सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

हेटौँडाको मेयरमा काँग्रेसबाट ४ जना आकाङ्क्षी

बुधबार, २५ फागुन २०७८, १० : २९
बुधबार, २५ फागुन २०७८

सरकारले आगामी वैशाख ३० गते स्थानीय तह निर्वाचनको मिति घोषणा गरेसँगै मकवानपुरमा चुनावी माहौल गर्माएको छ । निर्वाचन आयोगले निर्वाचन केन्द्रित कार्यक्रम सुरु गरेसँगै जिल्लाको विभिन्न स्थानीय तहमा प्रतिस्पर्धाको लागि राजनीतिक दलहरू आन्तरिक तयारीमा जुटिसकेका छन् ।

जिल्लामा प्रभाव जमाउन सफल ठुला दलका नेताहरू नेताहरू टिकटको लागि जिल्ला र केन्द्रसम्मै लबिङमा रहेका छन् । बागमती प्रदेशको एकमात्र उपमहानगरपालिका एवम् प्रदेशको राजधानीसमेत रहेको हेटौँडा उपमहानगरपालिकाको मेयर बन्न अहिले विभिन्न राजनीतिक दलभित्र रस्साकस्सी नै सुरु भइसकेको छ ।

काँग्रेसबाट ४ जना आकाङ्क्षी

निर्वाचनको मिति नजिकिएसँगै हेटौँडा उपमहानगरपालिकाको नेतृत्वको लागि काँग्रेसबाट ४ जनाको नाम चर्चामा देखिएको छ । काँग्रेसको संस्थापन र इतर पक्षबाट गरी ४ जनाले आकांक्षा व्यक्त गरी टिकटको लागि लबिङमा रहेका छन् । एमालेको दबदबा रहेको हेटौँडा उपमहानगरपालिकामा आफ्नो पार्टीको नेतृत्व दिने भन्दै काँग्रेसका ४ जना नेताहरू अग्रपङ्क्ति देखिएका छन् ।

हेटौँडा उपमहानगरपालिकाको मेयरमा काँग्रेसबाट यस अघिको निर्वाचितमा पराजित भएका आनन्दराम पराजुलीका साथै भीमसेन महत, हेटौँडा–५ का वडा अध्यक्ष राजेश बानियाँ र प्रभात कुमार दाहालले आकांक्षा देखाएका छन् । अन्य केही नेताहरूले पनि आकांक्षा देखाएको बुझिए पनि उनीहरू खुल्न भने चाहेका छैनन् ।

काँग्रेसबाट हेटौँडा उपमहानगरपालिकाको मेयर पदमा आकांक्षा व्यक्त गरेका पराजुली, बानियाँ र दाहाल संस्थापन पक्षका हुन् भने महत संस्थापन इतर पक्षका मानिन्छन् । २०७४ सालको निर्वाचनमा हेटौँडा उपमहानगरपालिकाको नेतृत्व नेकपा एमालेले गरेको थियो । एमालेबाट हरिबहादुर महतले निर्वाचन जितेर उपमहानगरपालिकाको नेतृत्व लिएका थिए ।

मेयर बन्ने कसरतमा दाहाल

नेपाली काँग्रेस मकवानपुरका नेता प्रभातकुमार दाहालले हेटौँडा उपमहानगरपालिकाको मेयर बन्ने कसरतमा लागेका छन् ।

१४ औँ जिल्ला अधिवेशन अन्तर्गत गत फागुन १५ गते भएको जिल्ला अधिवेशनमा संस्थापन पक्षबाट सभापति पदमा निर्वाचित भएका बुद्ध लामालाई सहयोग गरेका दाहाल आन्तरिक कसरतमा जुटेका हुन् । उनी निकट स्रोतका अनुसार काँग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँ पनि दाहाललाई मेयरको रूपमा अगाडि बढाउने विषयमा सकारात्मक रहेका छन् ।

करिब १२ वर्षदेखि मकवानपुरमा संस्थापन इतरको राजनीति गरेर छायामा परेको दाहाल नेपाल विद्यार्थी संघका केन्द्रीय निवर्तमान महामन्त्री समेत हुन् । जिल्ला अधिवेशनमा बानियाँ र दाहाल एउटै मोर्चामा उभिएर लामालाई सभापति पदमा विजयी गराएपछि अबको हेटौँडाको मेयरमा पार्टीले उनलाई टिकट दिने प्रबल सम्भावना रहेको छ ।

काँग्रेसको तर्फबाट अन्य नेताहरुको नाम मेयरमा चर्चामा रहेको अवस्थामा दाहाल टिकटका लागि लविङका लागि केन्द्रीय नेतासँग भेटघाटमा रहेका छन् । पछिल्लो समय स्थानीय निर्वाचनको विषयलाई लिएर प्रदेश सभापति बानियाँ र दाहालबीच दैनिक भेटवार्ता हुने गरेको छ । दाहाल काँग्रेसका केन्द्रीय नेता प्रकाशमान सिंहका विश्वास पात्र मानिन्छन् । काँग्रेस महाधिवेशनमा सभापति देउवा र सिंह एउटै कित्तामा उभिएपछि मकवानपुरमा दाहालको प्रभाव बढेको नेताहरू बताउँछन् ।

प्रदेश सभापति बानियाँले मकवानपुरबाट काँग्रेसको महासमिति प्रतिनिधि छनोट गर्दा दाहालको माग अनुसार सङ्ख्या उपलब्ध गराएपछि मकवानपुर काँग्रेसमा हलचल नै पैदा भएको थियो । जिल्लाका चर्चित नेताहरू समेत महासमिति सूचीमा नअटाएको बेला दाहालको माग सम्बोधन हुनलाई महत्त्वको साथ हेरिएको छ ।

मेयरमा पराजुलीको दाबी कायमै

२०७४ सालको स्थानीय तहको निर्वाचनमा हेटौँडा उपमहानगरपालिकाको मेयरमा एमालेका हरिबहादुर महतसँग ६ सय १५ मतान्तरले पराजित भएका नेपाली काँग्रेसका आनन्दराम पराजुलीले यसपटक पनि पनि मेयरमा आफ्नो दाबी गरेका छन् ।

अघिल्लो निर्वाचनमा पराजुलीले प्राप्त गरेको करिब ७ हजार मत बदर भएको थियो । मत बदर भएकै कारण आफू पराजित भएको उनको विश्लेषण छ । पछिल्लो समय मकवानपुर काँग्रेसको राजनीतिमा बलियो पकड बनाउन प्रयासरत पराजुली काँग्रेस प्रदेश सभापति इन्द्रबहादुर बानियाँ र केन्द्रीय सहमहामन्त्री महालक्ष्मी उपाध्याय डीनासँग नजिक मानिन्छन् । तर, गत फागुन १५ मा भएको जिल्ला अधिवेशनबाट भने उनीहरूको सम्बन्ध बिग्रिएको बताइन्छ ।

अधिवेशनमा प्रदेश सभापति बानियाँको जिल्ला नेतृत्व सर्वसम्मत गर्ने प्रस्तावलाई सोझै अस्वीकार गर्दै निर्वाचनमा होमिएका कारण उनीहरूबीच तिक्तता आएको काँग्रेस स्रोत बताउँछ । सोही कारण मेयरमा दाबी गरे पनि उनले टिकट पाउने कठिन रहेको नेताहरू बताउँछन् ।

पराजुली भने विगतमा मेयरमा पराजित भए पनि पार्टी संगठन निर्माणसँगै राजनीति सक्रिय रहेर जिल्लामा पार्टीलाई बलियो बनाउन गरेको कामका कारणले पनि नेतृत्वले आफूलाई मेयरको टिकट दिने बताउँछन् । उनी पार्टीको राजनीतिमा काँग्रेस सभापति शेरबहादुर देउवा निकटका पात्र हुन् ।

कम्युनिष्टबाट काँग्रेस छिरेका महत पनि आकाङ्क्षी

यता हालै सम्पन्न भएको काँग्रेस मकवानपुरको जिल्ला अधिवेशनमा सचिव पदमा सर्वाधिक मतसहित निर्वाचित भएका भीमसेन महतले पनि मेयरका आकांक्षा व्यक्त गरेका छन् । वैचारिक राजनीतिले पनि देश र जनताको पक्षमा काम गर्नु सकिन्छ भन्ने धारणासहित उनले हेटौँडा उपमहानगरपालिकाको मेयरमा आकांक्षा देखाएका हुन् ।

महत २०७४ सालमा भएको निर्वाचनमा पनि हेटौँडा उपमहानगरपालिकाको मेयर पदमा उम्मेदवार रहेका थिए । उनले तत्कालीन समयमा नेकपा मालेबाट मेयर पदमा उम्मेदवारी दिएका थिए । उक्त निर्वाचनमा उनले ३८१ मत प्राप्त गरेका थिए ।

त्यस निर्वाचन पछि राजनीतिबाट केही समय टाढा रहेका महत काँग्रेस प्रवेश गरेर काँग्रेसमा आफ्नो छवि विस्तारमा लागेको उनी बताउँछन् । मकवानपुरका १०२ वटै वडामा पुगेर काँग्रेसको विचार प्रचार गरेका उनी संस्थापन इतर पक्ष निकट मानिन्छन् । उनले पनि आफ्नो पक्षमा टिकट ल्याउन केन्द्रीय स्तरका नेतृत्वसँग छलफल सुरु गरेको बताए । 

होला त मेयरमा राजेश बानियाँको इन्ट्री ?

हेटौँडा उपमहानगरपालिकाको मेयरका लागि अन्य केही व्यक्तिको नाम पनि चर्चामा रहेको छ । हाल हेटौँडा उपमहानगरपालिका वडा नम्बर–५ का वडा अध्यक्ष राजेश बानियाँको नाम पनि चर्चामा रहको छ । उनी प्रदेश सभापति बानियाँका भाइ हुन् ।

विगतको निर्वाचनमा हेटौँडा–५ मा काँग्रेसले चुनाव नजित्ने देखेपछि व्यापार व्यवसाय गरिरहेका बानियाँलाई टिकट दिइएको थियो । एमालेको बलियो क्षेत्रको रूपमा रहेको हेटौँडा–५ को चुनावी नतिजा उनको पक्षमा आयो ।

पार्टी नेतृत्वले टिकट दिएको खण्डमा आफू मेयर पदमा चुनाव लड्न तयार रहेको उनी बताउँछन् । रातोपाटीसँगको कुराकानीमा उनले वडा अध्यक्ष भएर आफूले जनताको पक्षमा काम गरेको बताए । त्यही कामको मूल्याङ्कन पार्टीले गरेर मेयर पदमा आफूलाई उम्मेदवार बनाउने उनले विश्वास व्यक्त गरे । मेयर पद उम्मेदवार बन्नको लागि आफू नेताहरूसँग छलफलमा रहको उनले सुनाए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

गणेश दुलाल
गणेश दुलाल
लेखकबाट थप