आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

धनुषा काँग्रेस : सभापतिमा तीन जनाको उम्मेदवारी

२३ गते निर्वाचन हुने
बिहीबार, १९ फागुन २०७८, १७ : ३४
बिहीबार, १९ फागुन २०७८

नेपाली काँग्रेसको १४औं महाधिवेशन अन्तर्गत धनुषामा जिल्ला अधिवेशनको लागि बिहीबारबाट चुनावी प्रक्रिया सुरु भएको छ । धनुषा काँग्रेसको जिल्ला निर्वाचनका लागि आजदेखि उम्मेदवारी दर्ता सुरु भएको हो । जिल्लामा ३ जना प्रभावशाली नेताले सभापति पदका लागि दावी गरेका छन् ।

संस्थापन पक्षबाट एक जना र संस्थापन इतरबाट २ जनाले उम्मेदवारी दर्ता गराएका छन् । संस्थापन पक्षबाट वर्तमान जिल्ला उपसभापति सन्तोष यादवले सभापति पदमा मनोनयन दर्ता गराएका छन् भने नेता विमलेन्द्र निधि समूहबाट क्षीरेश्वरनाथ नगरपालिकाका मेयरसमेत रहेका योगेन्द्र पंजियार र शेखर कोइराला समूहबाट संविधानसभा सदस्यसमेत रहेका दिनेश प्रसैला यादवले उम्मेदवारी दर्ता गराएका हुन् ।

यस्तै जिल्ला कार्य समितिको उपसभापतिका लागि ६ जनाले उम्मेदवारी दर्ता गराएका छन्  । उपसभापतिमा गणेश प्रसाद जयसवाल, हरिशंकर साह, राम सोभित दाहा (धानुक ), सुरेन्द्र प्रसाद चौधरी (मुन्ना), गणेश झा र लक्ष्मीनारायण यादवले मनोनयन दर्ता गराएको निर्वाचन समितिले जनाएको छ ।

यस्तै सचिव पदमा ९ जनाले उम्मेदवारी दर्ता गराएका छन् । निर्वाचन समितिका अनुसार नरेश यादव, श्याम चन्द्र यादव, नवल किशोर यादव, प्रभाकर झा, केवल ठाकुर (शर्मा), धिरेन्द्र मोहन झा, शिवशंकर कुमार गोइत, दिपेन्द्र कुमार भडखेर र कन्हैया कुमार कर्णले उम्मेदवारी दर्ता गराएका छन् । सहसचिवमा धर्मनाथ यादव, सुरेश कोइराला, महेश कुमार बस्नेत, इन्द्र कुमार महतो, विजय कुमार यादव र मो. साकिर राइनलगायत ६ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

नयाँ नेतृत्वका लागि सर्वसम्मत हुन नसकेपछि चुनावी प्रक्रियाबाट नेतृत्व चयन हुने भएको छ । निर्वाचनमा ५१ प्रतिशत मत ल्याउने उम्मेदवार विजयी हुने छन् । ५१ प्रतिशतभन्दा कम मत ल्याएमा वा बराबरी मत ल्याएमा पुनः दोस्रो पटक निर्वाचन हुने निर्वाचन समितिका संयोजक अधिवक्ता अर्जुन ज्ञवालीले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप