सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

‘एमसीसी पास भयो, अब वामपन्थी दल बढारिन्छन्’

बिहीबार, १९ फागुन २०७८, ०६ : ५३
बिहीबार, १९ फागुन २०७८

एमसीसी परियोजना पास भएपछि अब के होला ? नेपालको वामपन्थी आन्दोलन कता जाला ? यसबारे धेरैमा जिज्ञासा छ । नेपालमा एमसीसी परियोजना आउनुमा लामो पृष्ठभूमि रहेको छ । नेपालमा गणतन्त्र अमेरिका, पश्चिमाहरूको समर्थनबाट ल्याइएको हो । गणतन्त्रको नयाँ उपलब्धि बनेर एमसीसी परियोजना आएको छ । गणतन्त्र जोगाइदिने विश्वसनीय माध्यम बनेर एमसीसी आएको छ ।

हिजो वामपन्थी दलहरूलाई प्रयोग गरेर गणतन्त्र ल्याउन सहयोग गर्ने तिनै पश्चिमा शक्ति हुन् । तिनै शक्ति अर्थात् अमेरिकनहरू यहाँ चलखेल गर्न पाइरहियोस्,  संसद्बाटै सम्झौता प्रमाणीकरण होस भनेर उनीहरू नेपाल प्रवेश गरे । एमसीसी परियोजना वामपन्थी आन्दोलनलाई सघाउन यहाँ आएको जस्तो मलाई लाग्दैन । जुनसुकै देशमा होस कम्युनिष्ट आन्दोलन विरोधी अभियानलाई अगाडि बढाउँदै जाने अमेरिकाको नीति रहँदै आएको छ । त्यही नीतिअनुसार यहाँ एमसीसी आएको छ ।

एमसीसी आउने बेलासम्म यहाँ के स्थिति देखापर्‍यो, बाम पार्टीहरू शक्तिशाली  दल बनेको अवस्था भयो । वामपन्थीको प्रगति बढ्दै बढ्दै संसदमा झन्डै २ तिहाइ नजिकको बहुमत आयो । वामपन्थीको नेतृत्व क्षमता बलियो भएको भए एमसीसी अघि बढ्ने नै थिएन । उनीहरूले आफूलाई टिकाउन सकेनन्, देशको नेतृत्व गर्न सकेनन् । त्यसमा पश्चिमा शक्तिको चलखेल भन्दा पनि उनीहरू आफैँले नेतृत्व क्षमता देखाउन सकेनन् ।

यसरी बाम शक्ति एक हुन नसकेर अहिले संसदमा पाँचवटा बाम पार्टी बन्न पुगेका छन् । एकीकृत भएको ठूलो शक्ति थेचारिएर र सत्तामा रहेको शक्ति अहिले सडकमा पछारिन पुगेको छ । एमसीसी पास हुनु भनेको अबको यहाँको बाम शक्ति त्यो एमाले होस् वा माओवादी वा अरू पार्टी, सबैलाई छिन्नभिन्न पार्ने, आफ्नो अस्तित्वलाई छिन्नभिन्न पार्ने, बामदललाई कमजोर पार्ने र वामपन्थीभन्दा बाहिरको शक्ति, उनीहरूको भाषामा भन्नुपर्दा प्रजातान्त्रिक शक्ति (नेपाली कांग्रेस) लाई बलियो बनाउने र सहयोग गर्ने काममा उनीहरू लाग्छन् । यो स्थिति आउनुमा वाम दलकै भूमिका रहेको छ ।

हिजोका दिनमा केपी ओलीले सरकारमा रहँदा पनि विभिन्न काम गरेर गल्ती गरे । संसद् भंग गरेर पनि गल्ती गरे । अहिले एमसीसी पास गर्ने बेला पनि उनैले अवरोध गरेर पास गराए । ओलीले नचाहेको भए एमसीसी कुनै हालतमा पास हुन सक्दैनथ्यो । अहिले अग्रभागमा देखिएका चार नेताहरू शेरबहादुर देउवा, केपी ओली, प्रचण्ड चाहे माधव नेपाल, यिनीहरू एकसुरले सुरुदेखि नै एमसीसीको पक्षमा रहेका थिए ।

एमसीसी पास भएपछि बाम आन्दोलनमा के क्षति हुन्छ, उनीहरूले बुझेका छैनन् । अहिले त उनीहरू एमसीसीको को बढी समर्थक, को १ नंबरको समर्थक भनेर देखाउन तछाँड–मछाँड गरिरहेका छन् । तर, एमसीसी अघि बढेसँगै दीर्घकालीन रूपमा नेपालमा अब वामपन्थी बलियो हुँदैनन् । नेपालमा कम्युनिष्टहरुलाई बलियो हुन नदिनकै लागि एमसीसी पास गरिएको छ । नेपालभित्रका वामपन्थीहरूलाई कमजोर पार्ने र अन्य देशबाट पनि कम्युनिष्टहरुलाई लोप गराउने अमेरिकी रणनीति हो । त्यो रणनीतिअन्तर्गत नै अहिलेका खेलहरू भइरहेका छन् ।

​खासगरी नेपालमा के भयो भने यहाँका कम्युनिष्ट पार्टीहरूले आफ्नो सिद्धान्तको आधारमा रहेर दीर्घकालीन सोचका साथ अगाडि जाने भन्दा पनि झिना मसिना मानसिक समस्यामा अल्झिए । ओलीलाई देख्यो भने माधवले गाली गर्ने, माधवलाई देख्यो भने ओलीले गाली गर्ने अवस्था बन्यो ।

ओलीको छुद्रता भनेको माधव र प्रचण्डलाई नाङ्गेझार पार्न पाए वामपन्थी आन्दोलनमा म मात्रै हिरो भएर आउँथे भन्ने देखियो । यो एक प्रकारका छुद्रता हो । केपी ओलीको यही छुद्रताले नै वामपन्थी आन्दोलनमा संकट आयो । ओलीकै कारणले एमसीसी पारित गरेर जाने अवस्था आयो ।

एमसीसी पाससँगै वामपन्थी आन्दोलनमा ठूलो संकट आइसकेको छ । एक त संसदमा रहेका अहिलेका बाम भनिएका पार्टीहरू ओली, प्रचण्ड, माधवहरूको कम्युनिष्ट चरित्र नै छैन । यिनीहरुले अब बाम आन्दोलनलाई अगाडि बढाएर लैजान सक्ने अवस्था छैन । आगामी स्थानीय तहको चुनावबाटै यसको साइड इफेक्ट देखिन थाल्छ ।

ओलीले भनेजस्तो स्थानीय तहको चुनावमा एमालेको बर्चश्व हुन कठिन रहेको छ । मलाई लाग्छ, अब आउने चुनावमा वाम शक्तिहरू कमजोर भएर जानेछन् । एमसीसी पास गर्ने विषयले काँग्रेसभित्र रहेको अन्तरविरोध कम हुँदै अझै एकताबद्ध बन्दै आएको छ । पार्टीभित्रको विवाद मथ्थर पार्दै उनीहरू एमसीसी पास गर्न एकजुट भए ।

तर, एमसीसी पास भएपछि अहिले वामपन्थी दलहरुमा अन्तरविरोध चर्किन थालेको छ । यस्तो अन्तर्विरोध माओवादीमा चर्किन थालेको छ, नेकपा एकीकृत समाजवादीमा पनि चर्किन थालेको छ । कति कुरा बाहिर देखिएको छ, कतिपय भुसको आगोका रूपमा पार्टीभित्रै धुवाइरहेको छ । एमसीसीले कुनै पनि वामपन्थीलाई सन्तोष दिएको छैन ।

प्रचण्डलाई ठोकठाक पार्ने, शेरबहादुरलाई नै ठोकठाक पार्ने र उनको विकल्पमा अर्को नेता खोज्ने अवस्थामा पनि विदेशी शक्तिहरू पुगेका छन् । जहाँ जहाँ उनीहरूको स्वार्थ छ, अमेरिकीहरूले नेपाली काँग्रेसलाई तानेर लैजान्छन् ।

अगामी चुनावमा हिजोको जसरी बामपन्थीहरु एकजुट हुन सक्छन् भन्ने कुनै अवस्था देखिँदैन । यसको अर्थ, चुनावमा वामपन्थीहरू हिजोको अवस्थामा भन्दा धेरै तल जान सक्छ । वाम शक्ति क्षीण हुँदै जाने र अन्य शक्तिहरू अगाडि बढ्दै आउने देखिन्छ ।

एमसीसी पाससँगै नेपाली काँग्रेसको सरकार र अमेरिकी सरकारबीच आत्मीयता धेरै बढ्छ । देश बाहिरका मुद्दामा मात्र हैन, नेपालभित्रका मुद्दाहरुमा अमेरिकाको हितमा हुने गरी काँग्रेसले काम गर्छ । अहिलेसम्म वामपन्थीहरूलाई पश्चिमाहरूले जुन रूपमा सहयोग गरेका थिए, त्यो अब बन्द हुन्छ । मलाई लाग्छ, अब भारतबाट पनि उनीहरूलाई त्यो प्रकारको सहयोग हुँदैन । उनीहरूले के बुझेका छन् भने नेपालमा वामपन्थी शक्तिहरू सत्तामा पुग्दा उनीहरूका अनुकूल धेरै कामहरू सम्पन्न हुन सकेनन् ।

प्रचण्डलाई ठोकठाक पार्ने, शेरबहादुरलाई नै ठोकठाक पार्ने र उनको विकल्पमा अर्को नेता खोज्ने अवस्थामा पनि विदेशी शक्तिहरू पुगेका छन् । जहाँ जहाँ उनीहरूको स्वार्थ छ, अमेरिकीहरूले नेपाली काँग्रेसलाई तानेर लैजान्छन् । अहिले रुस र युक्रेन युद्धमा नेपालले युक्रेनको समर्थन गर्नु त ठीकै हो, तर अमेरिकाले नेपाललाई प्रयोग गर्नु भनेको त गलत कुरा हो । साना देशमा विखण्डन गर्ने कुराको बिरोध गर्नु ठीकै हो, तर त्यसमा काँग्रेसलाई अमेरिकी दबाब हुनुभएन ।

जहाँ केपी ओलीको सरकार ढल्यो, नेपालको संविधान मिचेर दुई–दुई पटक संसद् भंग गरे । त्यसलाई अदालतले उल्ट्याइदियो । त्यो प्रकरणदेखि नै वाम आन्दोलन क्षयीकरण हुने अवस्था बढ्दै गएको थियो । एमसीसी नै वाम आन्दोलनको विरुद्धको एउटा रणनीति भएकाले पनि अव वाम आन्दोलन सजिलोसँग अगाडि बढ्न सक्दैन ।

नेपालमा गणतन्त्र ल्याउन पश्चिमाहरूले सहयोग गरेकै एमसीसी जस्ता रणनीतिहरू लागू गराउनका लागि हो । आफूले चाहेजसरी नेपाललाई चलाउन उनीहरूलाई सहज भएको छ । राणाहरु अप्ठेरो परेका बेलामा च्याप्प समातेर भारतले सन् १९५० को असमान सन्धी गरेर पछि राणाहरूलाई उनीहरूले बिदा दिए । त्यस्तै नेपालका नेताहरू अप्ठेरोमा परेको बेलामा उनीहरू एमसीसी पास गराउन सफल भए । पश्चिमाहरूको रणनीति अनुसार नेपालमा एमसीसी भित्रियो । अव यी नेताहरू जो नेतृत्वमा छन्, उनीहरूलाई बढार्नतिर लाग्छन् । शेरबहादुरलाई त के गर्छन्, तर अरू नेताहरूलाई बढार्ने उनीहरूको नीति सुरु हुन सक्छ । 

(वामपन्थी नेता मैनालीसँग कुराकानीमा आधारित)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राधाकृष्ण मैनाली
राधाकृष्ण मैनाली
लेखकबाट थप