सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

ठेकेदारबीच चुनावी संग्राम : के भन्छन् अध्यक्षका उम्मेदवार ?

शुक्रबार, २७ फागुन २०७८, ०७ : २२
शुक्रबार, २७ फागुन २०७८

देशभरका निर्माण ठेकेदारहरू यतिबेला छाता संस्था निर्माण व्यवसायी महासंघ (एफक्यान)का लागि भावी नेतृत्व खोजीमा लागेका छन् । ३ वर्षसम्म महासंघ हाँक्ने नेतृत्व चयन हुने चुनाव नजिकिँदै गर्दा व्यवसायीहरू दुई कित्तामा बाँडिएर आफूअनुकूल पदाधिकारी चुन्न प्रतिष्पर्धामा छन् । 

यतिबेला सिङ्गो महासंघ संरचना फागुन २८ गते (शनिबार) हुने निर्वाचनमा होमिएको हो । भावी नेतृत्वको दौडमा महासंघका वर्तमान अध्यक्ष रवि सिंह र वरिष्ठ उपाध्यक्ष निकोलस पाण्डे दौडमा छन् ।

यी दुईबाहेक अन्य निर्माण व्यवसायीहरू हुमनाथ कोइराला, रमेश शर्मा र रामशरण देउजा पनि महासंघको भावी अध्यक्षका आकांक्षी हुन् । यद्यपी, उनीहरू अहिलेसम्म खुलिसकेका छैनन् । सोहीकारण, अहिले अध्यक्ष र वरिष्ठ उपाध्यक्षबीच नै भावी नेतृत्वका लागि मूख्य भिडन्त हुने देखिएको छ ।

वर्तमान अध्यक्ष सिंह महादेव खिम्ती निर्माण सेवाका प्रबन्ध निर्देशक हुन । यस्तै, वरिष्ठ उपाध्यक्ष निकोलस पाण्डे कालिका कन्स्ट्रक्सनका निर्देशक र बेदांशी इन्फ्रास्ट्रक्चर कम्पनीका प्रबन्ध निर्देशक समेत हुन् ।

५९ सदस्यीय कार्यसमिति चुनिँदै

महासंघको निर्वाचनले आगामी तीन वर्षका लागि ५९ सदस्यीय कार्यसमिति चयन गर्ने छ । निर्वाचनबाट अध्यक्ष, एक वरिष्ठ उपाध्यक्ष, एसोसिएटसहित ८ उपाध्यक्ष र एक महासचिव नेतृत्वमा आउनेछन् । यसैगरी, दुई उपमहासचिव, कोषाध्यक्ष र सह–कोषाध्यक्षसहित ४६ जना कार्यसमितिमा निर्वाचित हुने छन् । यी कार्यसमिति चयन गर्न देशभरका करिब ११ सय निर्माण व्यवसायी प्रज्ञा प्रतिष्ठानमा जम्मा हुनेछन् ।

पूर्वाधारमैत्री कानून बनाउन फेरि अध्यक्ष : सिंह

वर्तमान अध्यक्ष सिंहले पूर्वाधारमैत्री कानून र ऐन/नियम बनाउन फेरि महासंघको अध्यक्ष बन्ने दौडमा आफू लागेको बताएका छन् । सार्वजनिक खरिद नियमावलीको ११ औं संशोधन गराएर त्यसलाई ऐनका रूपमा संसदबाट पारित गराउने लक्ष्य रहेको उनले बताए ।

संसदमा विचाराधीन अवस्थामा रहेको सार्वजनिक खरिद ऐन विपक्षीको अवरोधका कारण बढ्न नसकेको र सो कानून अघि बढाउन भावी दिनमा पनि महासंघ नेतृत्वमा आफू चाहिने उनको दाबी छ । ‘यही अधुरो काम पूरा गर्न म फेरि निर्वाचनमा होमिएको हुँ,’ सिंहले भने, ‘म निर्वाचित भएपछि सरकारलाई निर्माण क्षेत्रमैत्री कानून बनाउन दबाब दिन्छु ।’

यसैगरी, अहिले निर्माण सामग्रीको मूल्य अहिलेसम्मकै कीर्तिमानी मूल्यमा पुगेको छ । मूल्यवृद्धि सम्बन्धी कानून नै बनाएर कृत्रिम र अनियन्त्रित मूल्यवृद्धि नियन्त्रण गर्ने आफ्नो लक्ष्य रहेको सिंहले बताए । यसैगरी, देशभरका निर्माण व्यवसायीको दबाब, सल्लाह र सुझावअनुसार नै पुनः अध्यक्षमा दाबेदारी गरेको सिंहले रातोपाटीसँग बताए ।

निर्माण व्यवसायीलाई इज्जत दिलाउन अध्यक्ष : पाण्डे

वर्तमान वरिष्ठ उपाध्यक्ष पाण्डेले देशभरका निर्माण व्यवसायीको दबाब थेग्न नसकेर अध्यक्ष पदमा दाबेदारी दिएको बताए । उनले महासंघको निर्वाचनअघि देश दौडाहामा जाने क्रममा व्यवसायीहरूले नेतृत्वमा आफ्नो आवश्यकता महशुस गरेको पाएको बताए ।

‘सोही मागअनुसार मैले अध्यक्षमा उम्मेदवारी दिएको हुँ । यस्तै, साथीभाइको सल्लाह र सुझावका कारण पनि म नेतृत्वमा जान लागेको हुँ,’ पाण्डेले रातोपाटीसँग भने, ‘अहिलेको नेतृत्वले आवश्यकता र व्यवसायीको चाहनाअनुसार काम गर्न नसक्दा समेत आफ्नो आवश्यकता देखेको छु ।’

यसैगरी, देशका निर्माण व्यवसायीलाई प्रतिष्ठा दिलाउन तथा लिएको ठेक्का समयमै सक्ने गरी काम गर्ने वातावरण आफूले बनाउने उनको भनाइ छ । साइट क्लियर नगरी ठेक्का लगाउने प्रवृत्ति अन्त्य गरी पूर्वाधारमैत्री वातावरण बनाउन समेत आफ्नो उल्लेख्य भूमिका रहने उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप