आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
सन्दर्भः महिला दिवस

महिलाहरू कहिलेसम्म असुरक्षित ?

मङ्गलबार, २४ फागुन २०७८, ११ : ४२
मङ्गलबार, २४ फागुन २०७८

  नेपाली महिलाहरू सामाजिक, आर्थिक र राजनैतिक क्षेत्रबाट उत्पीडित र उपेक्षित छन् । सरकारी तथा गैरसरकारी क्षेत्रबाट महिला हक, हित र अधिकारका निम्ति गरिएका प्रयत्नका बाबजुद महिलाहरूको स्थितिमा तात्विक अन्तर आउन सकेको छैन । यसै सन्दर्भमा आज ८ मार्च, विश्वका विभिन्न देशमा क्रियाशील महिला सङ्गठनहरूले ११२ औँ अन्तरराष्ट्रिय श्रमिक महिला दिवस मनाउँदै छन् ।

दास व्यवस्थामा मान्छेको पनि व्यापार गरिन्थ्यो । त्यतिखेर मान्छेलाई बेच्ने, कुटने र मार्ने पनि गरिन्थ्यो । त्यति बेला यी घटनामा परेर कति जना गहभरि आँसु झार्दथे भने कतिपय रिसले चुर हुन्थे । कतिपय दारा किट्थे । कतिपय मुठ्ठी कसेर त्यो अन्यायपूर्ण व्यवस्थाको विरोध गर्दथे । आज त्यो क्रुर र निच प्रकारको मानिने दास व्यवस्था अतितको विषयवस्तु बनिसकेको छ ।

सामान्य रूपमा हेर्दा हिंसा शब्द शारीरिक यातना वा कुटपिटसँग सम्बन्धित देखिन्छ तर यसले व्यापक अर्थ ओगट्छ । आज पनि महिलाहरू ठूलो संख्यामा घरेलु हिंसाबाट आतङ्कित छन् । सासूले बुहारीमाथि गर्ने र पतिले पत्नीमाथि कुटपिट गर्ने, महिलाको इच्छा विपरीत यौन दुराचार गर्ने, छेरा नपाएको भनेर महिलामाथि हुने मानसिक यातना आदि घरेलु हिंसाका केही उदाहरण हुन् । घरेलु हिंसासम्बन्धि अपराध, अनुसन्धान तथा सजायको व्यवस्था गर्न बनेको विधेयक पारित भैसकेको छ । धेरै महिलाहरू पतिको जबरजस्ती करणीबाट पीडित भए पनि उनीहरू यसलाई उजुरीको बिषय बनाउने साहस गर्न सकेका छैनन् । पुरुषको ज्यादतीविरुद्घ उजुरी दिँदा महिलाहरू आफूलाई असुरक्षित महसुस गरेको स्थिति छ ।

बलात्कार अत्यन्तै संवेदनशील विषय हो । बलात्कारले महिलालाई शारीरिक मात्र होइन, मानसिक रूपमा समेत गम्भीर आघात पुर्याउँछ । तर नेपालको सन्दर्भमा बलत्कारका कैैयौँ घटना बाहिर आउन सक्दैनन् । किनभने समाजले महिलाको अस्मितालाई यौन शुद्धतासँग जोडेर हेर्ने गर्दछ । देशमा बलात्कारका घटना दिनहुँजसो घटिरहेका छन् । ७ वर्षको बालिकादेखि ७० वर्षको बृद्धा महिलाहरू बलत्कारका शिकार भइरहेका छन् । कानुनमा बलात्कार सिद्ध गर्ने पर्याप्त आधार नहँुदा मुद्दा हारिने स्थिति छ ।

बहुविवाह पनि महिलाहरूका लागि एक प्रकारको उत्पीडन नै हो । पुरुषले अर्को विवाह गर्छ, त्यसलाई समाजले सामान्य रूपमा लिन्छ । त्यही काम एउटी महिलाले गर्छे भने त्यो अपराधजन्य हुन्छ । विषय एउटै हुन्छ तर मापदण्ड बेग्लै हुन्छ । यसरी एउटै विषयमा समाजको मापदण्ड भने दुई प्रकारको हुने गरेको छ ।

महिलाहरू अहिले पनि बहुविवाहबाट पीडित रहेको देखिन्छ । दुर्गम गाउँमा गएर हेर्ने हो भने अवस्था अझै दर्दनाक भेटिन्छ । “मर्दका दश वटी” भन्ने उखानले समाजमा महिलामाथि सौता हाल्न खुल्ला छुटसँगै प्रोत्साहन दिन्छ । यसरी बहुविवाहले पुरुषलाई एकै पटक एकभन्दा बढी महिलासँग व्यभिचार गर्ने छुट दिन्छ भने महिलाहरू सम्पत्तिमा समान अधिकारको अभावमा अनेक यातना सहेर पनि सौता र लोग्नेसँगै कष्टप्रद जीवन बिताउन बाध्य छन् ।

दाइजो प्रथा पनि महिला हिंसाको एउटा रूप हो । खास गरी तराई क्षेत्रमा यस समस्याले निकै गाँजेको छ । दाइजोे मागेबमोजिम दिन नसकेका कारण लोग्ने र सासु मिलेर बुहारीको हत्यासम्म गरिएका थुप्रै घटना छन् । यसरी श्रीमतीलाई जीवनसाथीको रूपमा हैन, वस्तुको रूपमा हेर्ने व्यापारिक र समान्तवादी चिन्तनबाट ग्रसित हँुदा यस प्रकारका घटनाले ठाउँ पाइरहेको देखिन्छ । दाइजोलाई नेपालीमा कानुनी मान्यता प्राप्त नभए पनि कानुनका रखवाला वर्तमान राज्यव्यवस्थाका नाइकेहरूले विवाहलाई प्रतिष्ठाको विषय बनाउने र करोडौँ खर्च गर्ने परिपाटीले दाइजो प्रथा निरुत्साहित गर्नुकोे साटो बढावा दिने काम भएको छ ।

मानव समाजले २१ औँ शताब्दीमा पाइला टेक्दासम्म पनि नेपाली समाजमा बोक्सीको नाममा महिलाहरूलाई मलमूत्र खुवाउने जस्ता अपराधजन्य काम हुनु ज्यादै लज्जाजनक कुरा हो । समाजमा बोक्सीको बात त्यसलाई लगाइन्छ, जो असहाय, कमजोर, अशिक्षित र गरिब छन् । आजसम्म धनी, बलियो मान्छे बोक्सी बनेको छैन । के बोक्सी विद्या कमजोर, असहाय, अशिक्षितले मात्र सिक्ने हो र ? बोक्सी यदि विद्या हो भने त्यसको गुरु को ? त्यो कुन विश्वविद्यालयमा पढाइन्छ ? त्यो विद्या पुरुषले किन पढ्दैनन् ? यसको जबाफ बोक्सी भनी आरोप लगाउनेहरूले दिन सक्तैनन् । यसबाट यो प्रस्ट हुन्छ कि बोक्सी हेला गरेर प्रयोग गरिने शब्द हो । नेपाली मानसिकता अझ पनि सामन्ती, रुढिवादी र अन्धविश्वासको घेराबाट माथि उठ्न सकेको छैन । बोक्सी जस्तो अलौकिक शक्तिको कुरा गरेर महिलालाई यातना दिने र मलमूत्र खुवाउने कार्य हुनु विडम्वनाको विषय हो ।

चेलीबेटी बेचबिखन नेपालको सन्दर्भमा एउटा प्रमुख समस्याको बनेको छ । डेढ लाखभन्दा बढी नेपाली महिलाहरू भारतका विभिन्न शहरमा शरीर बेचिरहेको बताइन्छ । अझ भारतको बाटो हुँदै संसारका अन्य मुलुकमा पुर्याइएका नेपाली चेलीहरूको अवस्था ज्यादै डरलाग्दो छ । यसरी भारतको खुल्ला सीमानाका कारण मानव तस्करलाई सहज भएको छ । आफन्तजनबाट पनि यस्ता क्रियाकलाप प्रशस्तै हुने गरेको पाइन्छ । लाखौँ नेपाली महिलाहरू भारतको वेश्यालयमा नारकीय जीवन ब्यतित गर्न बाध्य बनाउने मानव तस्करहरू समाजमा खुलेआम हिँडिरहेका छन् ।

मातृत्व क्षमता बोकेका महिलाहरूको रजस्वलालाई छाउपडी प्रथाले अत्यन्तै घृणित र अपमानित तुल्याएको छ । रजस्वलाको समस्यामा महिलालाई पर्याप्त आराम र पौष्टिक खानाको आवश्यकता हुन्छ तर सुदूर पश्चिमका केही जिल्लामा रजस्वला भएका महिलालाई गोठमा राख्ने र दूध, दही जस्ता पौष्टिक खानाबाट बञ्चित गर्ने छाउपडी प्रथा अहिले पनि विद्यमान रहेको छ । विज्ञानले यतिका प्रगति गरिसक्दा पनि नेपाली समाजको मानसिकता अझै पनि उठ्न सकेको छैन । हिंसाका विभिन्न रूपमध्ये देउकी प्रथा, छुवाछुत आदि पनि हिंसाका रूप हुन् ।

सामाजिक, आर्थिक, राजनैतिक, सांस्कृतिक, धार्मिक रूपबाट पछाडि पारिएका र ठगिएका महिलाहरू मानव अधिकारको मामिलामा सबैभन्दा ठगिएका छन् । किनभने समान रूपमा जिउन पाउनु तथा समान अवसर पाउनु मान्छेले मान्छे भई बाँच्न पाउनु मानव अधिकारको मान्य सिद्धान्त हो । यस अवस्थामा सवल र समुन्नत समाज निर्माणका लागि आधा भन्दा बढी संख्यामा रहेका महिलाहरूको समग्र पक्षमा सुधार गर्नु अहिलेको मुख्य कार्यभार हो ।

घरेलु हिंसा र गरिबीले पीडित धेरै नेपाली महिला वैदेशिक रोजगारीमा लाग्न बाध्य छन् । यसरी विदेशिने महिलाहरू सुरुदेखि अन्त्यसम्मै हिंसामा पर्ने गरेका छन् । स्वदेशमै दलालले अनावश्यक कमिसन खोज्छन् । कतिपय अवस्थामा आफ्नै परिवारका मान्यजनले विदेश पठाउन दबाव सिर्जना गर्छन् । हिंसा विमानस्थलमै हुन्छ । सेल्टर होममा भेडा–बाख्रा जस्तो गरी घरमालिकको पर्खाइमा लामो समय कुराउँछन् । तोके जति तलब नदिएर ज्यालाको शोषण हुन्छ । बिमारी पर्दा राम्रो उपचार हुन्न । यौनजन्य हिंसाको सिकार भएका समेत प्रशस्तै उदाहरण छन् । महिलाहरूलाई कानुनी उल्झनबाट मुक्त गरी आर्थिक सशक्तीकरणका कार्यक्रमद्वारा आत्मनिर्भर बनाउन विदेश पलायन हुनबाट रोक्नु पर्दछ ।

विदेशमा कामको प्रकृति र बसाइँका हिसाबले विशेषतः खाडी मुलुकमा घरेलु कामदारका रूपमा जाने महिलाहरू बढी शोषण र हिंसामा पर्ने गरेका छन् । त्यति मात्र नभई स्वदेशमा फर्किएपछि पनि सामाजिक लाञ्छना, श्रीमान–श्रीमतीबीच वैमनस्यता जस्ता समस्याले थप हिंसा भित्रिएको छ ।  छोरा, बुहारी, छोरीहरू बिदेशिँदा केटाकेटीको हेरचाहमा बृद्घ माता, पिता, सासु–ससुरालाई थप बोझ भइरहेको छ । यसले गर्दा पारिवारिक बिखण्डन, चर्को ब्याज दरको ऋणभार, आश्रित परिवारजन कुलतमा फस्ने जस्ता सामाजिक समस्या पनि देखिने गरेका छन् ।

अतः बैदेशिक रोजगारीका कारण कमजोर हँुदै गएको मूल्य–मान्यतालाई बेलैमा पहिचान गरी सुधार्नु र महिलामाथि हुने गरेका हिंसा रोक्न सरकारी र अन्य सम्बन्धित निकायहरूले ध्यान दिनु जरुरी भएको छ । ११२ औँ अन्तर्राष्ट्रिय महिला दिवस मनाइरहँदा हरेक महिला सङ्गठन र राजनैतिक दलहरूको ध्यान माथि चर्चा गरिएका विषयमा केन्द्रित होस् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप