आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

बिदा भए राष्ट्रियसभाका २० सांसद : सुनाए ४ वर्षको यस्तो अनुभव

शुक्रबार, २० फागुन २०७८, १९ : ५०
शुक्रबार, २० फागुन २०७८

राष्ट्रिय सभामा ४ वर्षे कार्यकाल सम्पन्न गरेका २० सांसदहरुको बिदाई भएको छ । ४ बर्षे कार्यकाल सकिएर एमालेका ८ जना, माओवादी केन्द्रका ४, नेकपा एकीकृत समाजवादीका ४, नेपाली काँग्रेसका ३ जना र राष्ट्रपतिबाट मनोनित १ जना गरी २० सांसदको कार्यकाल सकिएको हो । उनीहरुको काठमाडौंमा एक होटलमा कार्यक्रम गरी राष्ट्रिय सभा अध्यक्षले शुक्रबार बिदाई गरे ।

कार्यकाल सकिएर बिदाई हुन लागेका सांसदहरुमा एमालेबाट सुमनराज प्याकुरेल, कोमल वली, अगमप्रसाद बान्तावा राई, कविता बोगटी, चक्र स्नेही, नैनकला ओझा, परशुराम मेघी गुरुङ र रामलखन चमार रहेका छन् । यस्तै माओवादी केन्द्रबाट राष्ट्रिय सभा उपाध्यक्ष शशीकला दाहाल, खिमकुमार विक, जीवन बुढा र दिनानाथ शर्मा रहेका छन् । नेकपा एकीकृत समाजवादीबाट उदया शर्मा पौडेल, ठगेन्द्रप्रकाश पुरी, शान्तिकुमारी अधिकारी जिसी र शेरबहादुर कुँवर रहेका छन् ।

नेपाली कांग्रेसबाट राधेश्याम अधिकारी, दृगनारायण पाण्डेय र तारादेवी भट्ट रहेका छन् । यस्तै राष्ट्रपतिबाट मनोनित भएका सांसद रामनारायण विडारीको पनि कार्यकाल सकिएको हो । रातोपाटीले यी सांसदमध्ये केही सांसदको ४ बर्षे कार्यकालको अनुभूति समेटेको छ ।

ल्याण्डमार्क केसहरु स्थापित गरेका छौँ : रामनारायण विडारी

संविधान जारीपछि कानून बनाउने क्रममा राष्ट्रिय सभामा आइयो । देशलाई अत्यन्तै आवश्यक पर्ने महत्वपूर्ण कानूनहरु विस्तृत रुपमा मसिनो रुपमा बनाउने क्रममा धेरै सुधार गर्न सकियो । प्रत्यायोजित व्यवस्थापन सहायक कानून बनाउने अधिकार दिने विषयमा पनि राम्रो रुपमा भूमिका खेलियो । यो ४ बर्षको कार्यकालमा सांसदको काम कानुन बनाउने हो, नीति बनाउने हो भन्ने तथ्यलाई पनि राम्रोसँग स्थापित गरियो ।

नेपाल सरकार, संवैधानिक अंग, सर्वोच्च अदालत लगायत कानुनद्वारा स्थापित विभिन्न निकायहरुले सहायक कानुन बनाउँदा होस गर्नुपर्छ है, मनलागी कानुन बनाउन पाइँदैन, कानुन प्रकाशन नगरी लागू गर्न पाइँदैन, कानुन संसद्लाई जानकारी नगराई लागू गर्न पाईंदैन भन्ने विषयमा राम्रोसँग सबै निकायलाई झक्झक्यायौं । बेठीक भएका कुरालाई यसरी बदर हुन्छ है भनेर नमुनाका रुपमा केही सहायक कानुनलाई उल्टाइदिने, खारेज गरिदिने, निष्क्रिय पारिदिने, बदर गरिदिने, बदर गर्नका निम्ति अल्टिमेटम दिनेसम्मका कामहरु गर्यौं । त्यसैले यो अवधिमा हामीले गरेका कामबाट म सन्तुष्ट छु । कार्यकाल राम्रोसँग बित्यो ।

चिन्ताको कुरा भने पछिल्लो समय कोभिड १९ र राजनीतिक अस्थिरताको कारणले काममा केही बाधा पर्यो, रफ्तारमा काम अघि बढ्न सकेन् । राष्ट्रिय महत्वका दस्तावेज पनि नेपालले कसरी राख्नुपर्छ, ती दस्तावेज के हुन्, त्यसको कसरी संरक्षण गर्ने, सरकारले दिएको आश्वासन कसरी कार्यान्वयन गर्ने भन्ने विषयमा पनि एउटा ल्याण्डमार्क केसहरु स्थापित गरेका छौँ । अब पछि काम गर्नका लागि सहज बनाइएको छ ।

हामी बिदा हुनुभन्दा पहिला संसद्मा आफ्ना कुराहरु राखेर, आफ्ना कुराहरु सुनाएर जानुपर्नेमा त्यो कामको भित्री बाधक केपी शर्मा ओली र बाहिरी रुपमा राष्ट्रिय सभाका अध्यक्ष रहनु भयो । बैठकको दिन तोकेर हाम्रा अनुभूति जनतामा साक्षात्कार हुने गरी राख्न र त्यो रेकर्ड गराउने कार्यका लागि एक नम्बरमा ओली बालाई बोलाएर देखिने गरी राष्ट्रिय सभा अध्यक्षले त्यो कार्य गरेको भए हुन्थ्यो । उहाँले त्यो गर्न सक्नुभएन वा चाहनुभएन । एकैचोटी हामीलाई दालभात खुवाएर होटलबाट बिदाई गर्ने कार्यक्रम गरियो  ।

मैले कहिल्यै बैठक छाडिन : कोमल वली

२०७२ सालमा संविधान बनेपछिको पहिलो राष्ट्रिय सभाको पहिलो सदस्य हुने अवसर पाएँ, यसमा म अत्यन्तै खुसी छु । मलाई यो अवसर दिने पार्टी र पार्टीको अध्यक्षप्रति आभारी छु । यो सदनमा रहेका बेला मैले सदनको कामकारवाहीलाई बढी बढी भन्दा बढी सदुपयोग गरेँ । राष्ट्रिय सभामा प्रवेश गर्दा मलाई ठूलो जिम्मेवारीबोध भएको थियो भने चुनौतीहरु पनि थिए । राष्ट्रिय सभामा सबैभन्दा ठूलो दल नेकपाको सदस्य थिएँ, राष्ट्रिय सभामा रहँदा रहँदै दुईटा पार्टी भयो । जसले राजनीति भनेको चुनौतीपूर्ण कुरा रैछ भन्ने कुरा मलाई सिकायो ।

मैले कहिल्यै राष्ट्रिय सभाको बैठक छाडिन । राष्ट्रिय मुद्दालाई, जनताको आवाजलाई बुलन्द बनाउ मैले यो अवसर हो भन्ने हिसावले बैठकमा सहभागी भएँ । धेरै पटक शून्य समय र विषेश समयमा समय लिएर बोलेँ ।

सरकारको जिम्मेवारीलाई नजिकबाट नियाल्ने कामको रुपमा पनि मेरो ४ बर्षको समय बित्यो । मूलतः दलगत सीमाभन्दा माथि उठेर देश र जनताको सुख समृद्धिका लागि आफ्नो विवेक प्रयोग गरेँ । सधैं राष्ट्र र राष्ट्रियताका विषयमा संवेदनशील भएर तद्अनुसारका मुद्धामा आफ्ना मत राखेँ । देश र जनताको समृद्धिको सवालमा सबै एक ठाउँमा उभिन निर्विकल्प जरुरी छ भन्ने कुरा बुझेँ । पटक पटक सरकार बदलिँदै आएपनि देश अपेक्षाकृत सम्पन्न बन्न नसक्नुमा हामीभित्र रहेको दलगत ब्यक्तिगत स्वार्थ तथा विखण्डीत मानसिकता हो भन्ने कुरा बुझेँ ।

राष्ट्रिय सभाबाट धेरै राम्रा विधेयकहरु पारित भए । धेरै राम्रा मुद्दाहरु हामीले उठायौँ । संकल्प प्रस्तावहरू गर्यौँ । सर्वसम्मत निर्णयहरु गर्यौँ । यसरी राष्ट्रिय सभामा रहँदा हामीले धेरै महत्वपूर्ण कामहरु गर्न सक्यौँ ।

मिश्रित अनुभव रह्यो : राधेश्याम अधिकारी 

राष्ट्रिय सभामा रहँदाको मेरो मिश्रित अनुभव रहेको छ । सुरुका दुई बर्ष संसदमा राम्रोसँग काम भएको थियो । हाम्रो मुख्य काम कानुन बनाउने हो । राष्ट्रिय सभामा आएका बिधेयकहरु अहिलेसम्म कुनै पनि थाती राखिएको छैन । अहिलेसम्म हाम्रो हातमा भएका सवै विधेयकहरुको काम सकिएको छ ।

कानुन बनाउने कुराको राष्ट्रिय सभाको कामले सन्तुष्ट भएपनि प्रतिनिधि सभाको काम सन्तोषजनक भएन । हामीले पारित गरेर पठाएका विधेयकहरु फर्केर आएको छैन । ती विधेयकहरु पास हुन नसक्दा दुःख लागेको छ । धेरै मिहिनेत गरेर बनाएका ४२ वटा विधेयक प्रतिनिधि सभामा थन्किएर रहेको छ । हामीले सिंगो संसदबाट भन्दा पनि आफू बसेको समितिहरुबाट केही न केही कामहरु गर्न सक्यौं भन्ने लाग्छ ।

