आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

लोभलाग्दो लुम्बिनीको लोकप्रियता

बुधबार, २५ फागुन २०७८, ११ : २५
बुधबार, २५ फागुन २०७८

शैक्षिक भम्रण होस् या अन्य कुनै अवलोकन भम्रण, नेपालीका लागि प्रमुख रोजाईको गन्तव्यका रुपमा पर्ने क्षेत्र हो, भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनी ।  फरक अनुभूति अनि अभिभावकको जिम्मेवारी बोधका साथ हालै चौथो पटक लुम्बिनी क्षेत्रको भम्रण गर्ने साईत जुर्यो । पहिलो पटक लुम्बिनी भम्रण गर्दा कलेजको एक विद्यार्थी थिएँ भने दोस्रो र तेस्रो पटक घुम्ने अवसर पाउँदा पेशागत तवरले तालिममा सहभागी हँुदै पुगिएको थियो । चौथो पटक पुग्दा एक घुमन्ते यात्रीका हिसाबले नेपालका केही खास ठाउँ प्राकृतिक नगरी पोखरा र धार्मिक तथा ऐतिहासिक क्षेत्र लुम्बिनी जति घुमे पनि धित नमेटिने घुमाई क्षेत्र लागेको छ ।

विद्यालय तथा कलेज बेलाको किशोरावस्थाको पुनर्ताजगीलाई झझल्को दिने गरी केयर नेपाल र निड्स नेपालको सहयोगमा कञ्चनपुर जिल्लाका सबै ९ वटै स्थानीय तहका किशोरी सञ्जाल र किशोरी समूहहरुको क्षमता विकास अभिवृद्धिका लागि अवलोकन भम्रण कार्यक्रमलाई नेतृत्व गर्दे जाने तय भयो । सबैलाई समेट्दै आफनै नेतृत्वमा लैजाँदै गर्दा महसुस गरें कि किशोरी वर्गको यस किसिमको नवीनतम ठाउँहरुमा घुम्ने चाहना ईच्छा आँकक्षा बेला मौकाले मात्र जुर्ने गर्दछ । 

नगरप्रमुख मनमोहन चौधरीको तर्फबाट लुम्बिनी स्मारिका प्राप्तिसँगै लुम्बिनी क्षेत्रको अलौकिक गाथा कतिबेला पुगौं भन्ने उत्कृष्ट अभिलाषा झन व्याप्त भयो । सबैलाई एकत्रित गर्दागर्दै समय भन्दा केही ढिला हुन गयो । पञ्चशीलका सिद्धान्तहरु अनुसरण गरौं भन्ने महत्वपूर्ण शिलालेखको अध्ययन पश्चात हिँडदै अगाडि बढ्दा मायादेवी मन्दिर परिसरको प्रवेशद्वारमा टिकटका लागि पुग्यौं । सबैजना जुत्ता फुकाली हातखुट्टा धोई मायादेवी मन्दिरतर्फ प्रस्थान गर्यौं । होहल्ला नगरी शान्ति चित्तले हेर्न र गौतम बुद्धप्रतिको आदरभावको प्रकटताले वातावरण आफैमा अनुपम थियो ।

मायादेवी मन्दिर भित्रको शीतलतता, स्वच्छन्दता सँगैको सुरम्यताले मन मस्तिष्कमा शान्तको अनुपम आनन्द प्राप्ति हुन्छ । कुनैपनि फोटो लिन नमिल्ने नियमले पनि मान्छेको आधुनिकता भन्दा प्राकृतिक वातावरणमा केही बेर भएपनि डुब्नलाई सकारात्मक रुपमा बाध्य बनाएको छ । मन्दिर भित्रका भग्नावशेषहरु ईपू पाँचौ शताब्दीदेखि सातौं शताब्दीसम्मका छन् भन्ने कुराको जानकारी पाइयो । एक गहिरो कोठामा विशेष सुरक्षा सहितको सिसाको कोठामा जन्मस्मारक शिला देख्न सकिन्छ, जसले भगवान बुद्धको जन्मबिन्दुलाई स्पष्ट देखाउँछ । ईपू ६२३ मा माता मायादेवीका कोखबाट बौद्ध धर्मका प्रणेता तथा शान्तिका अग्रदुत भगवान गौतम बुद्ध जन्मिए, जसले जन्मने बित्तिकै सात पाइला हिँडे । अनि मनुष्य जातिका लागि युगान्तकारी उद्गार प्रकटता सो ठाउँको दर्शनले देखाउँछ ।

प्रसिद्ध मौर्य सम्राट अशोकले लुम्बिनीको तीर्थयात्राको क्रममा ईपू २४९ मा सम्राट अशोकले स्थापना गरेको अशोक स्तम्भ र यसमा कँुदिएको शिलालेख हिद बुधे जाते शाक्यमुनि अर्थात् यहाँ शाक्यमुनि बुद्ध जन्मनु भएको थियो भन्ने शिलालेख सहितको ढुँगाको स्तम्भले भगवान् गौतम बुद्धको जन्म लुम्बिनीमा नै भएको ऐतिहासिक प्रमाण दिएको छ । यसै अशोक स्तम्भको दक्षिणमा रहेको करिब बीस पाईला पर एउटा पवित्र पुष्करिणी पोखरी जसमा मायादेवीले बुद्ध भगवानलाई जन्म दिनु भन्दा अगाडि नुहाउनुको साथै जन्म पश्चात स्नान गराई शुद्ध समेत बनाईएको कथन तथा विश्वास बौद्ध ग्रन्थहरुमा भेटिन्छ ।

मायादेवी मन्दिर परिसरका महत्वपूर्ण क्षेत्रहरुको अवलोकन पश्चात सिधा अगाडि बढ्दा बीच बाटोमा उत्तरतर्फ फर्केको सिद्धार्थ गौतम बुद्धको दाँया हात उठाएको मूर्ति र त्यसकै छेउमा ठूलो अक्षरका साथ लुम्बिनी लेखिएको ठाउँमा भम्रणार्थीहरुको ध्यान फोटो खिचाउन, भिडियो र टिकटक बनाउनमा निमग्न देखिन्थे । दक्षिणबाट उत्तरतर्फ जाँदा नहरको छेउमा शान्ति दीप देख्न सकिन्छ । दिनरात अटुट रुपमा बलिरहने यो दीपले विश्व शान्तिको कामनाको सन्देश दिन्छ ।

शान्ति दीपको ठीक सिधा एउटा लामो पोखरी जस्तो नहर आउँछ, जसको दाँया बाँया ईटा छापिएका चौडा बाटाहरु छन् । त्यही बाटो भएर लुम्बिनीको मुख्यस्थल मायादेवी मन्दिरसम्म पुग्ने गरिन्छ । त्यहाँ सवारी साधनका रुपमा विद्युतीय डुँगा उपलब्ध छन् । हाम्रो टोलीका सबैको टिकट सशुल्क रुपमा काटेर केहीबेर भए पनि जलयात्राको आनन्द लियौं । बसपार्क छेउमै जोडिएको बजारमा लुम्बिनीको चिनो लिन मानिसहरुको भीडभाडले यस क्षेत्रको व्यापार व्यवसायलाई राम्रै प्रर्वद्धन गरेको देखिन्छ ।

मायादेवी मन्दिरसँगै बेबी बुद्ध, राजकीय थाई विहार, म्यान्मार गोल्डेन स्तुपा तथा विहार, श्रीलँका विहार, सिँगापुर विहार, द ग्रेट लोटस स्तुपा जर्मनी, लिन्सन विहार फ्रान्स, भियतनाम विहार, चिनियाँ विहार, कोरियन विहार, कम्बोडियन विहार, महाबोधी समाज विहार, कलकत्ता, ब्रजायन विहार नेपाल, विश्व शान्ति स्तुप, जापान, लुम्बिनी संग्रहालयसँगै लुम्बिनी अन्तरराष्ट्रिय संस्था जस्ता अनेकन संरचनाहरुले विश्व नै यही छ भन्ने झझल्को दिन्छ ।

भम्रणका क्रममा लुम्बिनीलाई सरसर्ती मात्रै हेर्ने हो भने पुरा एक दिन लाग्छ । हेरेका कुराहरु बुझ्न त कम्तीमा एक दुई दिनको बसाइँ नै बनाउनुपर्छ । तर सबैलाई हतार हुन्छ । युनेस्कोले सन् १९९६ मा विश्व सम्पदा सूचीमा सूचीकृत गरेको लुम्बिनी सानो छैन । यसको लोकप्रियता र बौद्ध विषयवस्तुको धार्मिकताले एउटा सानो विश्व नै भन्दा पनि हुन्छ ।

लुम्बिनी विश्व शान्तिका अग्रदुत सिद्धार्थ गौतम बुद्धको जन्मस्थान, बुद्ध धर्म र बुद्ध दर्शनको उद्गम स्थल हो । विश्वभरका बौद्धमार्गीहरुको सबैभन्दा ठूलो पवित्र तीर्थस्थल तथा अन्य धर्मालवम्बीका लागि प्रमुख पर्यटकीय गन्तव्य स्थलका रुपमा प्रख्यात लुम्बिनी धार्मिक, सांस्कृतिक, ऐतिहासिक, पुरातात्विक तथा पर्यटकीय महत्वका दृष्टिले विश्व जगतको केन्द्रका रुपमा रहेको छ । छब्बिस सय वर्ष अगाडि यस भूमिमा जन्मेर बुद्धले फैलाएको शान्ति र अहिंसाको सन्देश आजका दिनमा झनै अपरिहार्य छ, जुन कुराले विश्व बन्धुत्व, भाईचारा र सद्भाव यथावत राख्न महत्वपूर्ण मानिएका छन् ।

लुम्बिनी धार्मिक पर्यटन त छँदै हो । साथै, एक प्रकृतिप्रेमीका हिसाबले यहाँको जैविक विविधता र मनोरम प्राकृतिक दृश्यले म जस्तै प्रकृतिप्रेमीलाई मोहनी लगाउँछ । लुम्बिनीमा करिब २५० प्रजातिका चराहरुमध्ये प्रेम र समपर्णको प्रतीक मानिने सारसलाई लुम्बिनी साँस्कृतिक नगरपालिकाले शान्तिको प्रतीकका रुपमा लिदै संरक्षणका लागि नगरपंक्षीका रुपमा घोषणा नै गरेको पाईयो ।

विश्व शान्ति र मानव हितको मूल दर्शनलाई आत्मसात गर्दे मैत्रीपूर्ण समाज निर्माण गर्न एवं अहिंसाको माध्यमबाट सबैको घर पृथ्वी तथा प्राणीको हितमा समर्पित हुन उत्प्रेरणा जगाउने खालको अनुभूति तपाईं हामी सबैलाई लुम्बिनी क्षेत्रको भम्रणले दिनेछ ।

लेखक वन, वातावरण, पर्यापर्यटन विकाससँगै सामाजिक अभियानका क्षेत्रमा कलम चलाउन रुचि राख्छन्

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप