कविता : म गर्भिणी भएकी छु
पितृसत्ताको सोचमा रमेको मेरो समाज
संस्कार, परिपाटी, शैली, प्रवृत्ति
नारीलाई कठपुतली बनाइन्छ
साथै
राक्षसी प्रवृत्तिले नवयौवनामाथि
शिकार खेल्दै, लुछ्दै
भोक र प्यासको तिर्खा मेट्छ ।
रक्त पिपासुको पन्जाबाट
घरमा खेल्दै गरेकी ५ बर्षिया नानी
७० बर्षकी बूढी आमा
दिउँसो खेतबारीमा मेलापात गर्न
गएकी दिदी
डाँडापारीको सरकारी विद्यालयमा
पढ्न गएकी बहिनी
दिनदहाडै
कठै यौन दुराचारीको शिकार बनिन् ।
बर्षौदेखि कपाल फुङ्ग उडेको
एक छाक मीठो खान नपाएकी ख्याउटे, दःुखी
फाटेको लुगामा बेरिएकी
दुरदराजकी साइँली आमालाई
बोक्सीको उपमा दिइ मलमूत्र खुवाइन्छ
विडम्बना
दाइजो निहुँमा भाउजूलाई
तेजाब खन्याएर जिउँदै जलाइन्छ
गरिबीको फाइदा लुटेर होटेलमा
मेरा सहकर्मीहरुलाई गिद्धहरुले लुछिरहेका छन्
बहिनी, श्रीमती बनाएर बम्बई कोठीमा पुगेका
साथीहरुको पीडा उस्तै कहाली लाग्दो छ
पीडकहरु खुलेआम डुलिरहेका छन्
न्यायको लागि बनेको
कानून, संयन्त्र, सरोकारवाला कहाँ छ ?
पीडाको चित्कार सुन्ने को ?
त्यो अन्यायको नाश गर्नका लागि
म गर्भिणी भएकी छु ।
आश गर्नु आमा, भाउजू, दिदी, बहिनी,
म छिट्टै दुर्गाको जन्म दिदैछु ।
समाजका शुम्भ निशुम्भको अन्त्य हुनेछ
पुनः दोश्रो सन्तान बुद्ध जन्माउनेछु
अन्याय, अत्याचार र शोषणको पर्खाल ढाल्नेछ
हिंसारहित समाजमा सम्मानित
नारीले शान्तिको दियो बालिरहने छन्
सदाका लागि सदाका लागि ननिभ्ने गरी ।