आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

राप्रपाले केन्द्रीय समितिको संख्या बढाएर २५१ सदसीय बनायो

बिहीबार, १९ फागुन २०७८, १८ : १४
बिहीबार, १९ फागुन २०७८

राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले केन्द्रीय कार्य समितिको संख्या बढाएर २५१ सदस्य बनाएको छ । काठमाडौंमा १८ र १९ फागुनमा बसेको पार्टीको केन्द्रीय कार्यसमितिको बैठकले १९९ सदस्यबाट बढाएर २५१ सदसीय बनाएको हो ।  बैठकले आवश्यकता अनुसार विभागहरुको संख्या थप गर्ने निर्णय गरेको हो ।

बैठकले अध्यक्ष राजेन्द्र लिङ्देनले पेस गरेको राजनीतिक प्रतिवेदन पारित गरेको छ । बैठकले अध्यक्ष लिङ्देनको समसामयिक राजनीतिक परिस्थिति र भावी कार्ययोजनासम्बन्धी राजनीतिक प्रतिवेदन, सचिवालयका प्रमुख उपाध्यक्ष हेमजङ्ग गुरुङको सचिवालयसम्बन्धी प्रतिवेदन र महामन्त्री भुवन पाठकको स्थानीय तहको निर्वाचनको तयारीसम्बन्धी प्रतिवेदनलाई पारित गरेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए । उनका अनुसार प्रदेश कार्य समितिका तर्फबाट प्रदेश अध्यक्षहरूबाट प्रस्तुत प्रतिवेदनहरू परिमार्जनसहित पारित गरिएका छन् ।

यस्तै बैठकले संसदबाट पारित भएको अमेरिकी सहयोग परियोजना एमसीसी सम्बन्धी व्याख्यात्मक टिप्पणी कानुनी व्यवस्था विपरित भएको निष्कर्ष निकालेको छ । बैठकले जिल्ला र सबै तहका विवादित वा निष्क्रिय कार्य समितिहरुका सम्बन्धमा आवश्यक निर्णय लिन उपाध्यक्ष ध्रुबबहादुर प्रधानको संयोजकत्वमा, महामन्त्री राजेन्द्र गुरुङ र केन्द्रीय सदस्य सिर्जना रानी वर्मा सदस्य रहेको समिति गठन गरिएको छ । उक्त समितिलाई २०७८ चैत्र ७ गतेभित्र कार्य सम्पन्न गर्ने समयसीमा दिइएको छ ।

यस्तै मताधिकार भएका तर प्रवासमा रहेका नेपालीलाई आगामी निर्वाचनमा मतदान गर्ने अधिकार तत्काल सुनिश्चित गर्न सरकारसँग माग गर्ने निर्णय बैठकले गरेको छ ।  यस्तै राप्रपाले रुसले   युक्रेनमाथि गरिरहेको आक्रमणको निन्दा गरेको छ । यस्तै स्थानीय तहको निर्वाचनमा दलको निर्वाचन चिन्ह प्रयोग गर्नबाट वञ्चित गर्न नहुने ठहर गरेको छ । बैठकले केन्द्र र प्रदेशका पदाधिकारी तथा सदस्यलाई १६५ वटै निर्वाचन क्षेत्र, सबै स्थानीय तह र वडासम्म स्थानीय तहको निर्वाचन तयारीका लागि एक हप्ता भित्र जिम्मेवारी तोक्ने निर्णय गरेको छ । 
 ​

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप