सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

रातोपाटी ब्रिफिङ : प्रतिनिधिसभा विघटन गर्ने कसरतमा सत्तापक्ष ! महाभियोग प्रक्रिया अघि बढाउन सिफारिस समिति

आइतबार, २२ फागुन २०७८, २० : ५७
आइतबार, २२ फागुन २०७८

आज २०७८ फागुन २२ गते आइतबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘सन्ध्याकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौं–
आजका मुख्य समाचारमा प्रतिनिधिसभा विघटन गर्ने कसरतमा सत्तापक्ष !, प्रधानन्यायाधीश विरुद्धको महाभियोग प्रक्रिया अघि बढाउन सिफारिस समिति गठन, अभिनेता पल शाह थप १२ दिन थुनामै रहने, व्यापारी मृत्यु प्रकरणमा प्रहरी सहायक निरीक्षकविरुद्ध किटानी जाहेरी, दमौलीमा आगलागी नियन्त्रणमा हेलिकप्टर परिचालन, पदाधिकारी चयनमा लफडा बढेपछि माओवादी केन्द्रको बैठक स्थगित, कोरोना संक्रमण दर घट्यो तर जोखिम कायमै लगायत छन् ।

१.प्रतिनिधिसभा विघटन गर्ने कसरतमा सत्तापक्ष !
केपी शर्मा ओली नेतृत्वको तत्कालीन सरकारले दुई पटकसम्म प्रतिनिधिसभा विघटनका लागि गरेको प्रयास सर्वोच्च अदालतले विफल तुल्याएको अवस्थामा वर्तमान सरकारले पनि प्रतिनिधिसभालाई पूरा कार्यकाल टिकाउनभन्दा विघटनकै बाटो समात्ने संकेत देखिएको छ । सत्ता पक्षकै केही नेताले संसदमा जारी एमालेको अवरोधलाई कारणका रुपमा देखाउँदै प्रतिनिधिसभा भङ्ग गर्न सकिने बताएका छन् । यद्यपि, सत्ता पक्षकै केही नेता भने प्रतिनिधिसभा विघटन गर्न नहुने पक्षमा देखिएका छन् ।

 

२.प्रधानन्यायाधीश विरुद्धको महाभियोग प्रक्रिया अघि बढाउन सिफारिस समिति गठन
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध ल्याइएको महाभियोग प्रकृया अघि बढाइएको छ । सोही क्रममा आइतबार प्रतिनिधिसभा बैठकले ११ सदस्यीय सिफारिस समिति गठन गरेको छ । समितिमा प्रमुख प्रतिपक्ष नेकपा एमालेका सांसदलाई पनि समेटिएको छ । सो समितिले प्रधानन्यायाधीश जबराको समेत बयान लिन सक्ने छ ।

​३.अभिनेता पल शाह थप १२ दिन थुनामै रहने
नाबालिग गायिकालाई बलात्कार गरेको आरोपमा हिरासतमा रहेका अभिनेता पल शाह थप १२ दिन थुनामै रहने भएका छन् । आइतबार तनहुँ प्रहरीले पल शाहलाई अदालतमा पेस गरी अनुसन्धानका लागि १२ दिन म्याद थप गराएको हो । यसअघि अदालतले उनलाई सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको थियो । उक्त म्याद अनुसन्धानका लागि अपुग भएको भन्दै प्रहरीले म्याद थप गर्न अदालतसमक्ष माग गरेको थियो ।

 

४. व्यापारी मृत्यु प्रकरणमा प्रहरी सहायक निरीक्षकविरुद्ध किटानी जाहेरी
सुर्खेतमा कालिकोटका व्यापारी कृष्ण हमालको मृत्युमा प्रहरीकै संलग्नता रहेको भन्दै किटानी जाहेरी दर्ता भएको छ । प्रहरी सहायक निरीक्षक शेरसिंह ​धामीविरुद्ध कर्तव्य ज्यानसम्बन्धी कसुरमा किटानी जाहेरी दर्ता भएको हो ।​

५. दमौलीमा आगलागी नियन्त्रणमा हेलिकप्टर परिचालन
तनहुँको दमौली चोकस्थित हार्डवेयर पसलबाट फैलिएको आगो नियन्त्रणमा हेलिकप्टर प्रयोग गरिएको छ । बजार क्षेत्र नै आगलागीको जोखिममा परेपछि हेलिकप्टरले मादी नदीको पानी ल्याएर आगो निभाउन सहयोग गरेको हो । आगो निभाउन ७ वटा दमकलसमेत परिचालन गरिएको थियो ।

 

६. पदाधिकारी चयनमा लफडा बढेपछि माओवादी केन्द्रको बैठक स्थगित
नेकपा माओवादी केन्द्रले पदाधिकारी चयनमा लफडा बढेपछि केन्द्रीय समिति बैठक स्थगित गरेको छ । बैठकको तयारी नपुगेको भन्दै आइतबार बस्ने भनिएको बैठक स्थगित गरिएको हो । स्थगित बैठक सोमबारका लागि बोलाइएको छ । बैठकमा पदाधिकारी चयनबारे छलफल हुने बताइए पनि सहमति जुट्न नसक्दा स्थगित भएको स्रोतको भनाइ छ ।

 

७. कोरोना संक्रमण दर घट्यो तर जोखिम कायमै
नेपालमा कोरोना संक्रमण दर घटेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६७ जनामा संक्रमण पुष्टि भएको छ । यद्यपि नयाँ भेरियन्टको खतरा कायमै रहेकाले सावधानी अपनाउन जरुरी रहेको मन्त्रालयका सहायक प्रवक्ता डा. समिर कुमार अधिकारी बताउँछन् ।

 

८. नेकपा एकीकृत समाजवादीले बोलायो बैठक
चुनाव र एमसीसीबारे छलफल गर्न सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी) ले पोलिटब्युरो र केन्द्रीय कमिटी बैठक बोलाएको छ । पोलिटब्युरो बैठक फागुन २३ गते सोमबार र केन्द्रीय कमिटी बैठक फागुन २५ तथा २६ गते बस्नेगरी बोलाइएको हो । 

 

९. डेढ करोड रुपैयाँसहित हुन्डी कारोबारी पक्राउ
प्रहरीले काठमाडौंको बाफलबाट १ करोड ५० लाख नगदसहित हुन्डी कारोबारीलाई पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाको टोलीले काठमाडौंको बाफल बस्ने ३२ वर्षीय भारतीय नागरिक अमित अग्रवाललाई पक्राउ गरेको हो । 

 

१०. साताको पहिलो दिन नेप्सेमा सामान्य गिरावट
सेयर बजार परिसूचक नेप्सेमा साताको पहिलो दिन आइतबार सामान्य गिरावट आएको छ । आइतबार नेप्सेमा ३.६६ अंकको गिरावट आएको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से सूचक ३.६६ अंकले घटेर २५ सय ४३.३९ विन्दुमा झरेको छ ।

 

११. र यो पनि,
बलात्कार गरेको कसुरमा प्रहरीको नियन्त्रणमा रहेका मुगुका एमाले सांसद मोहन बानियाँ निलम्बित भएका छन् । आइतबार बसेको प्रतिनिधि सभाको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले सांसद बानियाँ निलम्बित भएको जानकारी गराए ।

 

भक्तपुरका दुई वटा कुखुरा फार्ममा बर्डफ्लु देखिएको छ । जिल्लाको सूर्यविनायक नगरपालिका वडा नम्बर १०, चित्तपोलमा रहेका तीन वटा पोल्ट्री फार्मका कुखुरामा बर्डफ्लु भेटिएको प्रमुख जिल्ला अधिकारी रुद्रदेवी शर्माले जानकारी दिइन् ।  

 

नेपाली बजारमा करिब डेढ वर्षपछि सुनको मूल्य प्रतितोला १ लाख रुपैयाँभन्दा माथि पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका गत वर्ष २०७७ सालको भदौ यता पहिलोपटक सुनको मूल्य १ लाख रुपैयाँभन्दा बढी भएको हो ।

 

 

 


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप