मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

प्रेम सम्बन्धपछि विवाह गरेर धोका, श्रीमती खोज्दै सिरहा पुगेपछि हत्या

अभियुक्त श्रीमान पक्राउ
आइतबार, २२ फागुन २०७८, १८ : ३२
आइतबार, २२ फागुन २०७८

सिरहामा प्रेम गरेर विवाह बन्धनमा बाँधिएपछि एक युवकले श्रीमतीको हत्या गरेको आरोप लागेको छ । विवाहको महिना दिन नबित्दै हत्या गरेको आरोपमा प्रहरीले श्रीमानलाई पक्राउ गरेपछि घटना बाहिर आएको हो । 
कर्जन्हा नगरपालिका वडा नम्बर ७ बस्ने २३ वर्षीय अमर राउतलाई २२ वर्षीया श्रीमती पूजा सिंह भनिने पूजा कुमारी पोदारको हत्या गरेको आरोपमा पक्राउ गरिएको सिरहा प्रहरी प्रवक्ता समेत रहेका प्रहरी नायव उपरीक्षक सुभाष बुढाथोकीले जानकारी दिए । सामाजिक सञ्जाल फेसबुकबाट चिनजान भएपछि उनीहरुबीच प्रेम सम्बन्ध कायम भएको थियो । प्रेममा परेपछि गुपचुपरुपमा दुवैले आ–आफ्ना परिवारजनलाई जानकारी नै नगराई गत माघ २७ मा मन्दिरमा विवाह गरेका थिए । 

गत मंगलवार कर्जन्हा नगरपालिका वडा नम्बर ७ स्थित कमला नदी किनारको काँसघारीमा काठमाडौंको जैशिदेवलकी २२ वर्षीया पूजाको शव फेला परेको थियो । सो घटनाको अनुसन्धानको क्रममा मृतकका श्रीमान अमरलाई शुक्रबार पक्राउ गरिएको प्रहरी प्रवक्ता बुढाथोकीले बताए । वैदेशिक रोजगारीको क्रममा कतारमा रहेको समय अमर र पूजाबीच प्रेम झाँगिएको थियो । सामाजिक सञ्जालमा चिनजान भई एक वर्षदेखि नियमित सम्पर्कमा रहेका अमर माघ १३ मा नेपाल फर्केपछि  माघ २७  मा  काठमाडौंको भद्रकाली मन्दिरमा विवाह भएको थियो । जुन कुरा आरोपीले प्रहरीमा बयान दिएका छन् । विवाह गरेर दुवैजना काठमाडौं बाफलमा कोठा भाडामा लिई बस्दै आएका थिए ।

प्रेमिकासँग विवाह गरेर अमरले आफ्नो घरमा कुराकानी गर्दा घरपरिवारले नस्विकारेपछि घरपरिवारलाई मनाउन घर आएका थिए । तर घर आएपछि उनी फर्केनन् । त्यसपछि पूजा फागुन १६ मा अमरलाई खोज्दै जाँदा  सिरहाको बस्तिपुर चोक पुगेर प्रेमी अमरलाई फोन गर्दै लिन आउन भनेपछि उनले आफू बाहिर रहेकाले साँझसम्म घर आउने बताएका थिए । अमरले पूजा आफूलाई खोज्दा खोज्दै आएपछि आफ्नो साथीसँग सल्लाह गरेर हत्याको योजना बनाई कमला नदीको किनारमा लगि घाँटी थिचेर हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । 

प्रहरीका अनुसार पूजाबारे घर परिवारलाई मनाउन आएकोमा उल्टै उनी धनुषाकी अर्की युवतीसँग विवाह गर्न राजी भएका थिए । तर पूजा अचानक आएपछि विवाहमा असर पर्ने देखेर अमरले साथीहरुसँग मिलेर उनको हत्या गरेको प्रहरीले जनाएको छ । यस घटनामा संलग्न अन्य व्यक्तिहरु भने फरार छन् । फरार अभियुक्तहरूको खोजी कार्य जारी रहेको सिरहा प्रहरीले बताएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप