सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

‘आन्टी’ का कारण १७ वर्षीया किशोरी ४ महिनादेखि भारतमा बन्धक !

बिहीबार, १९ फागुन २०७८, १६ : ०९
बिहीबार, १९ फागुन २०७८

पर्साको वीरगञ्जमा कक्षा १२ मा पढ्दै थिइन् १७ वर्षीय सविना कार्की (परिवर्तित नाम) । स्थायी घर नै वीरगञ्ज भएकी सविनाको पारिवारिक पृष्ठभूमि पनि राम्रो नै थियो । बुवा त्यहीँको स्थानीय व्यक्ति भएको कारण जग्गाजमिन पनि भएको र समाजमा सम्मानित व्यक्तित्व नै थिए । 

तर गत छठमा उनी एकाएक घरबाट गायब भइन् । कात्तिक २४ गते अर्थात् छठ पर्वको दिन सविना एकाएक गायब भएपछि सबैतिर उनको खोजी भयो । तर उनी कतै भेटिइनन् । १७ वर्षकी किशोरी घरबाटै गायब भएपछि कतिपयले बिहे गरेर भागी भने भने कतिपयले उनलाई अपहरण गरिएको आशंका पनि गरे । त्यति नै बेला किशोरीको परिवारले जिल्ला प्रहरी कार्यालय पर्सामा छोरी हराएको भन्दै खोजतलासका लागि निवेदन दिए । 

१७ वर्षीय किशोरी हराएको जानकारी आएपछि प्रहरीले खोजतलास सुरु गर्‍यो । खोजतलासकै क्रममा एक युवकले फेसबुकमार्फत् किशोरीको परिवारलाई सम्पर्क गरी आफूले किशोरी राखेको ठाउँ देखेको भन्दै ठाउँ देखाइदिने तर त्यसबापत ४० लाख रुपैयाँ दिनुपर्ने कुरा बताए । 

एकाएक कुनै व्यक्तिले किशोरीलाई राखिएको ठाउँ आफूले देखेको भन्दै देखाइदिने भनेर रकम मागेपछि परिवार र प्रहरीले चासो दियो । ती युवकले बिहारको एक बैंकमा रहेको बैंकको खाता नम्बर पनि पठाएर त्यहाँ रकम जम्मा गर्न लगायो । 

परिवारले यो कुरा प्रहरीलाई बताएपछि प्रहरीले अनुसन्धानलाई झनै तीब्रता दियो । किशोरी अपहरणमा परेको प्रहरीले निष्कर्ष निकाल्दै त्यसैवापत फिरौती मागिएको परिवारको आरोप थियो । ४० लाख मागिएको प्रकरणमा प्रहरीकै अनुरोधमा परिवारले १० लाखमा डिल गर्‍यो तर पैसा लिनका लागि नेपाल–भारत सीमाको वीरगञ्ज नाकामै आउनुपर्ने कुरा बतायो । 
४० लाख माग गरिएकामा १० लाखमा कुरा मिलेपछि ती युवक पनि रकम लिन वीरगञ्ज नाकामा आइपुगे । त्यति नै बेला प्रहरीले ती युवकलाई पक्राउ गर्‍यो । 
युवक पक्राउ परेपछि युवककै बयानमा आधारमा किशोरी युपी र दिल्लीको सिमानामा पर्ने नोयडामा रहेको खुल्यो । यता प्रहरीले युवकविरुद्ध अपहरण र शरीर बन्धकको आरोपमा अनुसन्धान सुरु गरी मुद्दा चलायो । 

पक्राउ परेका युवककै बयानका आधारमा पर्सा प्रहरीले नेपाली दूतावास नयाँ दिल्लीलाई सम्पर्क गरी किशोरीको उद्धार गरिदिन आग्रह गर्‍यो । किशोरीका परिवार पनि पर्साबाट प्रहरीको पत्र बोकेर दिल्ली पुगे ।

नाबालिग अपहरणमा परेको सूचना पाएलगत्तै नेपाली दूतावास दिल्लीले कीन इण्डिया नामक गैरसरकारी संस्थासँग समन्वय गरी किशोरीको खोजी गर्‍यो । किशोरीलाई अपहरण गर्ने व्यक्ति र समूहको मोबाइल लोकेसन, बस्ने स्थान आदि बारे खोजी गर्दै किन नेपाल, दिल्ली महिला आयोग र नोयडा प्रहरी किशोरीलाई बन्धक बनाइराखिएको स्थानसम्म पुगे । ४÷५ दिन लगातार ‘रेकी’ गरेर किशोरीलाई राखिएको स्थानमा टोली पुग्दा किशोरी त्यहाँबाट गायब भइसकेकी थिइन् । तर त्यहाँ प्रहरीले केही व्यक्तिलाई पक्राउ गर्‍यो र पक्राउ परेका व्यक्तिहरुले किशोरी र अपहरण गर्ने व्यक्ति नोयडाबाट भागेर कर्नाटक पुगेको जानकारी दिए । 


त्यसपछि कीन इण्डिया, दिल्ली महिला आयोग र दिल्ली प्रहरीले बैंगलोर प्रहरीसँग समन्वय गरी किशोरी र किशोरीलाई अपहरण गर्नेहरुको खोजी सुरु गरे । बैंगलोर प्रहरीले किशोरी रहेको स्थान पत्ता लगाएसँगै कीन इण्डियाको टोली दिल्लीबाट २ हजार एक सय किलोमिटर टाढा रहेको बैंगलोर पुग्यो । 

टोली बैंगलोर पुगेपछि बैंगलोर प्रहरीको सहयोगमा किशोरीको अपहरणमा सहयोगीको भूमिका निभाउने केही व्यक्तिलाई पक्राउ गर्‍यो । ती व्यक्तिहरुको सहयोगमा मार्च १ तारिखको बिहान (राति) ३ बजे बैंगलोरबाट झण्डै १५० किलोमिटर टाढा मैसुर भन्ने स्थानमा फेला पार्‍यो । 

जतिबेला कीन इण्डियाको उद्धार टोलीले किशोरीलाई फेला पारेको थियो, त्यतिबेला रातको समयमा किशोरी एक्लै एक अटोरिक्सामा बसेकी थिइन् । बैंगलोर प्रहरीसँगको समन्वयमा उनलाई उद्धार गरेपछि यतिबेला ती किशोरी दिल्लीमा आइपुगेकी छिन् र दिल्लीस्थित महिला आयोगको सेल्टरमा राखिएको छ । बैंगलोरमा उनीलाई अपहरण गरी राख्नेविरुद्ध प्रहरीले अनुसन्धान गरिरहेको दिल्लीस्थित कीन इण्डियाका निर्देशक नवीन जोशीले रातोपाटीलाई बताए । 

किशोरी मानिसहरु देख्दा पनि डराएको जस्तो गरिरहने र आतंकित भएको जस्तो देखिने गरेको जोशीले बताए । उनले भने, ‘उनको अवस्था सामान्य बनिसकेको छैन । अहिले नै उनले हामीलाई सबै घटना विवरण बताउन सक्नुभएको छैन । यतिबेला हामी उनलाई काउन्सेलिङ गरिरहेका छौँ । उनको स्वास्थ्य परीक्षण र काउन्सेलिङ गरिसकेपछि दिल्ली प्रहरीले उनको बयान लिनेछ । त्यसपछि मात्रै सबै घटना विवरण बाहिर आउला । अहिलेलाई उनको अपहरण भएको र ४० लाख फिरौती मागिएको भन्ने जानकारी आएको छ । उनलाई अपहरण गरी एक घरमा काम गर्न राखिएको भन्ने जानकारी पाएका छौँ, बाँकी अनुसन्धानकै क्रममा रहेको छ ।’

अपहरण गर्ने ‘आन्टी’ को हुन् ? 

कीन इण्डियाका निर्देशक नवीन जोशीका अनुसार किशोरीले उद्धारपछि आफैले लेखेर केही बयान दिएकी छिन् । दिल्ली महिला आयोगमा उनी आँफैले लेखेर दिएको बयानमा छठपर्वको दिन उनी घरबाट रिसाएर हिँडेको बताएकी छिन् । घरमा सामान्य झगडा हुँदा आफू घरबाट रिसाएर हिँडेको र त्यसैक्रममा एकजना आन्टीलाई भेटेको उनले बयान दिएकी छिन् । ती आन्टीले आफूले काममा लगाइदिने भन्दै फकाएको र खाजा खान दिएको किशोरीले आफ्नो बयानमा लेखेको जोशीले बताए । 

खाजा खाएपछि आफू लठ्ठ भएको र त्यसको केही समयपछि थाहा नभएको स्थानको एक घरमा आफूलाई पाएको किशोरीले बताएकी छिन् । आफूले उक्त घरमा घरको काम गर्ने गरेको तर आफूलाई घरबाट बाहिर निस्कन नदिएको र बन्धक बनाइएको किशोरीले बयान दिएकी छिन् । आफूलाई विभिन्न मितिमा विभिन्न स्थानमा पुराइएको र ती कुन कुन स्थान हुन् भन्ने आफूलाई थाहा नभएको पनि किशोरी दिल्ली महिला आयोगमा बयान दिएको निर्देशक जोशीले बताए । यद्यपि आफूमाथि कुटपीट नभएको र आफूलाई धेरै कुरा थाहा नभएको उनले बयान दिएकी छिन् ।

किशोरीले ती आन्टी को हुन् भन्नेबारे थाहा नभएको बताएकी छिन् । ती आन्टी को हुन् र कहाँबाट कसरी भेट भयो आदि केही खुलाएकी छैनन् । यद्यपि ती आन्टी पहिले आफूले नचिनेको व्यक्ति भएको किशोरीले बताएकी छिन् । 

कीन इण्डियाका निर्देशक जोशीका अनुसार यतिबेला किशोरीको प्रारम्भिक उद्धार गरी दिल्लीको सेल्टरमा राखिएको र उनको स्वास्थ्य परीक्षण तथा काउन्सिलिङको काम भइरहेको छ । प्रारम्भिक उपचार र काउन्सेलिङको काम सकिएपछि उनलाई पर्सा प्रहरीमा लगी परिवारको जिम्मा लगाउने वा कुनै संस्थामा राख्नेबारे छलफल हुने जोशीले बताए ।

छानबिन हुँदैछ : पर्सा प्रहरी

यता पर्सा प्रहरी भने कीन इण्डियाका निर्देशक जोशीको भनाइभन्दा केही फरक कुरा रहेको बताउँछ । पर्सा प्रहरीका प्रवक्ता डीएसपी ओम प्रकाश खनाल किशोरी हराएको कुरा सत्य भएपनि उनी पूरै अपहरणमै परेका हुन् वा विवाह गरी गएकी हुन् भन्नेबारे अनुसन्धान भइरहेको बताउँछन् । प्रहरीले रकम माग गर्ने युवकलाई पक्राउ गरी अपहरण र शरीर बन्धकविरुद्धको अपराधमा मुद्दासमेत चलाएको छ ।

पर्सा प्रहरीका प्रवक्ता खनालका अनुसार किशोरी एक युवकको प्रेममा रहेको त्यही युवकसँग भागेको हुनसक्ने अनुमान गरिएको छ । खनालले भने, ‘किशोरी एक स्थानीय युवकसँग प्रेममा रहेको पाइएको छ । युवक पनि स्थानीय व्यक्ति नै भएको र किशोरीसँगै युवक पनि हराएको हुँदा किशोरी युवकसँग नै गएको र उनीहरुले विवाह गरेको हुनसक्ने देखिएको छ । अहिले किशोरीलाई उद्धार गरिएको भन्ने जानकारी आएको छ, तर युवक पक्राउ परेका छैनन् भन्ने थाहा भएको छ । त्यसकारण यसबारेमा किशोरीलाई नेपाल ल्याएपछि मात्रै थप जानकारी प्राप्त हुनेछ ।’

डीएसपी खनालका अनुसार किशोरी केही समय पहिले पनि ती युवकसँग भागेर कतै गएको तर उनलाई परिवारले छुटाएर ल्याई घरमै ‘बन्धक’ बनाइएको थियो । घरबाट बाहिर निस्कन नदिएपछि उनी छठ पर्वका दिन घरका सबै सदस्य छठ मनाउन लागेको समयमा घरबाट भागेकी थिइन् । 

अपहरण तथा शरीर बन्धक, जवरजस्ती करणी वा बाल विवाहको कानुन लाग्ने

युवक दलित तथा गरीब परिवारको भएको कारण किशोरीका परिवारले स्वीकार नगरेको कारण पनि यसलाई अपहरण भनिएको हुनसक्ने डीएसपी खनालले बताए । तर किशोरीको उमेर १८ वर्षभन्दा कम भएको कारण विवाह गर्नका लागि योग्य नभएको तर युवकको उमेर १८ वर्षभन्दा बढी भएको कारण विवाह नै गरेको भएपनि त्यसलाई कानुनले अपराध मानेको हुँदा युवकविरुद्ध अपहरहण तथा शरीर बन्धक, जवरजस्ती करणी वा बाल विवाहको कानुन आकर्षित हुनसक्ने डीएसपी खनालले बताए । उनले भने, ‘यसअघि नै हामीले रकम माग गर्ने युवकलाई पक्राउ गरी अपहरण तथा शरीर बन्धकको कसुरमा मुद्दा चलाइसकेका छौँ । अब किशोरीलाई नेपाल ल्याएपछि किशोरीको बयानका आधारमा कुन कसुरमा कसरी जाने भन्ने कुरा अगाडि बढ्छ, अहिले नै यसबारेमा थप केही बोल्न सकिने अवस्था छैन ।’

फिरौती नै नभनौं तर पैसा मागिएको हो : प्रहरी

किशोरी अपहरणमा परी फिरौती रकम माग गरिएको भन्ने सम्बन्धमा प्रहरीले अपहरण र फिरौती नै हो भनेर भन्न नसकिने तर एक युवकले रकम माग गरेको कुरा सत्य भएको पर्सा प्रहरीले बताएको छ । 
डीएसपी खनालका अनुसार एक युवकले किशोरीलाई राखिएको स्थान आफूलाई थाहा भएको भन्दै आफूले उक्त स्थान देखाइदिने तर त्यसबापत आफूलाई रकम दिनुपर्ने माग गरेका थिए । ती युवक दिल्ली र नोयडा आसपास मजदुरी गर्ने युवक भएको र युवकले अपहरण गरी फिरौती असुल्न सक्ने हैसियत नराख्ने खनालले बताए । उनले भने, ‘त्यो युवकले रकम मागेको हो । तर फिरौती भन्दा पनि किशोरी राखेको ठाउँ देखाइदिने भन्दै त्यसवापत केही पैसा आउँछ कि भनेर उसले परिवारसँग पैसा मागेको हो । तर अपहरण गरेको र फिरौतीवापत रकम मागिएको होइन । यसबारेमा पनि थप अनुसन्धान भइरहेको छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

मदन ढुङ्गाना
मदन ढुङ्गाना
लेखकबाट थप