सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

रातोपाटी ब्रिफिङ : चुनावी गठबन्धनको पक्षमा देउवा, ओलीलाई निर्वाचन आयोगको जवाफ

मन्त्रिपरिषद बैठकले गर्‍यो विभिन्न निर्णय
बिहीबार, २६ फागुन २०७८, २१ : ३९
बिहीबार, २६ फागुन २०७८

आज मिति २०७८ साल फागुन महिनाको २६ गते बिहीबार । आज देशभर भएका मुख्यमुख्य घटनाक्रमलाई रातोपाटीको नियमित प्रस्तुति ‘रातोपाटी ब्रिफिङ’ मा प्रस्तुत गरिएको छ ।

मन्त्रिपरिषद बैठकले गर्यो विभिन्न निर्णय 
आज बसेको मन्त्रिपरिषद बैठकले विभिन्न निर्णय गरेको छ । बैठकले नेपाल आयल निगमको कार्यकारी निर्देकमा उमेश थानीलाई नियुक्त गर्ने निर्णय गरेको छ भने ५० वर्षभन्दा माथिका नागरिकहरुको निःशुल्क स्वास्थ्य परीक्षण गर्ने लगायतका निर्णय गरेको छ ।

१. ओलीलाई आयोगको जवाफ

निर्वाचन आयोगले आगामी स्थानीय तहको चुनावमा मतपत्रमा हरियो रङको चिन्ह बनाउने निर्णयको बचाउ गरेको छ । बिहीबार आयोगले गरेको नियमित पत्रकार सम्मेलनमा बोल्दै आयोगका सहप्रवक्ता सूर्यप्रसाद अर्यालले चुनाव चिन्ह कस्तो बनाउने भन्ने कुरा आयोगको क्षेत्राधिकारको विषय भएको बताए ।

​यसअघि एमाले अध्यक्ष केपी शर्मा ओलीले चुनाव चिन्ह हरियो बनाउने आयोगको निर्णयको आलोचना गर्दै आएका थिए ।

​चुनाव चिह्नकै सन्दर्भमा नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई सैद्धान्तिक र वैचारिक वहसमा सहभागी हुन सुझाव दिएका छन् । महामन्त्री शर्माले निर्वाचन आयोग मतपत्रमा कस्तो रङ राख्ने भन्ने कुरामा स्वतन्त्र रहेको उल्लेख गर्दै रङको विषयलाई लिएर पूर्व प्रधानमन्त्रीले खुद्रा वहस गर्न नमिल्ने बताए ।

​२. गठबन्धनको पक्षमा देउवा

प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवाले सत्ता गठबन्धन तीनै तहको निर्वाचनमा मिलेर जानुपर्ने बताएका छन् । नेपाली काँग्रेस पर्साको नवनिर्वाचित कार्यसमितिका पदाधिकारीलाई प्रमाणपत्र वितरण समारोहमा देउवाले गठबन्धन अहिलेको आवश्यकता भएको बताएका छन् ।

करिब ७ मिनेट भाषण गरेका प्रधानमन्त्री देउवाले अधिकांश समय गठबन्धनको आवश्यकता औंल्याए । काँग्रेसमा शेखर कोइराला पक्षले चुनावी गठबन्धनको विपक्षमा अभिव्यक्ति दिरहेका बेला देउवाको यस्तो अभिव्यक्ति आएको हो ।

​३. चुनावबारे एकीकृत समाजवादीको निर्णय

विभिन्न समसामयिक निर्णय गर्दै नेकपा एकीकृत समाजवादीको तेस्रो केन्द्रीय कमिटी बैठक सकिएको छ । दुई दिनदेखि जारी केन्द्रीय समितिको बैठकले आगामी बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा पार्टीको सम्पूर्ण शक्ति केन्द्रीत गर्नेगरी कार्ययोजना पारित गरेको छ । साथै केही समसामयिक प्रस्ताव समेत बैठकले पारित गरेको छ ।

​४. सुनको मूल्य निरन्तर उकालो

पहेँलो धातुको मूल्यले यतिबेला विश्व र नेपाली बजारमा नयाँ कीर्तिमान कायम गरेको छ । इतिहासमै पहिलोपटक बुधबार सुनको मूल्य प्रतितोला १ लाख ५ हजार ५०० रुपैयाँ पुग्यो ।

यतिखेर सुनको भाउ महँगिनुको पछिल्लो कारण रूस–युक्रेन युद्ध मानिएको छ । रूस विश्वकै तेस्रो ठूलो सुन उत्पादक र पाँचौं ठूलो भण्डारणकर्ता हो । युक्रेनमाथि हमला थालेपछि रूसविरुद्ध पश्चिमा मुलुकहरूले अनेक प्रतिबन्ध लगाएका छन् । सो प्रतिबन्धमा रूसबाट हुने सुन निर्यात पनि परेको छ । 

​५. काँग्रेस जिल्ला अधिवेशन

नेपाली काँग्रेसको जिल्ला अधिवेशनको परिणाम आउने क्रम अन्तिम चरणमा छ । महाधिवेशनअघि अधिवेशन हुन बाँकी १६ जिल्ला मध्ये १४ जिल्लाको अधिवेशन भएको छ । जसमा १२ जिल्लाको नेतृत्व चयन भएको छ भने २ जिल्लाको परिणाम आउन बाँकी छ ।  यसैगरी दुई जिल्लामा शुक्रबारदेखि अधिवेशन हुँदैछ । अधिकांश जिल्लामा सभापति शेरबहादुर देउवा पक्षबीच नै मुख्य प्रतिस्पर्धा भएको छ ।

​६. देशभर जग्गा बाँडिदै      

राष्ट्रिय भूमि आयोगले भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई जग्गा वितरण गर्ने प्रयोजनका लागि नयाँ सूचना निकालेको छ । चुनावको मुखमा सरकारले आयोगमार्फत जग्गा वितरण गर्नका लागि आवश्यक प्रक्रियालाई तिव्रता दिएको हो ।

यसअघि पहिलो चरणमा सूचना निकालेर जग्गा वितरणको प्रक्रिया थालिसकेको आयोगले फेरि अर्को ३५ दिने सूचना निकालेर जग्गा वितरण गर्ने प्रक्रियालाई तीव्रता दिन लागेको छ ।

​७. पार्टीको चुनाव चिन्ह नपाउँदा...

स्थानीय तहको निर्वाचनमा पार्टीको चुनाव चिन्ह माग गर्दै ३७ वटा साना राजनीतिक दलहरुले थप आन्दोलन गर्ने चेतावनी दिएका छन् । संघर्ष समिति गठन गरेर आन्दोलन गर्दै आएका उनीहरुले बिहीबार काठमाडौमा पत्रकार सम्मेलन गर्दै  आन्दोलनको चेतावनी दिएका हुन् ।

पत्रकार सम्मेलनमा स्थानीय निर्वाचन चिन्ह संघर्ष समितिले निर्वाचन आयोगले पार्टीको चुनाव चिन्ह नदिए सर्वोच्च अदालतसम्म जाने भन्दै थप आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो ।

​८.सेयर बजार

आज साताको अन्तिम कारोबार दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा ५२ अंकको उछाल आएको छ । पछिल्लो समय निरन्तर घटिरहेको बजारमा आज विहीबार भने दोहोरो अंकको उत्साहजनक वृद्धि आएको हो । कारोबारको सुरुवाती समयमा आज पनि बजारले घट्ने संकेत देखाएको थियो । कारोबार सुरू भएको ३० मिनेटको समयमा बजार १५ अंकले ओरालो लाग्दै २५ सयको अंकबाट तल झरेको थियो । तर, त्यसपछि निरन्तर सुधार हुँदै परिसूचक ५२ अंकले उकालो लागेको हो ।

​शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारले सार्वजनिक खरिद नियमावलीलाई ११ औं पटक संशोधन गर्ने भएको छ ।  मन्त्रीपरिषद्ले नियमावलीलाई ११ औं पटक संशोधन गर्न लागेको हो ।

​९. कोरोना अपडेट

पछिल्लो २४ घण्टामा देशभर ११२ जना संक्रमित थपिएको छ । सो अवधिमा ९ हजार ३२८ जनाको स्वाब परीक्षण भएको थियो । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा मृत्युदर भने शून्य रहेको छ । सोही अवधिमा ४२९ जना संक्रमणमुक्त समेत भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार जनाएको छ ।

हाल देशभर सक्रिय संक्रमित ५ हजार ३४० जना रहेका छन् ।

​१०. र, यो पनि...

संखुवासभाको मादी नगरपालिका– ६ मा बस दुर्घटनाका सबै १४ जना मृतकको सनाखत भएको छ ।

मृत्यु हुनेमा सवारी चालक तेह्रथुमको फाक्चामाराका ३० वर्षीय विपिन निरौला, संखुवासभा मादी–५ का सहचालक ३५ वर्षीय उमेश भट्टराई, मादी–६ का ३० वर्षीया सीता बिक। ३२ वर्षीया अञ्जना कटुवाल, तुलसा कटवालको पाँच वर्षीया छोरी दीक्षा कटवाल, मादी–५ का ४९ वर्षीय भवानीप्रसाद दाहाल, मादी–५ का ५५ वर्षीय श्याम शेर्पा, मादी–४ का आइतबहादुर तामाङ, मादी–२ का  ४२ वर्षीय इन्द्र अधिकारी,  मादी–४ का ६० वर्षीय बलबहादुर कार्की,  २८ वर्षीया सविता कार्की, मादी–५ का ४८ वर्षीय दिपककुमार दाहाल, ताप्लेजुङका ३१ वर्षीया समीक्षा योञ्जन र समीक्षा योञ्जनको ८ वर्षीय छोरा सुदिप घिसिङ रहेका  प्रहरी नायव उपरीक्षक लालध्वज सुवेदीले जानकारी दिए ।

निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन प्रयोजनका लागि दर्ता हुन निवेदन प्राप्त भएका ८० वटा राजनीतिक दलहरूको निवेदनका सम्बन्धमा जाँचबुझको प्रक्रिया अन्तिम चरणमा पुगेको जनाएको छ । आयोगले ती दलबारे आजै  निर्णय गर्ने तयारी गरेको छ। 

​राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले आफ्नो पार्टीबाट स्थानीय तहमा उम्मेदवार बन्नेहरूले स्थानीय मन्दिरमा कसम खानुपर्ने बताएका छन् । मोरङको सुन्दर हरैंचामा आज आयोजित पार्टी प्रवेश तथा आमसभा कार्यक्रममा बोल्दै लिङ्देनले सुशासनका लागि, जनताप्रति उत्तरदायी बन्नका लागि र देशहितमा काम गर्नका लागि उम्मेदवारले अनिवार्य रूपमा कसम खानुपर्ने बताएका हुन् ।

​राष्ट्रियसभामा नेकपा एमालेको संसदीय दलको नेतामा खिमलाल भट्टराई नियुक्त भएका छन् । यस्तै प्रमुख सचेतकमा देवेन्द्र दाहाल नियुक्त भएका छन् । नेकपा एमालेका प्रतिनिधिसभाका संसदीय दलका नेता केपी शर्मा ओलीले बिहीबार उनीहरुलाई नियुक्त गरेका हुन् ।

​नेपाल प्रहरीले स्थानीय तहको निर्वाचनका लागि म्यादी प्रहरीमा भर्ना नखुलाइएको स्पष्ट गरेको छ।  प्रहरी प्रधान कार्यालयले बिहीबार एक सूचनामार्फत भर्नासम्बन्धी हालसम्म कुनै सूचना प्रकाशित नगरिएको स्पष्ट गरेको हो। 

​अभिनेत्री करिश्मा मानन्धरले नेकपा एमाले प्रवेशको निर्णय गरेकी छन् । उनले एमाले अध्यक्ष केपी शर्मा ओलीसँगको भेटवार्तापछि एमाले प्रवेशको निर्णय लिएकी हुन् ।  मानन्धरले आफू एमाले प्रवेश गर्ने निर्णयमा पुगेको रातोपाटीलाई जानकारी दिइन् । उनका अनुसार बिहीबार ओलीसँग मानन्धरको भेटवार्ता भएको थियो । सो क्रममा ओली र मानन्धरबीच पार्टी प्रवेशबारे छलफल भएको र मानन्धर पार्टी प्रवेशमा राजी भएकी हुन् ।

​थप समाचार

 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप