‘रामचन्द्रले पटक–पटक झुक्याएको कुरा जनताले बुझे, ८ हजार मतान्तरले जित्छु’
तनहुँ – नेपाली काङ्ग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलसँग चुनाव प्रतिस्पर्धामा उत्रिएका कृष्णकुमार श्रेष्ठ ‘किसान’ यतिबेला काङ्ग्रेसको गढमा छन् ।
शनिबार काङ्ग्रेसको गढका रूपमा चिनिएको व्यास नगरपालिका–१२ देउरालीमा र त्यसपछि करुङ तथा बेलचौर पुगेका श्रेष्ठले आइतबार पनि व्यास नगरपालिका र त्यस आसपाका क्षेत्रमा नै घरदैलो कार्यक्रमलाई तीव्रता दिएका छन् ।
शनिबार व्यास–१२ स्थित केदारसातमा रातोपाटीसँग कुरा गर्दै किसानले वाम गठबन्धका काराण आफूले सजिलै पौडेललाई हराउने दाबी गरेका छन् ।
‘रामचन्द्र पौडेलले तनहुँका जनतालाई हुनेवाला प्रधानमन्त्री र बरिष्ठ नेता भन्दै पटक–पटक झुक्याएर चुनाव जितिरहनुभएको छ’– उनले भने– ‘पटक–पटक झुक्याइएका कुराहरू यसपटक चाहिँ तनहुँ–१ का जनताले बुझिसकेका छन् ।’
५ देखि ८ हजार मतान्तरले चुनाव जित्ने दाबी गरेका ‘किसान’सँग हामीले संक्षिप्त कुराकानी गरेका छौँ । प्रस्तुत छ उनीसँग गरिएको कुराकानी :
नेपाली काङ्ग्रेसका बरिष्ठ नेतासमेत रहेका हेभिवेटसँग प्रतिस्पर्धा गर्दै हुनुहुन्छ, कस्तो अनुभव गर्दै हुँदैछ ?
एकदमै, जहिले पनि बरिष्ठ नेता भनेर प्रधानमन्त्रीका लागि लडिरहेन तर कहिल्यै प्रधानमन्त्री नहुने, सधँै तनहुँका जनतालाई ‘म हुनेवाला प्रधानमन्त्री, म बरिष्ठ नेता’ भनेर पटक पटक झुक्याएर उहाँ निर्वाचित भइरहनुभएको छ । पटक–पटक झुक्याइएको कुराहरू यसपटक चाहिँ तनहुँ–१ का जनताले बुझिसकेका छन् । यसपटक चाहिँ म विजयी हुने कुरामा ढुक्क छु । त्यसैले तनहुँ जिल्लाको क्षेत्र नम्बर–१ को विकास गर्नमा एकदम उत्साहित छु ।
उहाँलाई हराउने तपाईंका आधारहरू चाहिँ के छन् ?
सबैभन्दा ठूलो आधार तनहुँका जनता नै हुन् । त्यसमा हाम्रो जुन वाम गठबन्धन छ, यसभन्दा अघिको दोस्रो संविधानसभाको निर्वाचनमा पनि म स्वयं रामचन्द्र पौडेलेको प्रतिस्पर्धी थिएँ । त्यतिबेला नेकपा माओवादीको तर्फबाट कमरेड मदन आले हुनुहुन्थ्यो । यस पटक हामी वाम गठबन्धनको तर्फबाट म एक्लै छु । माओवादी केन्द्रको उम्मेदवार नभएको र हाम्रा श्रद्धेय अध्यक्ष केपी ओली प्रधानमन्त्री हुँदा राष्ट्रियता र राष्ट्र समृद्धिका लागि जुन अडान लिनुभो, त्यो नै हाम्रो यस पटकको निर्वाचन जित्ने आधार हो ।
गएको स्थानीय निर्वाचनको मत हेर्नुहुन्छ भने तनहुँ–१ मा नेकपा एमाले र माओवादी केन्द्रको भोट जोड्दा हामी तीन–चार हजारले अगाडि छौँ । रामचन्द्र पौडेलविरुद्ध २०७० सालको निर्वाचनमा पनि पूर्णबहादुर गुरुङ विद्रोही उठ्नुभएको थियो । अहिले पनि नेपाली काङ्ग्रेसकै पूर्व सहमहामन्त्री गोविन्दराज जोशीले उम्मेदवारी दिनुभएको थियो । तर अनेक जालझेल र अनेक षड्यन्त्र गरेर उहाँको उम्मेदवारी खारेज गरियो ।
अन्यायपूर्ण ढङ्गले उहाँको उम्मेदवारी खारेज गरिएको हुनाले त्यसको पनि फाइदा मलाई हुन्छ । काङ्ग्रेसको असन्तुष्ट पक्ष पनि यसपटक वामपन्थी गठबन्धनलाई मलाई र प्रदेशतर्फ हाम्रो यसै क्षेत्रका कमरेड हरिबहादुर चुमानलाई जिताउने कुरामा हामी ढुक्क छौँ ।
तपाईं घरदैलोमा पनि हिँडिरहनु भएको छ, जनता चाहिँ कत्तिको उत्साहित भएको पाउनुभयो ?
व्यास नगरपालिका–१२ स्थित कमलबारी भनेको यस्तो ठाउँ हो ०४८ सालदेखि अहिलेसम्म हाम्रो वामपन्थीको झण्डा एक घण्टाभन्दा बढी टिक्दैनथे । त्यहीँ आज मैले कार्यालय उद्घाटन गरेर आएँ । यसले के बुझिन्छ भने जनता धेरै नै उत्साहित छन् । देउरालीमा लगभग शतप्रतिशत मान्छेहरू काङ्ग्रेस हुन् तर उम्मेदवार आइदिनुपर्यो भनेर माग भएपछि त्यहाँ पुगेको छु ।
घरदैलोमा एकदमै उत्साहित छन् किनभने अब रामचन्द्र पौडेलबाट केही पनि आशा छैन । हुन त उहाँले आफूलाई ‘हुनेवाल प्रधानमन्त्री’ भनिरहनु भएको छ ।
नेपाली काङ्ग्रेसका पार्टी सभापति शेरबहादुर देउवा ज्योतिषले भनेको छ ‘सातौँपटक प्रधानमन्त्री हुन्छु’ भनेर हिँडिरहनुभएको छ । यहाँ प्रधानमन्त्री भन्ने पद कतिवटा हुन्छ ?
दोस्रो कुरा, २०७४ साल मङ्सिर १० गते र २१ गतेको निर्वाचनपछि प्रधानमन्त्री हुनका लागि बहुमत चाहिन्छ, काङ्ग्रेसमा त्यो सम्भावना नै छैन । ती कुराहरू सबै तनहुँ–१ का जनताले बुझेका छन् ।
म फेरि एउटा युवा, सङ्घसंस्थादेखि लिएर ०७० सालमा निर्वाचन हारे पनि व्यक्तिगत रूपमा भूकम्प पीडितका लागि राहत वितरण गर्न हिँडे । यहाँका बेरोजगार युवाहरूलाई मेरो कम्पनीमा मात्रै करिब पाँच सयलाई रोजगारी दिएको छु । भनेको व्यक्तिगत रूपमा बेरोजगार युवालाई रोजगारी दिनसक्ने हैसियत छ ।
आर्मी, पुलिसमा जागिर खुवाउनेदेखि प्रमोसन गराउनेसम्मको हैसियत छ । तपाईंको मिडिया मार्फत के भन्न चाहिन्छु भने काखा र पाखा गर्दिन । यो काङ्ग्रेस रहेछ, यो राप्रापा रहेछ मलाई भोट हालेको छैन भनेर भन्दिन । तनहुँका जनता मेरा लागि बराबर हुन् । उनीहरू मलाई जिताउन आतुर छन् ।
स्थानीय तहमा हामी अगाडि छौं भनेर भन्नुभो, त्यो मतान्तर र अहिलेको अलि नमिल्ला, तपाईंलाई काङ्ग्रेसको भोट आवश्यक पर्छ नै, काङ्ग्रेसका मतदाता तान्ने सूत्र चाहिँ तपार्इंसँग के छ ?
नेपाली काङ्ग्रेसका साथीहरू उत्साहित छन्, उनीहरू निरुत्साहित छन् । किनभने ०४८ सालदेखि पटक–पटक जिताएर रामचन्द्र पौडेलाइ पठाइयो तर जिल्लाका लागि केही पनि गरेनन् । त्यसकारणले तटस्थ मतदाता जस्तै : काङ्ग्रेसमा पटक–पटक भोट हाल्ने तर सक्रिय नभएका यद्यपि सक्रिय र पदमै भएका साथीहरू पनि यसपटक हामीले किसान श्रेष्ठलाई मौका दिनुपर्छ भनेर लागेका छन्, त्यो नै मेरो जित्ने आधार हो ।
कतिजति मतान्तरले जित्छु जस्तो लागेको छ ?
आजको दिनमा उहाँले २०७० सालमा जस्तो धाँधली गरेर जित्ने सम्भावना छैन । जनता जागरुक छन्, ५ देखि ८ हजारको सेरोफेरोमा हामी जित्छौँ ।
(फोटो : बिजु महर्जन)