सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

बुटवलको प्रदर्शनी केन्द्र निर्माणमा ढिलाइ : ५ वर्षभित्र सक्नुपर्ने आयोजना ७ वर्षसम्म अधुरै

बिहीबार, १९ फागुन २०७८, ११ : ५३
बिहीबार, १९ फागुन २०७८

बुटवलको विकासमा निकै महत्त्वाकाङ्क्षी मानिएको र उद्योगी व्यवसायीहरूले धेरै अपेक्षा गरेको बुटवल सम्मेलन केन्द्र र प्रदर्शनी केन्द्र निर्माणमा ढिलाइ भएको छ । २०७१ सालमा बुटवल मण्डपमा रहेको साढे १६ बिघा जग्गामध्ये १० बिघा क्षेत्रफलमा चरण–चरण विभाजन गरेर निर्माणको काम सुरु गरिए पनि अझै पुरा भएको छैन । ५ वर्षमा सक्ने लक्ष्य राखिएको सो केन्द्र ७ बितिसक्दा पनि पुरा गर्न सकिएको छैन ।

बुटवल मण्डपमा बन्न लागेको आधुनिक प्रदर्शनी केन्द्र नेपालमै ठुलो भएको दाबी गर्दै ८ सय वटा स्टल राख्न मिल्ने गरी स्थायी प्रदर्शनी केन्द्र निर्माण काम अगाडि बढाएको थियो । विभिन्न बहाना देखाउँदै ठेकेदार कम्पनीले म्याद थप गर्दा यहाँका उद्योगी व्यवसायीहरू चिन्तित बनेका छन् । प्रदर्शनी केन्द्र निर्माणमा ढिलाइ हुँदा बुटवलका रहेको व्यापारी संघ संस्थाहरू प्रत्येक  वर्ष गर्ने बुटवल महोत्सव पनि अन्यत्र गर्नुपर्ने बाध्यता रहेको छ ।

एक दशकभन्दा बढी समयदेखि रामनगरस्थित बुटवल मण्डपमा व्यावसायिक संस्थाहरूले मेला आयोजना गर्दै आएका थिए । तर अहिले निर्माण सुरु भए पनि पूरा नभएपछि देवीनगरमा अस्थायी संरचनामा निर्माण गरेर मेला गर्नुपरेको छ । निर्माणमा ढिलाइ भएपछि अन्यत्र अस्थायी संरचनाहरू बनाउँदै मेला आयोजना गर्नु परेको गुनासो बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष उज्ज्वलकुमार कसजूले गरे । उनले सम्मेलन केन्द्र भवनले यस क्षेत्रको आर्थिक विकासमा ठुलो सहयोग पुग्ने भए पनि ढिलाइ भएको चिन्ता व्यक्त गर्दै भर्ने योजना अनुसार काम छिटो छरितो र व्यवस्थित हुन सकेको छैन । यो दुःखद पक्ष हो ।’

यता, आयोजना प्रमुख धर्मेन्द्र पन्थीले सुरुमा रुख कटान र पछि कोरोना कारणले ठेकेदार कम्पनीले म्याद थप गरेको रातोपाटीलाई बताए । उनका अनुसार प्रदर्शनीको काम ४६ प्रतिशत सम्पन्न भएको छ । यस्तै सम्मेलन केन्द्रको काम चाहिँ ८६ प्रतिशत भएको छ । उनले प्रदर्शनी केन्द्र आउँदो माघसम्म सम्पन्न गर्ने गरी काम भइरहेको बताए ।

यो परियोजनाका निर्माणका लागि १ अर्ब ३ करोड रुपैयाँमा दुई चरणमा बाँडेर ठेक्का सम्झौता गरिएको थियो । सहरी विकास तथा भवन निर्माण विभागले निर्माण थालेको सम्मेलन केन्द्रको रविना समानान्तर चन्द्रसूर्य जेभी निर्माण कम्पनीले पहिलो चरणको ठेक्का लिएको थियो ।

यस्तो बनाउने योजना

पहिलो चरणमा मुख्य सभा हल राष्ट्रिय झन्डाको माथिल्लो भागको सूर्य अङ्कित शैलीमा निर्माण गर्न लागिएको छ । १ हजार १ सय क्षमताको सभा हलको भवन तयार भएको छ । त्यसमा दुईवटा लेक्चर हल, ६ वटा मिटिङ हल, भीआईपी, भिडिओ अडियो, ट्रान्सलेटरलगायतका कक्षको स्ट्रक्चर तयार पारिएको छ । त्यसमा २३ करोड रुपैयाँ खर्च भएको छ । सभाहलमा भौतिक संरचना निर्माणको काम सकिए पनि रंगरोगन र विद्युतीय तथा फनिर्सिङका काम बाँकी छन् सभाहलभित्र जिप्सन, विद्युत् र सीसीटीभी जडानको काम भइरहेको छ ।

१ हजार १ सय मानिस बस्न मिल्ने गरी कुर्सी जडान गरिँदै छ । हाल आशिष निर्माण सेवाले ती काम गरिरहेको आयोजनाले जनाएको छ । सम्मेलन केन्द्रको दोस्रो चरणको कामलाई ८० करोड रुपैयाँमा ठेक्का सम्झौता गरिएको थियो ।

अर्को भवन झन्डाको तल्लो भाग अर्थात् चन्द्र अङ्कित शैलीमा बन्दै छ । यस भवनमा दुईवटा एक/एक सय क्षमताका र दुईवटा ५०/५० जना अट्ने हल बन्नेछ सम्मेलन केन्द्रको चारैतिर चारवटा प्रवेशद्वार बनाइँदै छ । केन्द्रभित्रै दुईतले भवनमा व्यावसायिक क्षेत्र, रेस्टुराँ, बैंक एटीएम, खाजा घर र प्रशासनिक कामका लागि छुट्टाछुट्टै कोठा निर्माण गरिनेछ । कर्मचारीका लागि तीन तलाको छुट्टै आवास गृह, पार्किङ स्थल, पोखरी, बगैँचालगायतका संरचना निर्माण हुँदै छन् ।

सम्मेलन केन्द्र आकाशबाट हेर्दा नेपाली झण्डाको आकारमा देखिनेछ । अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रका नाममा सुरु भएको आयोजनालाई विभागले पछि अन्तर्राष्ट्रिय शब्द हटाएर बुटवल सम्मेलन केन्द्र नाम दिएको हो । यद्यपि, योजना निर्माणका क्रममा दोस्रो प्राथमिकतामा परेको केन्द्र योजना आयोगले पहिलोमा राखेर काम अघि बढाएको थियो ।

मेलाका मर्का

बुटवलमा प्रदर्शनी केन्द्र निर्माणले मेलामा असर परेको छ । बुटवलमा औद्योगिक व्यापार मेला २०५३ सालबाट प्रत्येक वर्ष जसो मेला, महोत्सव र प्रदर्शनी निरन्तर लाग्दै आएको छ । एक दशकभन्दा बढी समयदेखि रामनगरस्थित बुटवल मण्डपमा व्यावसायिक संस्थाहरूले मेला आयोजना गर्दै आएका थिए। अहिले त्यहाँ  निर्माणका कामले गर्दा  रोकिएको छ ।

लामो समयदेखि उद्योगीहरूले बुटवल मण्डपमा स्थायी प्रदर्शनी स्थल माग गर्दै आएका थिए । त्यसैलाई मध्यनजर गर्दै अन्तर्राष्ट्रिय स्तरको बुटवल सम्मेलन केन्द्र र प्रदर्शनी केन्द्र निर्माणमा काम अगाडि बढाएको हो । जसमा उद्योगी व्यवसायीहरू उत्साहित बनेका थिए । खास गरी  सम्मेलन केन्द्र निर्माणले अन्तर्राष्ट्रिय मापदण्ड अनुसारका कार्यक्रम गर्न मिल्ने हुन्छ । भने  प्रदर्शनी केन्द्रमा मेला,महोत्सव गर्न सकिन्छ ।

यहाँका उद्योगी व्यवसायीहरू स्वार्थ पनि मेला महोत्सवमा लाग्ने अस्थायी संरचना निर्माण प्रत्येक वर्षको खर्च घट्ने  र ठुलो प्रदर्शनी केन्द्रमा मेला आयोजना गर्ने  सकिने हो ।  त्यही आसमा व्यावसायिक संस्थाहरू बुटवल मण्डपमा बन्न लागेको आधुनिक प्रदर्शनी केन्द्रमा औद्योगिक प्रदर्शनी तथा व्यापार मेला आयोजना गर्ने प्रतीक्षामा बसेका छन् ।

बुटवल उद्योग वाणिज्य संघ, रुपन्देही उद्योग संघ, रुपन्देही व्यापार संघले बुटवलमा प्रत्येक वर्ष आलोपालो गरेर मेला आयोजना गर्दै आएका छन्। यो वर्ष भने उद्योग व्यापार संघ रुपन्देहीले मेलाको आयोजना गर्ने पालो परेको छ ।

रुपन्देही उद्योग संघका अध्यक्ष माधव पौडेलले आउँदो वर्ष आफूहरू यही बुटवल मण्डपमा नै  प्रदर्शनी  गर्ने गरी प्रदर्शनी केन्द्र  निर्माणको काम छिटो गर्नुपर्ने  माग पटक–पटक  गरेको रातोपाटीलाई बताए । उनले भने, ‘हामीले निरीक्षण गर्दा पनि छिटो काम सक्नुहोस् भनेका थियौ । फेरि पनि सरोकारवालाहरूको कुरा उठाएका छौँ ।’ निर्माणाधीन स्थायी संरचना तयार भएमा अस्थायी संरचना  बनाउनको लागि लाखौँ रुपैयाँ खर्च हुने समस्याबाट मुक्त हुने आश  रहेको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

तेजेन्द्र के.सी.
तेजेन्द्र के.सी.

केसी रातोपाटीका प्रदेश नम्बर ५ का संयोजक हुन् । 

लेखकबाट थप