ब्याटल ग्राउन्ड नुवाकोट : मतदानअघि ‘थैलीको’ खेल हुने खतरा
बुधसिं (नुवाकोट)– न कुनै झगडा, न कुनै दुस्मनी । भोटको राजनीतिले नुवाकोटका तारकेश्वरस्थित केही गाउँमा छरछिमेकमै आउजाउ बन्द भएको छ । पानी पधेँरोमा भेट हुँदा बोलचाल त हुन्छ नै तर खुलस्त कुराकानी हुँदैन ।
स्थानीय राजनीतिमा सङ्गठित भएकाहरू आफ्नो पक्षका उम्मेदवारलाई भोट माग्न दौडन्छन् । बाँकी त भोट खसाल्न मतदान केन्द्रसम्म पुग्ने मात्रै हुन् । ती सङ्गठितभन्दा पनि सामान्य भोटरहरूमा राजनीतिक हावाले यसरी गाँजेको छ कि मेलापातमा समेत फरक पार्टीलाई हम्मेसी बोलाइँदैन ।
क्षेत्र नम्बर २ मा पर्ने नुवाकोटको तारकेश्वरस्थित बुधसिंहकी सरला तिवारीले समाजमा विकृत राजनीतिले नराम्ररी गाँजेको बताइन् ।
‘काङ्ग्रेस र एमाले एकातिर हुँदा काङ्ग्रेस एक्लै चुनाव लडेको छ । अरू राजनीतिक दलसमेत चुनावी मैदानमा भए पनि मुख्य प्रतिस्पर्धा उनै दलको हो’, उनले भनिन्, ‘अहिले तलदेखि माथिसम्म यो पार्टी र ऊ पार्टी भनेर विभाजन देखिएको छ ।’
उनका अनुसार अहिले एक पार्टीले अर्को पार्टीलाई हत्तपत्त मेलापातमा बोलाउँदैनन् ।
तारकेश्वर गाउँपालिकाको तारुका, बुधसिं, गोर्स्याङलगायतका केही गाउँहरूमा यस्तो समस्या देखिएको स्थानीय बताउँछन् ।
चुनावी माहोल तातिँदै गर्दा अधिकांश घरहरूमा पार्टीका झण्डा फहराइएको देखिन्छन् । टाढाटाढदेखि नै यो पार्टी निकटकाको घर रहेछ भने सहजै अनुमान लगाउन सकिने अवस्था छ ।
बेलकोटगढी नगरपालिकास्थित रातामाटेकी पद्मा राईले पार्टीको झण्डा नफहराइएको घर आजभोलि पाउनै मुस्किल हुने बताइन् ।
‘जसको जे पार्टीमा आस्था छ, सोही अनुसार घरको धुरीधुरीमा पार्टीका झण्डा फहराइएको छ’, उनले भनिन्– ‘अहिले राजनीति हावाले सबैलाई छोएको छ ।’
क्षेत्र नं. २ मा बेलकोटगढी नगरपालिका, तारकेश्वर गाउँपालिका, बिदुर नगरपालिका, मेघाङ गाउँपालिका र किस्पाङ गाउँपालिका रहेका छन् । जहाँ वाम गठबन्धनबाट एमालेका नारायणप्रसाद खतिवडा र काङ्ग्रेसबाट नेता अर्जुन नरसिंह केसी प्रतिनिधिसभा उम्मेदवार रहेका छन् ।
दुवै उम्मेदवारहरूले अहिले गाउँगाउँमा चुनावी अभियानलाई तीव्र पारिरहेका बेला समाज पनि पार्टीगत रूपमा विभाजित भएको हो ।
नुवाकोट राजनीतिक रूपमा केही हदसम्म चेतनशील रहेकाले पनि समाजसम्म यसको प्रभाव परेको बुधसिंहका एक स्थानीय अगुवाले बताए ।
मतदानअघि ‘थैलीको’ खेल हुने खतरा
यसैबीच नुवाकोटका दुवै क्षेत्रका केही दुर्गम बस्तीहरूमा भोट किनबेच हुनसक्ने बताइन्छ । तामाङ र दलित बाहुल्य क्षेत्रमा विगतमा पनि भोट किनबेच हुनेगरेको दाबी गर्दै बेलकोटगढी नगरपालिका वडा नम्बर १० बाट गत स्थानीय चुनावमा उम्मेदवार बनेका गोविन्दप्रसाद जम्कटेलले यो क्रम फेरि दोहोरिन सक्ने बताए ।
‘उनीहरूमा राजनीतिक आस्थाभन्दा पनि कताबाट रकम मिल्छ, त्यतैतिर भोट हाल्न तयार हुन्छन्’, उनले भने, ‘यस्तो भोटले नतिजामा प्रभाव रहन सक्छ ।’
जानकारहरूका अनुसार मेगाङ, किस्पाङ, लिखु, सूर्यगढीलगायतका गाउँपालिकाका केही बस्तीहरूमा त्यस्तो क्रम चल्छ ।
सूर्यगढी गाउँपालिकाका एक स्थानीयले यस्ता ‘थैली’को राजनीतिलाई नरोकिए जित्नेले पनि हार्ने र हार्नेले पनि जित्ने अवस्था आउन सक्ने खतरा औँल्याए ।
भोटको किनबेच हुन सक्ने स्थानहरू क्षेत्र नम्बर २ मा धेरै रहेको बताइन्छ । यसैबीच अहिले नै पनि भोट किनबेचमा काङ्ग्रेस लागिपरेको भनी क्षेत्र नम्बर २ का एमाले उम्मेदवार नारायणप्रसाद खतिवडाले आरोप लगाएका छन् ।
उनले भने– ‘अहिले नै पनि प्रतिपक्षले समाजसेवाको नाममा मतदाता लोभ्याउन पैसा बाँड्न थालेको भन्ने सुनेको छु, जनता अब पैसा र झुटा आश्वासनमा बिक्नेवाला छैनन् ।’
उनले आफूहरूले जनताको अभिमत पैसाले खरिद गर्ने चीज होइन भनिरहेको तर विपक्षी काङ्ग्रेस भने जसरी पनि जित्नुपर्छ भनी लागिपरेको अरोपसमेत लगाए ।
यता काङ्ग्रेसका क्षेत्र नम्बरका उम्मेदवार अर्जुननरसिंह केसीले भने नुवाकोटमा विकास गर्ने पार्टी नै काङ्ग्रेस भएको भन्दै क्षेत्रमा नम्बर २ मा पनि आफूले विकासमा खेलेको भूमिकालाई सही मूल्याङ्कन गर्दै निर्धक्क साथ जनताले विजयी गराउने दाबी गरे ।