म राष्ट्रिय सभाको दुईवटा समितिमा बसेँ ।  प्रत्यायोजन व्यवस्थापन तथा सरकारी आश्वासन समितिमा बस्दा हामीले ३ क्षेत्रका लागि काम गर्यौँ । त्यो समितिमा बसेर काम गर्दा सरकारले बनाएको कानुन बेहाल अवस्थामा रहेको पायौँ । त्यस बारेमा हामीले सबै निकायलाई संवेदनशील बनाएका छौँ । त्यस्तै हाम्रो राष्ट्रिय अभिलेखहरू ठीक ढंगले नराखेको सन्दर्भमा महत्वपूर्ण लिखतहरु, महत्वपूर्ण सम्झौताहरूको व्यवस्थापनका सन्र्दभमा हाम्रो महत्वपूर्ण काम भएको छ । यी कुराहरु हाम्रा सवल पक्षहरू भए ।

हाम्रा दुर्बल पक्ष के लाग्छन् भने, हामीले राष्ट्रिय सभामा प्रश्नोत्तर गर्न सक्नुपर्थ्यो । राष्ट्रिय सभालाई राम्रोसँग सञ्चालन गर्न सक्नुपर्थ्यो, त्यो गर्न सकिएन । राष्ट्रिय सभामा केही अवरोध नभएपनि प्रतिनिधि सभाको अवरोधले राष्ट्रिय सभालाई पनि असर गर्यो । आगामी दिनमा त्यस्तो नहोस् भन्ने कामना छ । दोश्रो कुरा संकल्प प्रस्तावहरू राष्ट्रिय सभामा कम भयो । विभिन्न प्रकारका ध्यानाकर्षण प्रस्ताव राख्नुपर्नेमा हामीले राख्न सकेनौँ । समग्रमा ४ वर्ष अवधिमा हामीले जति गर्न सक्यौँ, त्यसमा म सन्तुष्ट नै छु ।

पछिल्लो दुई बर्ष फलदायी भएनः दिनानाथ शर्मा

राष्ट्रिय सभाको मेरो ४ बर्षे कार्यकाल मध्ये पहिलो २ बर्ष अत्यन्तै उत्साहजनक रह्यो, उपलब्धिमूलक सकारात्मक रह्यो । पछि तीन चार वटा कारणले राष्ट्रिय सभा राम्रोसँग सञ्चालन हुन सकेन । कोभिडले पनि असर गर्यो । दोश्रो राजनीतिक कारणले दुई दुई पटक संसद विघटन भयो । प्रतिनिधि सभाको विघटनले राष्ट्रिय सभालाई पनि असर गर्यो । पछि एमालेले प्रतिनिधि सभाको बैठक अवरुद्ध गरेपछि यता राष्ट्रिय सभाको काम पनि रोकियो । त्यसैले, बाँकी दुई बर्ष भने त्यति उपलब्धिमूलक हुन सकेन ।

राष्ट्रिय सभा र यसका समितिहरूको काम कारवाहीमा मलाई सन्तोष नै छ । पहिला सुरुमा सत्ता पक्षको नेकपाको दलको नेता नै भएँ । राष्ट्रिय सभा भनेको नयाँ संविधानअनुसार नयाँ व्यवस्था थियो । संविधानमा भएको संवैधानिक व्यवस्था अनुसारको मौलिक हकसँग सम्बन्धित कानुन फाष्ट ट्रयाकमा बनायौँ । प्रतिनिधिसभाबाट गएको विधेयक र हाम्रो सभामा उत्पन्न भएको विधेयकलाई निकास दिने, परिणाम निकाल्ने काम गर्यौँ । त्यसमा हाम्रो निकै सक्रियता रह्यो र हामीले थुप्रै कानुन बनायौँ ।

विधेयकमाथिको काम गर्दा राष्ट्रिय सभामा अल्झिने, अड्किने भएन । परिपक्व तरिकाले संसोधन गर्ने पारित गरेर विधेयकहरुलाई निकास दिने काम गर्यौँ । राष्ट्रिय सभामा रहेका ४ समितिले पनि आफ्नो स्थानबाट गर्नुपर्ने कामहरु प्रभावकारी ढंगले गरे । समितिको कार्यादेश, क्षेत्राधिकार निर्धारण गरेर त्यसलाई सक्रिय पार्ने काम भयो । अहिलेसम्म पनि समितिहरुले सकारात्मक रुपमा नै काम गरेका छन् । अब राष्ट्रिय सभाबाट बाहिरिएपछि पनि पहिलेजस्तै जनताका काम, विकास निर्माणका काम, आफ्ना अनुभव शेयर गर्ने क्रममा अघि बढ्नेछु ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शम्भु दंगाल
शम्भु दंगाल

शम्भु दंगाल संसदीय मामिला, पुनर्निर्माण र समसामायिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप