आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

पाकिस्तानको मस्जिद विस्फोटबाट मृत्यु हुनेको सङ्ख्या ५० पुग्यो

शुक्रबार, २० फागुन २०७८, २० : ०२
शुक्रबार, २० फागुन २०७८

पाकिस्तानको उत्तर पश्चिमी पेशावर शहर खैबर पख्तुनख्वा प्रान्तको एक मस्जिदमा शुक्रबार भएको शक्तिशाली विस्फोटमा परी मृत्यु हुनेको सङ्ख्या ५० पुगेको अस्पताल तथा प्रहरी अधिकारीहरूले जनाएका छन् । यद्यपि उक्त घटनामा मृत्यु हुनेको सङ्ख्या शुक्रबार साँझसम्म ५६ पुगेको अधिकारीहरूलाई उद्धृत गरी एजेन्सी फ्रान्स प्रेस (एएफपी) ले उल्लेख गरेको छ ।

आक्रमणमा घाइते भएका अधिकांशलाई पेशावरस्थित लेडी रिडिङ अस्पतालमा ल्याइएको र उनीहरूको उपचार भइरहेको अस्पतालका प्रवक्ता मुहम्मद असिमले सिन्ह्वालाई बताए । गम्भीर रूपमा घाइते रहेका २० जनाको मृत्यु भएपछि मृतक सङ्ख्या ५० भन्दा बढी पुगेको बताइएको छ । अन्य करिब २०० जना घाइते भएका र ५० देखि ६० जनालाई गहिरो खालको चोट लागेको र उनीहरूको अस्पतालमा उपचार भइरहेको उनले बताए । थप १० देखि १५ जनाको अवस्था गम्भीर रहेको पनि उनले बताए । घाइतेको उपचारका लागि आकस्मिक अवस्था घोषणा गरिएको र थप चिकित्सकलाई अस्पताल बोलाइएको छ । 

पेशावरका प्रहरी परिचालन प्रमुख वरिष्ठ सुपरिटेन्डेन्ट हरुन राशेदले सिन्ह्वासँग बताए अनुसार दुई जना आतङ्ककारीले मस्जिदमा प्रवेश गर्न खोजेको र त्यहाँ ड्युटीमा रहेका प्रहरी कर्मचारीसँग भएको तनावपछि आत्मघाती आक्रमण गरेको बताए । घटनामा एक प्रहरीको मृत्यु भएको र एक जना गम्भीर घाइते भएको बताइएको छ । 

प्रारम्भिक अनुसन्धानपछि अधिकारीले यो सर्वसाधारणलाई लक्षित गरी गराएको आत्मघाती बम विस्फोट भएको बताएका छन् । प्रत्यक्षदर्शी मश्ताक खानले सिन्ह्वालाई प्रार्थनाको समयमा विस्फोट भएको र मस्जिदको दुई तले भवनमा ठूलो सङ्ख्यामा उपासकहरू उपस्थित भएको बताए । उनले भने “ठूलो विस्फोटपछि कतिपय मृत शरीरबाट उछिट्टिएका शरीरका भागहरू देखिएका थिए भने आक्रमणबाट घाइते भएका मानिसहरु सहयोगको लागि रोइ कराइ गरिरहेका देखिएको थियो । यो मैले आफ्नो जीवनमा देखेको सबैभन्दा ठूलो विस्फोट थियो ।” 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप