सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

धनुषामा एमाले विवाद : जनकपुरमा दुई नगर कमिटी चयन

मङ्गलबार, १७ फागुन २०७८, २२ : ०१
मङ्गलबार, १७ फागुन २०७८

धनुषामा एमालेभित्रको विवाद समानान्तर कमिटी गठनसम्म पुगेको छ । धनुषा जिल्ला अधिवेशन तयारीका लागि बस्नु पर्ने बैठकलाई लिएर अध्यक्ष राजकिशोर यादव र सचिव तेजनारायण यादवबीच भएको विवादले उग्ररुपमा लिँदा समानान्तर कमिटी गठनसम्म पुगेको हो ।

सोमबार अध्यक्ष राजकिशोर विना नै सचिव तेजनारायणले बैठक बोलाएर अध्यक्षसँग समन्वय गरेर जिल्ला अधिवेशन गर्ने तयारी गरेका थिए ।  तर एकदिन नबित्दै दुवै पक्षले जनकपुरधाम उपमहानगरको नगर अधिवेशन गरेर छुट्टाछुटै नगर कमिटी गठनको घोषणा गरेका छन् । दुई पक्षले छुट्टाछुटै गरेको नगर अधिवेशन गरी आफ्नो कमिटीलाई आधिकारिक कमिटीको दावी समेत गर्न थालेका छन् । जनकपुरधाम नगर कमिटी अध्यक्षमा दुई जनाले दाबी गरेपछि विवादले नयाँ मोड लिएको हो । जिल्ला अध्यक्ष राजकिशोर पक्षले नगर अध्यक्षमा शुभनारायण मण्डल निर्वाचित भएको दावी गरेको छ भने पूर्वमन्त्रीसमेत रहेकी एमाले पोलिटब्युरो सदस्य जुली महतो पक्षले सुरेन्द्र भण्डारी अध्यक्षमा चयन दावी गरेको छ ।

अध्यक्षमा चयन भएको भनिएका भण्डारी एमालेका केन्द्रीय सचिव रघुवीर महासेठ निकट हुन् भने जुली महतो महासेठकी श्रीमती हुन् । यसअघि सोमबार अबेर रातिसम्म सम्पन्न भएको भनिएको नगर अधिवेशनबाट अध्यक्षमा मण्डलको अध्यक्षतामा ८५ सदस्यीय कमिटी निर्वाचित भएको घोषणा गरेको थियो । त्यसपछि मंगलबार महतो, धनुषा इन्चार्ज रामचन्द्र मण्डल, प्रदेश सांसद किशोरी साह, जिल्ला सचिव तेजनारायण यादवलगायत सहभागितामा अधिवेशनबाट नगर अध्यक्षमा भण्डारीलाई चयन गर्दै ८५ सदस्यीय कमिटी गठन गरेको घोषणा गरेका छन् ।

भण्डारीलाई अध्यक्षमा घोषणा गर्दै उनीहरुले अर्को पक्षले घोषणा गो कमिटीलाई अवैधानिक रहेको बताएका छन् । अध्यक्ष राजकिशोरले फागुन १६ का लागि बोलाइएको जिल्ला कमिटी बैठक पालिका तथा वडा अधिवेशन बाँकी रहेकाले अनिश्चितकालका लागि स्थगित गरिएको भन्दै आइतबार विज्ञप्ति निकालेका थिए । तर सचिव तेजनारायणले भने अध्यक्षको अनुपस्थितिमा बैठक बसाएका थिए ।  अध्यक्ष राजकिशोर पक्षले सोमबार गरेको भनिएको नगर अधिवेशन अर्को समूहले आधिकारिक नरहेको भन्दै भ्रममा नपर्न आग्रह गरेका छ ।  महतो पक्षबाट निर्वाचित भएका भण्डारीले आफ्नो पक्षको अधिवेशनमा २५ मध्ये २३ वडा कमिटीका सदस्यहरूको उपस्थिति रहेकोले अधिकारिक आफूहरु भएको दावी गरेका छन् ।  

नगर अधिवेशनबाट शुभनारायण मण्डल नेतृत्वमा नगर कमिटीको उपाध्यक्षमा महेन्द्रप्रसाद साह, सचिवमा लक्ष्मेश्वर यादव, सह–सचिवद्वयमा जय प्रकाश साह र रितादेवी साह रहेका छन् । त्यस्तै अध्यक्ष राजकिशोर पक्षबाट नवनिर्वाचित भएका नगर संयोजक शुभनारायण मण्डलले आफूहरू पार्टीको संस्थापन भएको दावी गरे । अर्को पक्षले पार्टी पदको दुरुपयोग गरेको आरोप लगाउँदै उनले भने,  ‘माथिदेखि नै समानान्तर कमिटी बनाएर गइरहेकाले पदीय मर्यादाकोसमेत ख्याल नै नगरी नीति, विधि, विधान र पद्धति विपरीत रहेको छ ।’ केन्द्रीय सचिव महासेठ र पोलिटब्युरो सदस्य जुली महतोप्रति इंगित गर्दै पैसा र पदको दुरुपयोग गर्दै गुण्डा र ठेकेदारलाई नगर कमिटीको अध्यक्षमा भण्डारीलाई चयन गरेको उनले आरोप लगाए ।

जिल्ला अध्यक्ष राजकिशोरले पार्टीभित्र गुट उप गुटहरु मौलाउँदै गएको भन्दै जिल्लाको विभिन्न स्थानीय तहमा विवाद उत्पन्न हुनु र जनकपुरधाम उपमहानगर कमिटी समेतमा समानान्तर कमिटी गठन हुनु गलत रहेको प्रतिक्रिया दिए । जिल्ला अध्यक्ष राजकिशोर पक्षलाई पूर्वमन्त्री समेत रहेका पार्टीका केन्द्रीय सदस्य यदुवंश झाको समर्थन छ भने केन्द्रीय सचिव रघुवीर महासेठसँग पूर्व माओवादीका प्रभु साह, रामचन्द्र मण्डल लगाएकाहरुको साथ छ ।

यदुवंश झा पक्षधरका नगर संयोजक शुभनारायण मण्डल जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–१३ का निवर्तमान वडाध्यक्ष हुन् । उनीमाथि भ्रष्टाचारको आरोप लागेपछि अहिले  अहिले निलम्बनमा परेका छन् । यस्तै महासेठ पक्षधरका भण्डारी ठेकेदार र व्यवसायी हुन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप