आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

स्थानीय तहको निर्वाचनमा आवश्यकता अनुसार गठबन्धन हुन्छ : काँग्रेस

बुधबार, १८ फागुन २०७८, १५ : २०
बुधबार, १८ फागुन २०७८

नेपाली काँग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले स्थानीय तह निर्वाचनमा सत्तारुढ गठबन्धनबीच चुनावी तालमेल नहुने संकेत गरेका छन् । सत्तारुढ प्रमुख घटक काँग्रेसका प्रवक्ता महतले सत्तारुढ दलहरुबीच स्थानीय तहको निर्वाचनमा चुनावी तालमेल गरेर जाने अवस्था आफूले नदेखेको बताएका हुन् । 

बुधबार न्यूज एजेन्सी नेपालसँग संक्षिप्त कुराकानी गर्दै उनले स्थानीय आवश्यकतालाई ध्यानमा राखेर स्थानीय तहको निर्वाचन सम्पन्न हुने भएकाले दलहरुले आ–आफ्नै ढंगले उम्मेदवारी दिने तर्क समेत गरे । तर यस विषयमा सत्तारुढ दल भित्र भने कुनै छलफल भइनसकेको उनले बताए । प्रवक्ता महतले आवश्यकताको सिद्धान्त र आ–आफ्नै फाइदाको सिद्धान्त अनुसार स्थानीय तहको निर्वाचनमा दलहरु जुट्नुपर्ने अवस्था रहेको दोहो¥याए  । स्थानीय तहको निर्वाचन तोकिएको समयमा हुनेमा आफ्नो पार्टी विश्वस्त रहेको उल्लेख गर्दै उनले त्यसका लागि सरकार अघि बढिसकेको बताए । 

प्रवक्ता महतले भने ‘गठबन्धनमा एमसीसीको विषयलाई लिएर जुन संकट आएको थियो । त्यसमा समझदारी विकसित भइसकेपछि संकट टरेको छ । अव वैशाख ३० गते स्थानीय तहको निर्वाचन हुँदैछ । निर्वाचन गठबन्धनकै नेतृत्वमा अगाडि बढ्छ । जहाँसम्म गठबन्धन सरकारमा बसेका दलहरुले यो निर्वाचन पनि गठबन्धन गरेर जान्छ कि जाँदैन भन्ने विषय छ ।  स्थानीय आवश्यकतालाई ध्यानमा राखेर कतिपय ठाउँमा समझदारीहरू हुन सक्दछ । कतिपय ठाउँहरुमा दलहरुले आफ्नो ढंगले गर्ने अवस्था पनि छ । तर समग्रमा अहिले गठबन्धनमै जाने वा नजाने भन्ने विषयमा छलफल भइसकेको छैन । आवश्यकताको सिद्धान्त र पार्टीलाई यसले कतिको फाईदा गर्छ भन्ने सिद्धान्तमा यो निर्भर गर्छ । गठबन्धनमा सम्मिलित दलहरुले मूल्यांकन गरेर एउटा निचोडमा पुग्लान ।’

प्रवक्ता महतले प्रमुख प्रतिपक्ष दल नेकपा एमालेलाई सहमतीमा लिएर संसद सूचारु गराउन आफ्नो पार्टीले प्रयास जारी राख्ने बताए । उनले सभामुख अग्निप्रसाद सापकोटा र माधव नेपालसहितका १४ जना सांसदको विषय अदालतमा विचाराधीन रहेकाले त्यसलाई छाडेर एमालेले संसद सूचारु गराउनु पर्ने बताए । चालु अधिवेशन अन्त्य गरेर आगामी बजेट अधिवेशनमा विपक्ष दलको सक्रिय सहभागिता आवश्यक भएकाले पनि एमालेलाई सहमतीमा ल्याएर संसद सुचारु गराउन आफ्नो पार्टीले प्रयास जारी राख्ने उनले बताए ।  

प्रवक्ता महतले एमालेलाई सहमतीमा ल्याएर संसद सूचारु गराउन प्रधानमन्त्री शेरबहादुर देउवा आफैंले संवादलाई निरन्तरता दिने बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप