्छ । योगको प्रारम्भ पाशुपत क्षेत्रबाट भगवान् शिवजीले गर्नुभएको हो । योग विश्वव्यापी भएको छ । योग गर्दा मानिसको आयु बढ्नेदेखि लिएर ‘मेटापोलिजम’मा प्रभाव पर्ने र मानिस प्रसन्न हुने, भित्रैदेखि आनन्दित हुने गर्दछ । योग, साधना, ध्यानको सबैभन्दा पहिला सुरुवात गर्ने शिवजी नै हो ।

हाम्रो आयु, आरोग्यता वृद्धि गर्नका लागि, मनको शान्तिका लागि योग महत्वपूर्ण छ । यसको शुभारम्भ गर्ने भगवान् शिवजी हो भनेर हामीले सम्झिनुपर्छ । गौतमबुद्धले अलि वैज्ञानिक ढंगबाट यसलाई २५ सय वर्ष अगाडि गर्नुभयो, तर विश्वको आदियोगी अर्थात्, जेठो योगी भनेको शिवजी हो ।

अहिलेका युवा पंक्तिले योग, साधना र ध्यानलाई आधार मानेर जीवनमा सबै किसिमका सफलता हासिल गर्नका लागि शिवजीलाई एउटा साधकका रुपमा, आदियोगीका रुपमा, साधना पुञ्जका रुपमा लिनुपर्दछ । शिवजीले पैंलेटी कसेर ध्यान गरेको आकृतिमात्र हामी देख्छौं, जीवनलाई परिवर्तन गर्नका लागि एकाग्रपन, ध्यान, साधना गर्नुपर्छ भन्ने कुरा शिवजीबाट अहिलेका युवा पंक्तिले बुझ्न आवश्यक छ ।

अहिले अमेरिकाको ‘नासा’, जो विज्ञानको सबैभन्दा ठुलो केन्द्रमा पनि हरेक दिन आधा घण्टा त्यहाँका वैज्ञानिकले अनिवार्य बनाएका छन् । योगलाई उनीहरुले अनिवार्य बनाएका छन् । जबकि, योग र ध्यान भनेको कुरा पश्चिमाहरुको होइन । त्यो त हाम्रो नेपालबाट सुरु भयो । नेपालमा पनि आदियोगी शिवजीले सुरु गर्नुभयो । पाशुपत क्षेत्रबाट सुरु भएको योग विश्वका वैज्ञानिकहरुले माने भने अहिलेका हाम्रा युवा पंक्तिले हाम्रै चिजमा गौरव गरेर शिवजीलाई सम्झनु पर्दछ । हाम्रो मौलिक संस्कृतिले विश्वलाई एउटा सन्देश दिएको छ भने हामीले अहिलेको सन्दर्भमा शिवरात्रिलाई एउटा साधना, ध्यान, योग र जीवन बदल्ने, प्रशन्नता ल्याउने, आनन्दमा प्रवेश गर्ने नयाँ दिनका रुपमा लिनुपर्छ ।

 


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

वाचन प्रवीण पण्डित दीनबन्धु पोखरेल
वाचन प्रवीण पण्डित दीनबन्धु पोखरेल
लेखकबाट थप