आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

मायाको जाल किशोरीको काल

मङ्गलबार, १७ फागुन २०७८, ११ : ५८
मङ्गलबार, १७ फागुन २०७८

अहिले चर्चामा आएको पल शाह घटनाले मेरो मन निकै बिथोलियो । यस विषयमा निकै घोत्लिन पुगेँ । वास्तवमा एउटी १६ वर्षकी किशोरीको चरित्रमाथि उठाइएको प्रश्नले उसको जीवनमा कति असर गर्छ भन्ने कुरा जसले भोग्छ उसलाई मात्र थाहा हुन्छ । उसले धेरैतिरबाट पीडित हुनुपर्छ, इष्टमित्र, छरछिमेक सबैले गाली गर्छन्, दोष लगाउँछन् ।

अरूका लागि त यस्ता घटना केवल समाचार, बहस र मनोरञ्जनको विषय मात्र बन्ने गर्छ । सत्य र असत्य के हो, त्यसबारे कसैलाई थाहा हुँदैन तर नारीकै चरित्रमाथि धेरैले औँला उठाउने गर्छन्, उसैलाई दोष दिन्छन् । ​पुरुषप्रधान समाज भएर होला यस्ता लैङ्गिक हिंसाका घटनामा पुरुषका गल्ती कम र महिलाका धेरै देखिन्छन्, देखाइन्छन् ।

अहिलेको घटना त झन् १६, १७ वर्षकी किशोरीको हो । हरेक मानिस मायाको भोको हुन्छ, अझ किशोर अवस्थामा त झन् बढी हुन्छ । माया शब्दमा धेरै शक्ति हुन्छ । यही मायाले कहिले राम्रो रूप लिन्छ त कहिले नराम्रो हुन्छ । २९, ३० वर्षका महिला त मायाजालमा पर्न सक्छन् भने नाबालिगहरू त झन् सजिलै परिहाल्छन् ।

आज हामीले ती १६, १७ वर्षकी किशोरीमाथि तथानाम शब्द प्रयोग भइरहेको सुनिरहेका छौँ । त्यस्ता शब्द प्रयोग गर्ने प्रायः महिला दिदीबहिनी नै छन् । उनीहरूले पनि त्यो उमेर पार गरेर आएका हुन्छन्, कतिको आउन बाँकी नै हुनसक्छ ।

यो उमेर कति चञ्चले हुन्छ भने कसैले अलिकति माया देखायो भने त्यही व्यक्ति नै उसका लागि सबथोक बनिदिन्छ । भन्छन् नि यो उमेरको माया निकै निःस्वार्थ हुन्छ भनेर । अनि तन, धन, मन सबै दिएर त्यतै लाग्छन्, त्यतै भुल्छन् । उनीहरूलाई न दुनियाँको डर हुन्छ, न भविष्यको चिन्ता नै । चिन्ता हुन्छ त केवल माया गर्ने मान्छे आफूदेखि टाढा नगइदियोस् भन्ने हुन्छ । तसर्थ अहिले मायाको जाल किशोरीको काल भएको छ ।

यसबेला स्वार्थ पूरा गर्न लगाएको माया पनि साँचो लाग्दो रहेछ । फकाउन र फसाउन धेरै कठिन हुँदैन यो उमेरमा । माया दिए फकिन्छन् र लोभ देखाए फस्छन् ।

अझै पनि कतिपय पुरुष महिला भनेको पुरुष रिझाउन बनेका साधन मात्र सोच्ने गर्छन् । अझ समाजका प्रतिष्ठित भनिएका कतिपय व्यक्तिहरूको सोच एकदमै तल्लो स्तरको देखिन्छ । यस्ता कुरा पितृसत्तात्मक सोच भएकाहरूलाई पचाउन गाह्रो हुनसक्छ । तर सत्य यही नै हो ।

अहिले विवादको चुलीमा रहेका पल शाहको विषय पनि यस्तै देखिन्छ । त्यसको सत्यताको जाँच पुलिस र अदालतले गर्दै छ तर १६ वर्षकी ती गायिका किशोरीमाथि जस्तो खालको बज्रपात परिरहेको छ, त्यो केवल उनैलाई थाहा छ । हो उनी मायाजालमा परेर खाटसम्म पुग्नु गल्ती अवश्य भयो होला तर नाबालिगलाई मायाको भ्रममा पारेर खाटसम्म लिएर जानु झन् ठूलो अपराध हो । कानुनमा जेजस्तो लेखिए पनि यस्तो कार्य गर्नुअघि यो बच्चा हो, यसलाई सही र गलत केही थाहा हुँदैन भनेर सोच्न पथ्र्यो । म योसँग एकछिन नजिकिएर सही काम गर्दैछु कि छैन भनेर आफैमाथि प्रश्न गर्नुपर्ने थियो । यति कुरा सोचिदिएको भए अहिलेको कहालीलाग्दो अवस्था भोग्नुपर्ने थिएन पल शाहले ।  

एकछिनको लोभले गर्दा दुवै जनाको चरित्रमाथि कालो धब्बा लाग्यो । उनीहरूको भविष्यमाथि धेरै  क्षति पुगेको छ । उनीहरूको मानसिक रूपमा पुगेको क्षतिले अझ त्रास बढाएको छ ।

म पनि एउटी महिला नै हो । भोलि गएर ममाथि पनि यस्तै घटना भयो भने बाहिरको युद्ध गर्न त तयार नै रहुँला तर आफैसँगको मानसिक युद्धको सामना गर्न भने निकै कठिन हुने सम्झन्छु ।

मैले भर्खरै भोगेको एउटा घटना छ । मेरा अग्रजहरूसँग म खाजा खान निस्किएकी थिएँ । उनीहरूसँग एकैछिन केही कुराकानी भयो । त्यो कुराकानीको एउटा प्रसङ्गले मेरो मनमा निकै ठूलो चोट पार्यो । उनीहरूले महिला र पुरुषका बीचमा धेरै भिन्नता देखाए; जुन प्राकृतिक रूपमा सही पनि हो । तर नारी भनेको प्राकृतिक रूपमै पुरुष रिझाउनुलाई बनाएको हो भने । यो सुनेपछि उनीहरूको ज्ञान, बुद्धि, विवेक र सोच्ने क्षमता देखेर दया लागेर आयो । उनीहरूमा  महिलाले गर्ने शृङ्गार पनि पुरुषलाई आकर्षित गर्न र उत्तेजित बनाउनलाई हो भन्ने सोच रहेछ । त्यसपछि मलाई लाग्यो यस्तो सोचाइ भएका पुरुषहरूका माझमा महिलाहरू छन् । यही सोचाइबाट ती गायिकामाथि न्याय हुन सक्छ भनेर हामी कसरी आशा गर्न सक्छौ ? त्यो घटनामा मायामा पर्नेभन्दा बढी मायाजालमा पार्ने दोषी छ भनेर कसले भनिदिन्छ ।

यस्तो सोचाइको मुख्य जरो भनेको हाम्रो सामाजिक वातावरण हो । जस्तो वातावरणमा हुर्किइयो त्यस्तै सोच हुने त हुने नै भयो नि । हाम्रो समाजमा यस्ता देखावटी पात्र धेरै नै छन्, जो भित्री सोचमा निकै निम्न स्तरका छन् । फेरि उनीहरू बाहिर गएर महिला–पुरुष समान हुन् भनेर भाषण दिन पनि पछि पर्दैनन् । महिला दिदीबहिनीहरू पनि यस्तै देखावटी गर्नमा कम छैनन् । अगाडि ठिक्क र पछाडिबाट कुरा काट्दै हिँड्छन् ।

कतिपयले मन मिल्दा चमत्कार र मन नमिल्दा बलात्कार भन्ने गर्छन् । के कुरालाई मन मिल्यो भन्ने ? फकाउँदैमा कोही फकियो भने मन मिल्यो भन्न मिल्दैन । भोलि ८, ९ वर्षकी बालिकालाई फकाएर खाटसम्म कसैले पुर्यायो भने त्यसलाई पनि यही टुक्का प्रयोग गर्ने ?

तसर्थ हरेक व्यक्ति कानुनभन्दा माथि केही छैन । विदेशतिर १८ वर्षभन्दा कम उमेरकालाई नराम्रो नजरले हेर मात्र पनि सजाय हुन्छ । तर पल घटनामा माया देखाएर खाटसम्म लगेपछि पनि  गर्भवती भएको भए पो तिमीलाई स्वीकार्नु भन्नेसम्मको कुरा बाहिर आएको छ ।

हाम्रो समाजमा महिला हिंसाविरुद्ध आवाज उठाउँदा हाँसोको पात्र बनाउँछन् । यस्तो अवस्था पनि तथाकथित महिलावादीले निष्पक्ष व्यवहार नगरेर हुनसक्छ । त्यो पक्षलाई महिला अधिकारकर्मीहरूले पनि हेर्नुपर्छ । सहीलाई सही र गलतलाई गलत भन्नेहरूमा धेरै सम्मान छ र हुनेछ । आखिर कहिलेसम्म गलतलाई गलत र सहीलाई सही भन्न डराउने हामी नारी ? 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शुभेच्छा रेग्मी
शुभेच्छा रेग्मी
लेखकबाट थप