बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

महाकाव्य ‘विश्रान्त’ सार्वजनिक

आइतबार, २२ फागुन २०७८, ११ : ०७
आइतबार, २२ फागुन २०७८

कवि रूपक अलङ्कारको नवीनतम् महाकाव्य ‘विश्रान्त’ सार्वजनिक भएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित एक कार्यक्रमका बीच प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव प्रा. जगतप्रसाद उपाध्याय, समालोचक प्राडा. रामप्रसाद ज्ञवाली, महेश पौड्याल, शैलेन्द्र अधिकारीलगायतले उक्त कृतिको विमोचन गरेका हुन् ।  फुटकर कविता र निबन्ध लेख्दैआएका अङ्लकारले पहिलो कृतिका रूपमा महाकाव्य प्रकाशनमा ल्याएका हुन् ।

सदस्य सचिव उपाध्यायले यो कृतिले नेपालका राजनीतिक नेतृत्वमा देखिएको व्यक्तिवादको चरित्रलई काव्यिक तरिकाले झापड हानेको बताए । विचार र कला सौन्दर्यको हिसाबले कृति अब्बल रहेको भन्दै उनले भने “महाकाव्यले नेपालको पछिल्लो २५ वर्षमा भएको राजनीतिक परिवर्तनमा एक व्यक्तिले गरेको सङ्घर्षलाई बृहत् रूपमा प्रस्तुत गरेको छ ।” 

पुस्तकमा रहेको मुख्य पात्रले भोगेको जीवनचरित्र अहिलेको राजनीतिक नेतृत्वको प्रतिविम्ब रहेको ज्ञवालीले प्रकाश पारे । ज्ञवालीले भने, “समाजले साहित्यलाई अनुत्पादक ठाने पनि यस कृतिले नेपाली समाजले भोगेको राजनीतिक सङ्घर्षमा एक व्यक्तिको राजनीतिक आरोह–अवरोहमार्फत समाजको चित्रण गरेको छ ।”

समालोचक महेश पौड्यालले सुदूर गाउँबाट अवसरका लागि आएको एक पात्रले गर्ने क्रान्ति र त्यो क्रान्तिको मिलन बिन्दुमा पुग्दा के प्राप्त गर्छ भन्ने प्रश्न कृतिले उठाएको बताए । नयाँ समाजको परिकल्पनामा क्रान्तिमा होमिएको एक व्यक्ति क्रान्ति असफल हुँदा कि साधु बन्ने कि आत्महत्या गर्ने बताउँदै उनले भने– “समग्रममा भन्दा यस कृति साधुले सुनाएको वृत्तान्त नै महाकाव्यको मुख्यविन्दु हो ।” 

पछिल्लो समयमा आएका महाकाव्यभन्दा यस महाकाव्यमा फरकपन रहेको उनले बताए । “यस महाकाव्यमा परम्परागत शैलीलाई पनि छोडेको छैन भने नयाँ प्रयोग पनि गरिएको छ”, पौड्यालले भने, “यस्तो भन्दै गर्दा कृति त्रुटिरहित भने छैन । कृतिले प्रश्न मात्र गरेको छ । जबाफको खोजी भने गरेको छैन ।”  

समालोचक शैलेन्द्र अधिकारीले महाकाव्यको महत्त्व साहित्यमा व्यापक रहे पनि यसलाई पढ्ने पाठकको कमी भइरहेको र त्यसको खोजी गर्नुपर्ने धारणा व्यक्त गरे । “नेपालका विश्वविद्यालयमा एकाध महाकाव्यको मात्र पढाइ हुन्छ; जसले गर्दा हामीले महाकाव्यको महत्त्वलाई बढोत्तरी गर्न सकेका छैनौँ”, अधिकारीले भने, “महाकाव्य पढ्ने पाठकको वृद्धि गर्न यो कृति सफल हुनेमा म विश्वस्त छु ।”
उक्त महाकाव्यलाई शिखा बुक्सले प्रकाशनमा ल्याएको हो । पुस्तकको मूल्य ३ सय ७५ छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप