बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

हेटौंडामा बृहत साहित्य महोत्सव हुँदै

बिहीबार, १९ फागुन २०७८, १६ : २७
बिहीबार, १९ फागुन २०७८

आँचल साहित्य कला पुञ्जले हेटौंडामा २ दिने साहित्य महोत्सव हुने भएको छ । मकवानपुरका महिला साहित्यकार संस्था आँचलको आयोजना तथा हेटौंडा उपमहानगरपालिकाको सहयोगमा फागुन २० र २१ गते हेटौंडामा बृहत साहित्य महोत्सव आयोजना गर्ने भएको हो ।

पहिलो पटक हेटौंडामा देशभरका साहित्यकारलाई निम्त्याएर आँचलले साहित्य महोत्सवको आयोजना गर्ने तयारी गरेको आँचलका अध्यक्ष अनिता न्यौपानेले जानकारी दिइन् । साहित्यका विभिन्न विषय तथा समाजसँग जोडिएका विषयवस्तु माथि बहस, अन्तक्रिर्यासहित नेपाली भाषा साहित्यको उत्थान र विकासका लागि महोत्सवको आयोजना गरिएको अध्यक्ष न्यौपानेले बताइन् । 

महोत्सवले मकवानपुरको भाषा, साहित्य, कला, संस्कृति, प्रकृति, पर्यटन, इतिहास, सम्पदा, दर्शन, उद्योग व्यापार र समग्र सामाजिक विकासमा टेवा पुग्ने उनको विश्वास रहेको छ । महोत्सवले समग्र साहित्य, कला, संस्कृति, पर्यटन क्षेत्रको विकासमा महत्वपूर्ण मानिने उनले बताइन् । साहित्यलाई अझ परिष्कृत र बलियो बनाउनका लागि पनि महोत्सव महत्वपूर्ण रहने उनको भनाई छ ।

दुई दिनसम्म सञ्चालन हुने महोत्सवमा देशका विभिन्न स्थानबाट ६० जनाभन्दा बढी साहित्यकारको उपस्थिति रहने संस्थाले जनाइएको छ । हेटौंडाको रोयल पार्टी प्यालेसमा हुने उक्त महोत्सवको फागुन २० गते शुक्रबार उद्घाटन हुनेछ भने महोत्सवमा ‘साहित्यमा राजनीति’, ‘समकालीन कविताको मार्ग चित्र’ र ‘मकवानपुरको साहित्यिक महक’ विषयमाथि बहस तथा रचना वाचन, साङ्गीतिक कार्यक्रम, पुस्तक र कला प्रदर्शनीको कार्यक्रम रहने छ ।

महोत्सव अन्तर्गत ‘साहित्यमा राजनीति’ विषयको बहसका लागि भुपाल राई, धनकुमारी सुनार र घनश्याम घिमिरे वक्ता रहेका छन् भने यसको सहजकर्ता ठाकुर वेलबासे रहेका छन् । त्यसैगरी पर्यटकीय स्थल गुम्बाडाँडामा हुने ‘मकवानपुरको साहित्यिक महक’ विषयको बहसमा भने तारालाल श्रेष्ठ, विना थिङ र सञ्जय साह बहसकर्ता र सुवास खनाल सहजकर्ता रहेका छन् ।

यस्तै ‘समकालीन कविताको मार्ग चित्र’ विषय माथि बहस गर्न भूषिता वशिष्ठ, नेत्र एटम र चन्द्र गुरुङ वक्ता रहने छन् भने यसको सहजीकरण निमेष निखिलले गर्ने छन् । ‘भाषिक दृष्टिले साहित्यमा नारी’ विषयको कार्यपत्र ज्ञानु अधिकारीले प्रस्तुत गर्नेछिन् । कार्यपत्र माथि प्रणेता र राम अविकासले टिप्पणी गर्ने र त्यसमाथि छलफलको कार्यक्रम पनि रहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप