बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

सलाम सुखानी

शनिबार, २१ फागुन २०७८, १७ : १८
शनिबार, २१ फागुन २०७८

सलाम सुखानी,
तिम्रो बलिदानीलाई,
जसको कारण 
हामी आज गणतन्त्रको सुनौलो किरणको
न्यानोपनमा पल्लवित भइरहेका छौं
प्रिय सुखानी,
हामी कसरी भुल्न सक्छौं
तिम्रो युगचेतना
जसले नेपाली भूमिमा 
सामन्तवाद र साम्रज्यवाद विरुद्धको
रातो झण्डा फर्फरायो । 
निडर सुखानी,
हामी नतमस्तक छौं
तिम्रो हिम्मतिलो ललकार
ती कायर सत्ताधारीहरु विरुद्धको
जसले वीर पुरुषहरु 
रामनाथ, वीरेन, नेत्र र नारायणलाई
गोली ठोके,
ती आततायीहरुलाई के थाहा ?
ती सहिदका रक्तबीजबाट 
हजारौं होनाहार क्रान्तिवीरहरु 
जन्मनेछन् 
अनि 
सामन्ती सत्ता उल्ट्याउने छन् भनेर ।
प्यारो सुखानी
तिमीले वर्गशत्र्रु खत्तम गर्ने उद्घोष गर्दै 
झापा विद्रोह गर्यो
त्यसको ताप र रापले 
सिंगो नेपाललाई लपेट्यो 
जसको परिणाम 
समाजवादउन्मुख दिशातर्फ 
हिँडिरहेको छ मुलुक ।
तर केही रङ फेर्ने छेपाराहरु 
शाकाहारी भएको उद्घोष गर्ने 
बुढा सिंह, गोही र गिद्धहरु
आज पनि 
यत्रतत्र सलवलाईरहेका छन्
न्यायोचित समाजवादी सपनामाथि
धावा बोल्न,
तर
चिन्ता नगर सुखानी
अव हजारौं होइन 
लाखौलाख कमरेडहरु जन्मिसकेका छन्
क्रान्तिको झण्डा उठाउन तम्तयार
अन्तिम क्षणसम्म । 

  मयूरबस्ती, बर्दिया
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप