मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

नोबेलले अटेरी गर्‍यो, कारबाही हुन्छ : चिकित्सा शिक्षा आयोग

सोमबार, २३ फागुन २०७८, १५ : ४०
सोमबार, २३ फागुन २०७८

चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष प्रा.डा. श्रीकृष्ण गिरीले विराटनगरस्थित नोबेल मेडिकल कलेजमाथि कारबाही हुने बताएका छन् । सोमवार सिंहदरबारमा बसेको शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा बोल्दै उपाध्यक्ष गिरीले नोबेल मेडिकल कलेजले विद्यार्थीहरूमाथि होस्टेलको बहानामा बढी पैसा लिएको सत्य भएको र पटक पटक ध्यानाकर्षण गराए पनि कलेजले अटेरी गरेको भन्दै अबको विकल्प कारबाही भएको बताएका हुन् । 

उनले छात्रावास उचित भए पनि छात्रावासमा बस्न मात्रै विद्यार्थी भर्ना नभएको बताए । उनले छात्रावासमा नबसेकै कारण विद्यार्थीहरूलाई कलेजले पठनपाठनबाट वञ्चित गराउन नमिल्ने बताए । उपाध्यक्ष गिरीले कलेजलाई आयोगको तर्फबाट बारम्बार ध्यानाकर्षण गरे पनि कलेजले अवहेलना गरिरहेको भन्दै अबको विकल्प भनेको सिट नदिने वा सम्बन्धनको खारेजी भएको बताए । उनले कलेजलाई कारबाहीको लागि आयोगमा छलफल गर्ने पनि बताए ।

त्यस्तै आयोगका सदस्यसचिव डा. भोजराज काफ्लेले अहिलेको विद्यार्थीको विषय भनेको रकमको नभई जीवन रक्षा, एकेडेमिक कुरा र छात्रावासको मात्र भएको बताए । उनले कलेजले छात्रावास अब अनिवार्य नगर्ने भनिसके पनि अटेर गरिरहेको बताए ।

त्यस्तै नेकपा एकीकृत समाजवादीका सांसद जीवनराम श्रेष्ठले कलेजले पैसा बढी लिएको वा घटी लिएको भन्ने अधिकार सदस्य सचिवलाई नरहेको भन्दै आक्रोश व्यक्त गरे । उनले नियमभन्दा बाहिर गएर कलेजले विद्यार्थीहरूसँग पैसा असुलिरहेको भन्दै सदस्यसचिव काफ्लेलाई आफ्नो भनाइ फिर्ता लिन आग्रह गरे । उनले आयोगको सदस्यसचिवले अहिलेसम्म विद्यार्थीहरू अनसनमा आइसक्दासमेत उनीहरूको पीडा बुझ्न नसकेको आरोप लगाए ।

त्यस्तै लोकतान्त्रिक समाजवादी पार्टी नेपालका सांसद एकवाल मियाँले विद्यार्थीहरूले त्यही कलेजमा पढ्न नसक्ने भन्दै उनीहरूको लागि सुरक्षित गन्तव्य खोज्नुपर्ने बताए । नेकपा (माओवादी केन्द्र) का सांसद हितबहादुर तामाङले विद्यार्थीहरूबाट धेरै पैसा असुलेको कुरा प्रस्ट भएको भन्दै कलेजलाई कारबाही गर्नुपर्ने माग गरे । उनले विद्यार्थीहरूले आफूमाथि बढी लिएर गरेको अन्यायविरुद्ध बोल्नु विद्यार्थीहरूको अधिकार भएको बताए । सांसद तामाङले कानुन र ऐन मिचेर जाने कलेजलाई कारबाही गर्नुपर्ने बताए । 

नेकपा (माओवादी केन्द्र) की सांसद अञ्जना बिशंखेले विद्यार्थीहरू नोबेल मेडिकल कलेजमा पढ्न नसक्ने भनेर हरेस खाइसकेको भन्दै अर्को स्थान सुरक्षित गर्नुपर्ने बताइन् । उनले विद्यार्थीहरूलाई अर्को कलेजमा पढ्ने वातावरण मिलाएमा सो कलेजलाई नैतिक र आर्थिक कारबाही स्वतः हुने बताए । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप