सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

मृतककी आमाको प्रश्न– मेरो छोराको के गल्ती थियो र मार्नुपर्ने ?

घटनामा संलग्न असईलाई हिरासतमा राखेर अनुसन्धान थालियो
सोमबार, २३ फागुन २०७८, १८ : ५१
सोमबार, २३ फागुन २०७८

‍कालिकोटको तिलागुफा नगरपालिका–३ का कृष्ण हमाल (मिनी)को शंकास्पद मृत्युको घटनाले सबैको ध्यान खिचेको छ । व्यापारी समेत रहेका ३२ वर्षीय हमालको मृत्यु प्रकरणका प्रहरी नै मुछिएको छ भने प्रहरीको व्यवहार र कार्यशैलीमाथि प्रश्न उठेको छ ।

वीरेन्द्रनगरको प्रवेशद्वार मानिने सुब्बाकुना प्रहरी चौकीका इञ्चार्ज प्रहरी सहायक निरीक्षक (असई) शेरसिंह धामीले हमाललाई निर्घात रुपमा कुटपिट गरेका कारण मृत्यु भएको मृतकका आफन्तको भनाइ छ । पीडित परिवारले असई धामीविरुद्ध किटानी जाहेरी समेत दिइसकेका छन् ।

आइतबार जिल्ला प्रहरी कार्यालय सुर्खेतमा मृतक हमालका बुबा ५४ वर्षीय हिराचन्द्र हमालले कर्तव्य ज्यान सम्बन्धी कसुरमा मुद्दा दर्ता गराएका हुन् । जाहेरीमा असई धामीको कुटाईबाटै कृष्ण हमालको मृत्यु भएको दाबी गरिएको छ । जाहेरी दर्तासँगै प्रहरीले असई धामीलाई हिरासतमा राखेर अनुसन्धान सुरु गरिसकेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवं डीएसपी रामप्रसाद घर्तीले रातोपाटीलाई जानकारी दिए ।

उनले भने, ‘जिल्ला अदालतबाट ३ दिनको म्याद लिएर अनुसन्धान भइरहेको छ । छानबिन समिति पनि बनेको छ । त्यसले पनि छानबिन गर्छ ।’

यस्तो छ घटनाको विवरण

कृष्ण हमाल शुक्रबार बिहान भे१क ९२२ नम्बरको मिनीट्रकका सह–चालक तिलक शाहीको साथमा नेपालगञ्ज गएका थिए । तिलकले नै उक्त ट्रक चलाएका थिए । नेपालगञ्जबाट खुद्रा समान लोड गरेर वीरेन्द्रनगगर फर्कने क्रममा सुब्बाकुना प्रहरी चौकीमा सवारी साधन इन्ट्री गराउनुपर्छ । हमाल सवार ट्रक त्यहाँ रातको साढे १० बजेपछिमात्र आइपुगेको थियो ।

तिलक भन्छन्, ‘उहाँ (कृष्ण हमाल) घुम्न जानुभाको थियो । त्यो दिन उहाँ सहचालक भएर आउनुभाको थियोे । मापसे गरेको शंकाको आधारमा मलाई पनि बोलाइयो । इन्ट्री गर्दा गाली गलौजको त कुरै नगरौं ।’

प्रहरीले आफूसँग लाइसेन्स मागेको तर आफूले अर्को गाडीमा छोडेको जानकारी प्रहरीलाई गराएको तिलकको भनाइ छ । ‘लाइसेन्स नबोकी हिँड्ने, मापसे गर्ने भन्दै गाडीलाई भित्र राख्न लगायो,’ प्रहरीले आफूहरुप्रति गरेको व्यवहार सुनाउँदै उनले भने, ‘मलाई गेटभित्र लगेर नराम्रोसँग पिट्न थालियो । अनि हमालले गाडीका प्रमुख चालकलाई फोन गरेर घटनाबारे जानकारी गराएपछि प्रहरीले हमाललाई पनि कुटपिट गर्न थाल्यो ।’

तिलकका अनुसार असई शेरसिंह धामीले तैंले यति राति कसलाई फोन गरिस् भनेर हमाललाई कुटपिट गरेका थिए । कुटपिटमा अन्य प्रहरीसमेत संलग्न रहे पनि असई धामीले मात्र निर्घात रुपमा कुटपिट गरेको तिलकको भनाइ छ ।

‘दुवैजनालाई भित्र लगेर कुट्न थाल्यो र भिडियो बनाउन लाग्यो,’ उनले भने, ‘अनि त्यही बेला अर्को ट्रक आयो र हामीलाई त्यही ट्रकमा हालेर छाडिदियो ।’

केही पर पुगेर आफूहरु सो ट्रकबाट उत्रेर आफ्नै ट्रकमा सुत्ने भनेर फर्किएको उनको भनाइ छ ।

तिलक शाहीले भनेकै विवरण अनुसार आइतबार दिइएको जाहेरीमा घटनाको विवरण उल्लेख गरिएको छ । कृष्ण हमालको शरीरमा निलडाम रहेको र मृत्यु अघि उनले आफ्नो समवेदनशील अङ्गमा समेत कुटपिट गरिएकाले अशक्त भएको बताएको पनि जाहेरीमा उल्लेख छ ।

वीरेन्द्रनगरकै चाइना पुल पुग्दा अन्य सबै जना गाडीबाट ओर्लिदासमेत कृष्ण निस्कन नसकेको बताइएको छ । जाहेरीमा भनिएको छ, ‘त्यसपछि उनलाई गाडीभित्रै सुताइ थप सामान ट्रकमा लोड गरिसकेपछि गाडीमा पुग्दा उनी बेहोस अवस्थामा भेटिए । हतारमा सुर्खेत अस्पताल भर्ना गरिएकोमा अस्पतालले मृत्यु भएको घोषणा गरेको हो ।’

प्रहरीले आफ्नै सुरक्षा पोस्टको सुरक्षा गर्न नसकेपछि

सुर्खेत अस्पताल स्रोतले मृत्यु भएको घोषणा गरेसँगै पीडितका आफन्तहरुले प्रहरीविरुद्ध वीरेन्द्रनगरमा प्रदर्शन गरे । जसले गर्दा शनिबार दिनभर वीरेन्द्रनगरको माहोल तनावग्रस्त बन्यो । आन्दोलन सुरु हुने संकेत देखिएपछि जिल्ला प्रहरी कार्यालयमा प्रहरीले घटनाबारे छलफल समेत  गरिरहेको थियो ।

हमालको मृत्यु प्रहरीको कुटाइबाट भएको भन्दै आफन्त र स्थानीय वासिन्दाले सुरुमा वीरेन्द्रनगरको मंगलगडी चोकमा प्रदर्शन गरे । उनीहरुले सवारी साधन चल्न रोक लगाएका थिए भने चोकमा टायर बालेका थिए । आक्रोशित आफन्त र प्रहरीबीच झडप हुने स्थिति समेत आयो ।

आन्दोलनले उग्र रुप लिने देखिएपछि जिल्ला प्रशासन कार्यालयले छानविन समिति बनाउने तयारी थाल्यो । प्रदर्शनलाई नियन्त्रणमा लिन प्रहरीले लाठी चार्ज गरेपछि वीरेन्द्रनगरको एरीचोक तनावग्रस्त बन्यो । एरिचोकमा रहेको प्रहरीको अस्थायी बिट समेत पल्टाइयो । प्रदर्शनकारी यति आक्रोशित थिए कि प्रहरीले आफ्नै सुरक्षा पोस्टको समेत सुरक्षा गर्न सकेन । प्रहरीकै अगाडि प्रहरी बिट तोडफोड भएको थियो ।

छानविन समिति गठन

जिल्ला प्रशासन कार्यालय सुर्खेतले हमालको मृत्युको घटनामा छानबिन गर्न समिति बनाएको छ । प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालको अध्यक्षतामा बसेको सुरक्षा निकायको बैठकले सहायक प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद पाण्डेको संयोजकत्वमा चार सदस्यीय छानबिन समिति गठन गरिएको हो ।

समितिलाई घटनाको सत्यतथ्य छानबिन गरी तीन दिनभित्र प्रतिवेदन बुझाउन निर्देशन दिइएकामा एक जना विज्ञ डाक्टरसहित समावेश गर्दै छानविनको समय थप ४ दिन बढाईएको प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले जानकारी दिए । ‘त्यसमा पीडित पक्षले पनि साथ दिनुपर्छ,’ रिजालले भने, ‘अनुसन्धानलाई प्रभावित पार्ने खालका गतिविधि हुनु हुँदैन ।’

रिजालले आन्दोलनका नाममा प्रहरी बिट तोडफोड गर्नेहरुलाई कारबाही गरिने बताए । यस्ता खालका अराजक, उग्र व्यक्तिहरुलाई कडाभन्दा कडा कारबाही गर्न निर्देशन समेत दिएको छु,’ उनले रातोपाटीसँग भने ।

मृतककी आमा भन्छिन्– मैले न्याय पाउनुपर्छ

मृतक हमाली आमा पद्मा हमाल प्रहरीकै कुटाईबाट आफ्नो छोराको मृत्यु भएको भन्दै आफूले न्याय पाउनुपर्ने बताउँछिन् । ‘मेरो छोरालाई प्रहरीले कुटेर मारेको छ, घटनामा संलग्न प्रहरीलाई कारबाही हुनुपर्‍यो । प्रहरीले सर्वसाधारण जनतालाई यसरी कुट्नु न्यायोचित हो ? मैले न्याय पाउनुपर्‍यो ।’

न्याय नपाए आफूहरु सडकमा उत्रिनुको विकल्प नहुने उनले बताइन् । ‘म त्यही छोरोको सहारामा बाँच्दैथिएँ । त्यही छोरालाई मारिदिएपछि म बाँच्नुको के अर्थ ?’ उनी भन्छिन्, ‘म कसको सहारामा बाँच्ने ? मेरो छोराले के गल्ती गर्‍यो र मार्नुपर्ने ?’

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पंखबहादुर शाही
पंखबहादुर शाही
लेखकबाट थप