आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

पञ्जाबमा आपको जीतका पाँच कारण

शुक्रबार, २७ फागुन २०७८, ११ : ५३
शुक्रबार, २७ फागुन २०७८

पञ्जाब विधानसभा चुनावमा आम आदमी पार्टीले स्पष्ट बहुमत हासिल गरेको छ । राज्यको कूल ११७ सिटमध्ये आम आदमी पार्टीले ९२ सिटमा ऐतिहासिक जित दर्ता गरेको छ। कांग्रेसले १८ र भाजपाले दुई सिट जितेको छ । आपले कसरी यो ऐतिहासिक जित दर्ता गर्‍यो ? एकछिन विश्लेषण गरौँ । यस पछाडीका पाँच ठूला कारण यस्ता छन् :

भगवन्त मानलाई मुख्यमन्त्रीको उम्मेदवार बनाउने
यसपटक आम आदमी पार्टीले आफ्नो मुख्यमन्त्री पदका उम्मेदवार भगवन्त मानलाई स्पष्ट रूपमा घोषणा गरेको थियो । यस वर्षको सुरुदेखि नै पञ्जाबमा मुख्यमन्त्री पदका लागि आम आदमी पार्टीको अनुहारमाथि शंका थियो । यसअघि २०१७ को पञ्जाब विधानसभा चुनावमा पनि सीएम उम्मेदवारको सन्दर्भमा यस्तै अवस्था थियो । पञ्जाबमा आम आदमी पार्टीका झण्डै आधा उम्मेदवारहरू अन्य पार्टीहरू छोडेर आपमा सामेल भएका थिए । त्यसैले दिल्ली र पञ्जाबबीच द्वन्द्वको स्थिति आउन सक्थे। तर यसपटक पार्टी नेतृत्वले समयमै निर्णय गर्दै भगवन्त मानलाई मुख्यमन्त्रीको उम्मेदवारको रुपमा प्रस्तुत गरेको थियो । त्यसका लागि पार्टीले आफ्ना कार्यकर्ताबीच जनमत संग्रह पनि गरायो ।

पर्दा पछाडिको खेलाडी
पञ्जाबको चुनावलाई नियाली रहेका राजनीतिक विशेषज्ञ सागर बिश्नोई पञ्जाबमा पार्टीका रणनीतिकार सन्दीप पाठकले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको बताउँछन् । सन्दीप आईआईटीबाट अध्ययन गरेका हुन् । उनी लण्डनबाट फर्किएका हुन् । उनले यसअघि प्रख्यात राजनीतिक रणनीतिज्ञ प्रशन्न किशोरसँग पनि काम गरिसकेका छन् । पार्टी उच्च कमाण्डका निर्णयहरु कार्यान्वयनमा सन्दीप पाठकको हात रहेको पार्टी स्रोतको भनाई छ ।

बीबीसीलाई दिएको अन्तर्वार्तामा पार्टीका राज्यसभा सांसद सञ्जय सिंहले सन् २०१७ को विधानसभा निर्वाचनमा आम आदमी पार्टीको अभियान एक वर्ष अघिको शिखरमा पुगेको बताएका थिए। पार्टीले धेरै सिट पाउने प्रक्षेपण गरिसकेको थियो तर अभियानको अन्त्यमा आउँदै गर्दा अभियान चकनाचुर नै भएको थियो।

तर यो चुनावमा त्यस्तो भएन। सन्दीप पाठकको नेतृत्वमा उनीसँगै पाँच जना जुनियरको टोली गठन भएको थियो । सोसल मिडिया र चुनावको प्रमुख आकर्षणबाट यो टोली टाढा रह्यो ।

पञ्जाबलाई पाँच क्षेत्रमा विभाजन गरियो र एक व्यक्तिलाई एउटा क्षेत्रको जिम्मेवारी दिइयो ।  हरेक क्षेत्रको विस्तृत अध्ययनपछि टोलीले निर्वाचनका लागि उम्मेदवार छनोट गर्न मद्दत गर्‍यो ।  कुन उम्मेदवारलाई टिकट दिँदा कस्तो प्रकारको आक्रोश फैलन सक्छ भन्ने कुरा पत्ता लगायो । यसले समयमा नै पार्टीले त्यसलाई समाधान गर्‍यो ।

पञ्जाबमा यस्तो व्यवस्थापनले पार्टीलाई धेरै मदत गऱ्यो। सन्दीप पाठकले यसअघि २०७० सालको दिल्ली विधानसभा निर्वाचनमा आम आदमी पार्टीको अभियानलाई व्यवस्थापन गरेका थिए जसमा पार्टीले ठूलो जित हात पारेको थियो ।

परिवर्तनका लागि भोट

आम अदामी पार्टीले आफ्नो अभियानमा सुरुदेखि नै आख्यान निर्धारण गरेको थियो कि बितेका बीस वर्षदेखि जनताले अकाली दल, भाजपा वा कांग्रेसको शासन देखेका छन्, त्यसैले यस पटक नयाँ पार्टीलाई मतदान गरेर हेर्नुपर्छ।

यसैगरी पार्टीले आफ्नो दिल्ली मोडलमा विशेष जोड दिएको थियो । यसलाई शिक्षा, स्वास्थ्य र रोजगारीको मोडल भनिएको छ । पार्टीले मासिक ३०० युनिट निःशुल्क बिजुली र १८ वर्षभन्दा माथिका महिलालाई मासिक एक हजार रुपैयाँ दिने वचन पनि दिएका थिए । साथै किसानको आन्दोलनका कारण कृषिसँग सम्बन्धित समस्याहरु पनि चर्चामा आए र  यसमा पुरानै सरकारको असफलताबारे निर्वाचनमा निकै चर्चा भयो ।

मालवाको अभियान

मालवा पञ्जाबको सबैभन्दा ठूलो क्षेत्र हो । राज्यका ११७ विधानसभा सीटमध्ये ६९ वटा त्यही क्षेत्रमा छन् । सन् २०१७ को चुनावमा पार्टीले कुल २० सिट जितेको थियो । त्यसमध्ये १८ सिट मालवा क्षेत्रबाट भएको थियो । यो क्षेत्र पनि किसान आन्दोलनको मुख्य केन्द्रबिन्दु थियो।

यसपाली पनि पार्टीले मालवालाई बढी ध्यान दिएको थियो। मालवालाई तीन क्षेत्रमा विभाजन गरिएको थियो र यहाँ पार्टीले जोडतोडका साथ अभियान सुरु गरेको थियो। निर्वाचनको परिणामले पार्टीले यहाँ ६० भन्दा बढी सिट पाएको देखाएको छ।

कांग्रेसको कलह

आम अदामी पार्टीले पञ्जाबमा हरेक कदम ध्यान दिएर राखिरहँदा केही महिना यता कांग्रेसमा भने अस्थिरताका खबरहरु आएका थिए।

कप्तान अमरिन्दर सिंहलाई मुख्यमन्त्रीको कुर्सीबाट हटाइयो र नवजोत सिंह सिधुलाई पञ्जाबको इन्चार्ज बनाइयो । यसबारे कांग्रेस नेताहरुको असहमति बाहिर आयो । यसले कांग्रेस पार्टीभित्र फाटो छ भनेर जनतामाझ सन्देश गयो । यदि पार्टीले जित्यो भने पनि सायद यो कलहले पंजाबको शासनलाई खत्तम पार्ने जनताको बुझाइ रह्यो । आम आदमी पार्टीले यसबाट ठूलो लाभ लियो ।

बीबीसी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप