सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

रातोपाटी ब्रिफिङ : माओवादीमा चर्कियो विवाद, केन्द्रीय समितिमा घमासान

बिहीबार, १९ फागुन २०७८, २१ : ४५
बिहीबार, १९ फागुन २०७८

आज मिति २०७८ साल फागुन १९ गते बिहीबार । आज देशभर भएका मुख्यमुख्य घटनाक्रमलाई रातोपाटीको नियमित प्रस्तुति रातोपाटी ब्रिफिङमा प्रस्तुत गरिएको छ :

१. माओवादीमा विवाद चर्कियो

एमसीसीको विषयलाई लिएर नेकपा माओवादी केन्द्रमा विवाद चर्किएको छ । पार्टीभित्रको नारायणकाजी श्रेष्ठ समूहले अध्यक्ष प्रचण्डको कडा आलोचना गर्दै आएको छ । सोही विषयलाई शुक्रबारको केन्द्रीय समितिमा श्रेष्ठ समूहले सशक्त रुपमा उठाउने तयारी गरेको छ ।

यसैबीच श्रेष्ठले पार्टीमा देखिएको मतभेद र अन्तरविरोधलाई अतिरञ्जित ढंगले नबुझ्न आग्रह गरेका छन् । बिहीबार सामाजिक सञ्जालमा लेख्दै उनले पार्टीभित्र देखिएको अन्तरविरोधलाई अतिरञ्जित ढंगले नबुझ्न आग्रह गरेका हुन् ।

उनले लेखेका छन्, ‘हाम्रा पार्टीभित्र देखिएको मतभेद र अन्तरविरोधलाई लिएर विभिन्न सञ्चार माध्यममार्फत विभिन्न ढंगले प्रचार भइरहेको सम्बन्धमा विषयलाई अतिरञ्जित ढंगले नबुझ्न सबैसँग अनुरोध गर्दछु ।’ अमेरिकी सहयोग परियोजना एमसीसी प्रतिनिधिसभाबाट पास भएपछि माओवादी केन्द्रमा विवाद देखिएको थियो ।

माओवादी केन्द्रीय समितिको बैठक शुक्रबार बस्दैछ । सो बैठकमा एमसीसीको विषयमा चर्काचर्की पर्ने देखिएको छ ।

​२. बजेट सुनिश्चितता

वैशाख ३० गतेको स्थानीय तह निर्वाचनका लागि सरकारले ८ अर्ब ११ करोड बजेट सुनिश्चितता गरेको छ । आयोगले बिहीबार पत्रकार सम्मेलन गरेर निर्वाचन सञ्चालन एवम् व्यवस्थापनका लागि अर्थ मन्त्रालयबाट रु। ८ अर्ब ११ करोड बजेटको सुनिश्चितता प्राप्त भएको जानकारी दिएको हो। 

​३. माओवादी विवादमा मातृका

नेकपा माओवादी केन्द्रका नेता  मातृका यादवले  एमसीसी अनुमोदन अहिलेको आवश्यकता भएको बताएका छन् । साथै उनले एमसीसी अनुमोदन नगरेको भए प्राप्त सबै उपलब्धि गुम्ने खतरा रहेको दाबीसमेत गरेका छन् । यादवले एमसीसी सम्झौता १२ बुँदे व्याख्यात्मक घोषणासहित अनुमोदन गरेकाले अब कुनै संशय राख्न आवश्यक नभएको समेत बताए । नारायणकाजी श्रेष्ठ लगायतका नेताले पार्टी विभाजन गर्न नसक्ने भन्दै उनले एमसीसी अनुमोदनप्रति असन्तुष्टि देखाएर श्रेष्ठले बार्गेनिङ मात्र गरेको दाबी गरे ।

​४ राप्रपाको निर्णय

राप्रपाले अध्यक्ष राजेन्द्र लिङ्देनले पेस गरेको राजनीतिक प्रतिवेदन पारित गर्र्दै विभिन्न १३ बुँदे निर्णय गरेको छ । काठमाडौंमा १८ र १९ फागुनमा बसेको पार्टीको केन्द्रीय कार्यसमितिको बैठकले पेस भएका अध्यक्ष लिङ्देनको समसामयिक राजनीतिक परिस्थिति र भावी कार्ययोजनासम्बन्धी राजनीतिक प्रतिवेदन, सचिवालयका प्रमुख उपाध्यक्ष हेमजङ्ग गुरुङको सचिवालयसम्बन्धी प्रतिवेदन र महामन्त्री भुवन पाठकको स्थानीय तहको निर्वाचनको तयारीसम्बन्धी प्रतिवेदनलाई पारित गरेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।

​५. कोरोना अपडेट

पछिल्लो २४ घण्टामा थप १०५ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । सो अवधिमा दुई हजार ४४८ जनाको पिसीआर परीक्षण गर्दा ७० जना र दुई हजार ४७६ जनाको एन्टिजेन परीक्षण गर्दा ३५ गरी सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो ।

​६. काँग्रेसको भ्रातृ संस्थामा तदर्थ समितिको तयारी

नेपाली काँग्रेसले भंग गरिएका १० वटा भ्रातृ संस्थामा नयाँ कमिटी घोषणाको तयारी थालेको छ । यसका लागि पार्टी सभापति शेरबहादुर देउवाले परामर्श गरिरहेका छन् ।

फागुन ३ गते बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले पार्टीभित्र सबै पक्षसँग परामर्श गरेर फागुन मसान्तभित्र तदर्थ समिति गठनको जिम्मा दिएको थियो । तर, योबीचमा अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन पारित गराउने दौडधुपले  योजनाअनुसार काम नहुँदा चैतको दोस्रो सातासम्म सबै भ्रातृ संस्थामा नयाँ कमिटी घोषणा गर्नेगरी काम भइरहेको छ ।

७. गठबन्धन बैठक

सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले एमसीसी परियोजनालाई ५ वर्ष भित्रमै सक्ने सरकारको लक्ष्य रहेको बताएका छन् । बिहीवार प्रधानमन्त्री निवास बालुवाटारमा भएको सत्तारुढ चार दलको बैठकपछि सञ्चारकर्मीहरूसँग बोल्दै मन्त्री कार्कीले यस्तो बताएका हुन् ।

उनले ५ वर्ष भित्रमा करिब ३१५ मिटर ट्रान्समिसन लाइन र अन्तर्राष्ट्रिय स्तरको सडक निर्माण गर्ने लक्ष्य पूरा गरेर मुलुकको गरिबी निवारण र देशलाई दिगो आर्थिक विकासतर्फ अघि बढाउनतर्फ सरकार रहेको बताए ।

​८. एनआरएनए विवाद

गैरआवासीय नेपाली संघमा (एनआरएनए) को पछिल्लो निर्णयले संस्थाभित्र थप विवाद चर्किएको छ । असन्तुष्ट समूहको विरोधका बीच बुधबार बसेको केन्द्रीय समिति (आईसीसी) को बैठकले  संरक्षक परिषद तथा उच्चस्तरीय समिति खारेज निर्णय गरेको छ ।

​९. भिजिट भिषामा विदेश जान कडाइ

सरकारले भिजिट भिसामा विदेश जाने र उतै लुक्ने विकृति रोक्न कार्यविधि बनाउने भएको छ । झुटो विवरण देखाएर भिजिट भिसामा विदेश जाने र उतै लुक्ने विवरणहरू सार्वजनिक भएपछि सरकारले यस्तो व्यवस्था गर्न लागेको हो ।

भिजिट भिसाबाट सृर्जित समस्या र समाधानको विषय अध्ययन गर्न गठित कार्यदलले गृहमन्त्री बालकृष्ण खाणलाई प्रतिवेदन बुझाउँदै यस्तो व्यवस्था गर्न भनेको छ । मन्त्रालयकै प्रवक्ता फणिन्द्रमणि पोखरेल नेतृत्वको कार्यदलले भिजिट भिसामा कडाई गर्नुपर्ने प्रतिवेदन मन्त्री खाणलाई बुझाएको हो ।

​थप समाचार

 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप