सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

त्यो कहालीलाग्दो दिन फेरि कहिल्यै देख्नु नपरोस्

सोमबार, २३ फागुन २०७८, १६ : ०३
सोमबार, २३ फागुन २०७८

फागुन २३ अर्थात् मेरालागि पत्रकारिता यात्राकै बिर्सन नसकिने दिन । पाँच वर्ष अघि आजकै दिन अर्थात् २०७३ साल फागुन २३ गते सोमबार सप्तरीको मलेठमा नरसंहार भएको थियो ।

म स्थानीय सञ्चारमाध्यम न्यूज टुडे दैनिक पत्रिका र नेपाल टेलिभिजनका लागि अत्यन्तै सक्रियताका साथ काम गर्दै आएको थिएँ । आंशिक समय मैले सामुदायिक रेडियो छिन्नमस्ता एफएममा ‘चर्चापरिचर्चा’ नामक बहस कार्यक्रममा दिने गर्दथेँ ।

खासगरी न्यूज टुडे दैनिक र अनलाइन सम्पादकको जिम्मेवारीमा रहे पनि समाचार सङ्कलनदेखि सम्पादनसम्मको काम भ्याउनुपर्ने मेरो दिनचर्या थियो । आन्दोलन होस् वा अन्य कुनै घटना–दुर्घटना, भोक प्यासको परवाह नगरी तुरुन्तै कुदिहाल्ने मेरो बानी नै थियो । त्यही भएर होला कहीँ कतै केही भयो कि मलाई तुरुन्त खबर आउँथ्यो । यहाँसम्म कि आन्दोलनकारी पक्षका कतिपय कार्यक्रमका गोप्य सूचनासमेत मेरो जानकारीमा हुन्थ्यो । सदा मैले पत्रकारिता पेसाको धर्म एवम् मर्यादालाई आत्मसात गर्दै दायित्व निर्वाह गर्दै आएको थिएँ ।

मधेसी जनताको व्यापक असन्तुष्टिका बीच संविधान जारी भएपछि तराई मधेसका जिल्लामा आन्दोलन चलिरहेको थियो । आफ्ना माग सम्बोधन गर्नुको साटो बन्दुकको दम्भमा संविधान जारी गरिएकोमा मधेसमा मात्र नभई पहाडका आदिवासी, जनजाति एवम् शोषित उत्पीडित समुदायले समेत आक्रोश पोखिरहेका थिए । बौद्धिक एवम् नागरिक अगुवाहरूले आन्दोलनमा समर्थन जनाउन थालिसकेका थिए ।

त्यसैबीच नेकपा एमालेले मेची–महाकाली अभियान सञ्चालन गर्ने निर्णय ग¥यो । त्यसै क्रममा फागुन २३ गते सप्तरी सदरमुकाम राजविराजस्थित राज रङ्गशालामा जागरणसभा आयोजना गर्ने तयारी सुरु भयो । यता संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा झन् आक्रोशित हुँदै गयो । आन्दोलनका कार्यक्रमलाई मोर्चाले झन् तीव्रता दियो ।

राजविराजमा मोर्चा र एमाले कार्यकर्ता बीच भिडन्त हुनसक्ने अवस्था सिर्जना हुँदै गइरहेको थियो । त्यस क्रममा पारीबाट हतियार आएको, मान्छे आएको जस्ता अफवाहसमेत फैलिन थाल्यो । स्थानीय प्रशासन समेत चनाखो बन्दै गइरहेको देखिन्थ्यो । राजविराजमा सुरक्षा सतर्कता बढाइयो । रंगशालामा एमालेको कार्यक्रमका लागि तयार भइरहेको मञ्च आन्दोलनकारीहरुको एक समूहले भत्काइदियो । त्यसपछि अवस्था भयावह बन्दै गइरहेको थियो । राजविराजमा कार्यक्रम गर्नसक्ने अवस्था नरहेको बुझेपछि स्थानीय प्रशासनले अन्यत्र सार्न एमालेलाई सुझाव दियो ।

जिल्लाको पूर्वबाट सप्तरी प्रवेश गर्न राजमार्ग भएर भारदह छिर्नैपर्ने । तर सो स्थान आन्दोलनको केन्द्र नै थियो । राजमार्ग समेत अवरुद्ध थियो । यता एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओली, माधव कुमार नेपाल लगायतका वरिष्ठ नेताहरू सम्मिलित मेची महाकाली राष्ट्रिय अभियानको टोली करिब दुई हजारभन्दा बढी गाडीका साथ लावालस्कर लिएर सुनसरीबाट सप्तरीतर्फ हुइँकियो । भारदहमा व्यापक सुरक्षा फौजको तैनाथीका कारण त्यहाँ अप्रिय घटना हुनबाट जोगियो । तर केही नेता तथा कार्यकर्ता पक्राउ परे ।

ठाउँठाउँमा मोर्चाको अवरोधका बाबजुद व्यापक सुरक्षा घेराका बीच एमालेको जागरण टोली भारदह, बरमझिया, कञ्चनपुर, महुली, रुपनी हुँदै गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्र आइपुग्यो । एमाले अध्यक्ष ओली, वरिष्ठ नेता एवम् पूर्व प्रधानमन्त्री माधव नेपाल, पूर्व प्रधानमन्त्री झलनाथ खनाल, पूर्व सभामुख सुवास नेम्वाङ सहितका नेताहरू कडा सुरक्षाका बीच औद्योगिक क्षेत्रको प्रवेशद्वार हुँदै मञ्चतर्फ लम्किए । कार्यक्रमको दृश्य तथा तस्बिर खिच्दै हामी पत्रकारहरूको टोली पनि कार्यक्रम स्थल पुग्यौँ । कार्यक्रममा नेताहरूको भव्य स्वागत भयो ।

उता बिहानैदेखि उक्त क्षेत्रमा मोर्चाका नेता तथा कार्यकर्ताले सडकमा टायर बालेर नाराबाजी तथा विरोध प्रदर्शन गर्दै आइरहेका थिए । नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले घेरा बनाउँदै कार्यक्रम स्थललाई सुरक्षा दिइरहेका थिए । टाउकामा कालो फेटा, हातमा कालो कपडा बोकेका आन्दोलनकारीलाई साथ दिन गाउँगाउँबाट सर्वसाधारण आउने क्रम जारी थियो । त्यस क्रममा प्रहरीले करिब दुई दर्जनभन्दा बढी प्रदर्शनकारी नेता तथा कार्यकर्तालाई पक्राउ गरिसकेको थियो भने केहीलाई अघिल्लो दिन नै नियन्त्रणमा लिइसकेको थियो ।

चार पाँच जना नेताहरूको मन्तव्य पश्चात् एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले कार्यक्रमलाई सम्बोधन गरिरहँदा बाहिर झडप भइरहेको बुझिन्थ्यो । प्रमुख अतिथि ओलीको भाषण क्यामेरामा कैद गर्दै कार्यक्रमस्थलबाट बाहिर निस्किन खोजेँ । व्यापक भिडलाई छिचोल्दै सडकमा आएँ । त्यहाँ एकातर्फ मोर्चाका कार्यकर्ताहरू र अर्कोतर्फ सुरक्षा फौज आमने सामने भइरहेको देखेँ । त्यसपछि अश्रुग्याँस प्रहार भयो । उताबाट त्यहीँ अश्रुग्याँसको सेल आन्दोलनकारीहरूले प्रहरीतर्फ फालिरहेका थिए ।

कार्यक्रम लगभग अन्तिम चरणमा पुग्न लागेको थियो भने यता मोर्चाका कार्यकर्ताहरू नाराबाजी गर्दै कार्यक्रमस्थलतर्फ आउन खोजिरहेका थिए । प्रहरीले उनीहरूलाई रोक्न भरमग्दुर प्रयास गरिरहेका थिए । त्यहाँको माहौल झन् उग्र बन्दै गइरहेको थियो । प्रहरीले दर्जनौँ राउण्ड अश्रुग्याँस प्रहार गरिसकेको थियो । म भने ती दृश्य आफ्नो क्यामेरामा कैद गर्न तल्लीन थिएँ । अन्धाधुन्ध लाठी चार्ज सुरु भयो । मसहित पत्रकार साथीहरू छेवैको पक्की घरमा शरण लिन पुग्यौँ । हामीसँगै थिइन् एक महिला आन्दोलनकारी पुनम यादव । घरभित्र पसेर मानिसलाई अन्धाधुन्ध कुट्दै घिसारेर प्रहरीले बाहिर निकाले ।

हामीसँगै छतबाट घरका मान्छे र केही स्थानीयवासी सो घटना हेरिरहेका थियौँ । त्यही बेला अचानक प्रहरी टोलीले लाठी बर्साउन थाल्यो । छतबाट म लगायत अन्य पत्रकार मित्रहरूले ‘उहाँहरू आन्दोलनकारी होइन’ भनिरहँदा पनि मरणासन्न हुने गरी लाठी चार्ज गरिरह्यो । उनीहरू बचाउका लागि चिच्याइरहे । त्यसमध्ये दुई जनालाई तानेर प्रहरीले बाहिर लग्यो । कता लग्यो । थाहै भएन । हाम्रै टोलीमा रहेकी पुनमलाई भने हामीले कुटिनबाट जोगायौँ ं । त्यसपछि गोली चलेको आवाज आयो । हामी पत्रकारहरूको एक टोली त्यही घरको छतमा पुगेर तस्बिर र भिडियो खिँच्ने कार्यलाई निरन्तरता दियौँ । केही साथी त्यहीँबाट आ–आफ्ना सञ्चारमाध्यममा लाइभ गर्न व्यस्त देखिन्थे । उता फायरिङ जारी थियो । खेतमा स्थानीयवासिन्दालाई लखेटीलखेटी प्रहरीले लाठी बर्साइरहेका थिए । लाठी र फायरिङ दुवै जारी थियो । यता मेरो भिडियो खिचाई पनि जारी नै थियो ।

फेरि गोली फायर भयो । उताबाट आवाज आयो । मान्छे मर्‍यो, मान्छे मर्‍यो । तर उता जाने कसैले हिम्मत गरिरहेको थिएन । म भने तल ओर्लेर भिडियो खिच्दै अगाडि बढेँ । खेतमा दुुईतीन जनालाई पन्ध्रबीस जनाको सङ्ख्यामा रहेका सशस्त्र र नेपाल प्रहरीको टोलीले अन्धाधुन्ध लाठी बर्साइरहेका थिए । कुटिनेहरू भाग्न सफल भए तर एक जना युवालाई प्रहरीले निर्ममतापूर्वक लाठी, बन्दुकको कुन्दा र बुटले निरन्तर हिर्काइरहेका थिए । ऊ चिच्याइरहेको थियो । उसको टाउकोबाट रगत बगिरहेको थियो । ऊ प्राण जोगाउन याचना गरिरहेको थियो । मैले करिब करिब एक मिनेटसम्म दृश्य खिचेँ । त्यसपछि मेरो मनले मानेन । एक हातमा क्यामेरा बोकेर प्रहरीलाई धक्का दिँदै उसलाई जोगाउने प्रयास गरेँ । तबसम्म पत्रकार चन्दन यादव पनि आइपुगे । उनले मलाई सघाए । त्यसपछि नेपाल प्रहरीका तत्कालीन एसपी दिवेश लोहनीलाई भनेर ती व्यक्तिलाई एम्बुलेन्समा चढाएर उपचारका लागि अस्पताल पठाउन सफल भयौँ । (भिडियो अझै सुरक्षित छ ।) त्यो दिन यदि मैले पत्रकारिताको धर्मभन्दा माथि नउठेको भए सायद ती युवा बाँच्ने थिएनन् ।

त्यसपछि हामी कसलाई गोली लागेको हो भनेर सोधखोज गर्न थाल्यौँ । मसहित पत्रकार साथीहरू अलि अगाडि बढ्दा सडक छेउको रुखमुनि एक जना युवा ढलेको देखेँ । टाउकोमा गोली लागेर रगत बगिरहेको देखेँ । तस्बिर खिचियो । अवस्था सामान्य हुँदै थियो । उता एमालेको टोली लगभग निस्किसकेका थिए ।

मृतकको नाम सोधेँ । सन्जन मेहता नाम बताइयो । घर मलेठ सप्तरी । स्थानीयवासिन्दामा आक्रोश झन् बढ्दै गइरहेको थियो । त्यो आक्रोश पत्रकारमाथि पनि पोखिन सक्ने सङ्केत देखिन्थ्यो । ‘घटना हुँदा पत्रकार कहाँ थियो ?’ भन्दै स्थानीयवासीले आक्रोश पोखिरहेका थिए । किनभने प्रहरीले टाउको र छातीमा ताकेरै गोली हानेका रहेछन् । हामी पत्रकारहरू अन्य गोली लागेकाहरूलाई खोज्न निस्कियौँ । चारैतर्फ गहुँको बाली लहलहाइरहेको थियो । कतै शव फेला परेन । चौतर्फी रोदन, क्रन्दन र आक्रोश मात्र देखिन्थ्यो ।

हामी तत्क्षण कार्यक्रम स्थलबाट करिब तीन किलोमिटरको दूरीमा रहेको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल पुग्यौँ । गोली लागेर सञ्जन मेहता, पीताम्बर लाल मण्डल र आनन्द साहको मृत्यु भएको जानकारी पायौँ । अन्य घाइतेलाई धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगियो । त्यहाँ उपचारकै क्रममा ईनर यादव र वीरेन्द्र महतोको समेत मृत्यु भयो । घटनामा ९ जनालाई गोली लागेको रहेछ भने अन्य तीन दर्जनभन्दा बढी घाइते भए । डेढ दर्जनभन्दा बढी उक्त घटनाका घाइते सघन उपचार पश्चात् घर फर्किए ।

शान्तिपूर्ण भनिएको आन्दोलन अनि त्यो दिन प्रहरीको दमन शैली सम्झिँदा अझै मेरो आङ सिरिङ्ग भएर आउँछ । ईश्वरसँग कामना गर्दछु कि त्यो दिन पुनः हामीले देख्न नपरोस् । आफ्नै देशका रक्षक मानिने प्रहरीले निहत्था जनतामाथि गोली बर्साउन नपरोस् । हुन त रिपोर्टिङमा रहँदा पत्रकारले आफ्नो दायित्व निर्वाह गर्ने हो तर त्यो दिन यदि मैले मेरो पत्रकारिताको धर्मभन्दा माथि उठ्न नसकेको भएको अन्यको त भन्न सक्दिन तर राजविराज नगरपालिका अन्तर्गत डुुमरी घर भएका युवक पशुपति यादवले संसार देख्न पाउने थिएनन् । जबकि उनी एमालेकै कार्यकर्ता थिए । उनले आफू एमाले कार्यकर्ता भएको बताए पनि प्रहरीले सुन्न चाहेन ।

मैले लगाएको प्रेस ज्याकेटमा अझै पनि ती आन्दोलनकारीका रगतका छिटा सुरक्षित छन् । ती दृश्य क्यामरामा कैद गर्ने पत्रकार चन्दन यादवलाई हृदयदेखि धन्यवाद । त्यो दिन मैले गरेको धृष्टताका कारण म आफै पनि प्रहरीको सिकार हुन सक्थेँ । मलेठमा भएको मानवता विरोधी क्रियाकलाप आफ्नै आँखा अगाडि देखियो र त्यो दृष्य मेरो मानसपटलमा अझै ताजै छ ।

२०७३ फागुन २३ मेरा लागि अविस्मरणीय दिन बन्न पुगेको छ । रिपोर्टिङ गर्दाको त्यो दिनलाई कदापि भुल्न सक्दिनँ । मलेठ घटनामा सहादत प्राप्त गर्नुभएका सपुतहरुको आत्माले शान्ति पाओस् । आजको दिनमा म यही कामना गर्दछु कि मानवता नहराओस्, न्याय नमरोस्, जनताको सुरक्षाका लागि ठड्याइएको बन्दुकको निशाना निहत्था जनता नबनुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

श्यामसुन्दर यादव
श्यामसुन्दर यादव
लेखकबाट थप