सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

आजु फूड्स : कर्णालीका रैथाने खाद्यान्न काठमाडौंमा किन्न पाइने ठाउँ !

शुक्रबार, २७ फागुन २०७८, १३ : २०
शुक्रबार, २७ फागुन २०७८

आजु एग्रो प्रडक्ट्स एण्ड सप्लायर्स प्रालिले कर्णाली लगायत देशका विभिन्न भेगमा उत्पादित रैथाने र प्राङ्‌गारिक (अर्गानिक) खाद्यान्न काठमाडौंमा बिक्रीवितरण थालेको छ । बालाजु चोक र स्वयम्भू चोकमा आउटलेट नै खोलेको प्रालिले ‘आजु फूड्स’ ब्राण्डमा विशेषगरी कर्णाली र उपलब्ध भएसम्म देशैभर उत्पादित रैथाने र अर्गानिक खाद्यान्न बिक्री शुरू गरेको जानकारी दिएको छ । दराजलगायत ई-कमर्श प्लेटफर्मलाई पनि आजुले रैथाने खाद्यान्न बिक्रीवितरणमा उपयोग गर्दैछ ।

राजनीतिक इतिहास तथा मानवशास्त्र अन्वेषक यादव देवकोटा आजु फूड्सका सञ्‍चालक हुन्‌ । अनुसन्धान/अन्वेषण शिलशिलामा देशका विभिन्न भेगमा पुग्दा तत्‌स्थानका स्वस्थकर रैथाने खाद्यान्नको पौष्टिक मूल्य उच्च पाएको, तर बजारीकरण अभाव तथा बढ्दो विषाक्त खाद्यान्न आयातले बीउसमेत मासिने जोखिम देखेपछि आफूले रैथानले खाद्यान्न संकलन र बिक्रीवितरण थालेको देवकोटाले रातोपाटीलाई जानकारी दिए । यही शिलशिलामा लेखक देवकोटा केही महिनाअघि कर्णाली र सुदूरपश्चिमका हिमाली भेगसम्म पुगेका थिए ।

‘एकातिर स्वास्थ्यमा प्रतिकूल असर पार्ने चर्को विषादीयुक्त खाद्यान्न उपभोग गर्न शहरबासी विवश, अर्कातिर ग्रामीण क्षेत्रमा उत्पादित खाद्यान्नले बजार नपाएको स्थिति !’ देवकोटाले भने, ‘रैथाने खाद्यान्न उत्पादन गरिरहेका किसानलाई थोरै भए पनि राहत मिलोस्‌, दुरदराजका किसानद्वारा उत्पादित खाद्यान्नलाई बजार र मूल्य मिलोस्‌, शहरबासीले पनि स्वस्थकर र प्राङ्‌गारिक खाद्यान्न उपभोग गर्न पाउन्‌ भन्ने ध्येयले आजु फूड्स सञ्‍चालन थालेको हुँँ ।’ कर्णालीसहित नेपालको विभिन्न स्थानका ग्रामीण क्षेत्रमा उत्पादित रैथाने खाद्यान्न बिक्री/वितरण आरम्भ भइसकेको उनले जानकारी दिए ।

विशेषगरी साविक कर्णाली अञ्चल (हाल कर्णाली प्रदेश) मा उत्पादित रैथाने खाद्यान्न काठमाडौंका उपभोक्तासम्म पुर्‍याउन आजु एग्रो प्रडक्ट्सले ‘आजु फूड्स’ ब्राण्डमा खाद्य सामग्री बेच्न बालाजु चोक र स्वयम्भू चोकमा आउटलेट संचालनमा ल्याएको हो। एक महिनाभित्रै ललितपुरको भनिमण्डलमा समेत आउटलेट संचालन गर्ने आजु फूड्सले जनाएको छ । यसैगरी, दरवारमार्ग/कमलादीमा रहेको ब्लूबर्ड डिपार्टमेन्टल स्टोरमा पनि ‘आजु फूड्स’ खरिद गर्ने व्यवस्था मिलाउन दुवै पक्षले तयारी अघि बढाएका छन्‌ ।

उपलब्ध छन्‌ यस्ता खाद्यान्न :

आजु फूड्‌सले जुम्लाबाट ल्याइएको सिमीको दाल, बहुचर्चित मार्सी चामल, बोडी, कागुनो, चिनो, फापर र जौ बिक्रीवितरण गरिरहेको छ । कालिकोटको सेतो मकै, जाजरकोटको भटमास, मस्याङ, गहत, सल्यानको मासको दाल, पाँचमुखे घ्यू पिँडालु, अदुवा, दैलेखको अप्रशोधित मह, रोल्पाको भाङ, म्याग्दीको सिलाम, सिस्नोको धुलो, मुस्ताङको जिम्बु, पोखरेली जेठो बूढो चामल, कपिलवस्तुको कालानमक चामल, गोरखाको इन्द्रबेली धानको चामल, भैंसीको घ्यू, बेसार, सातु, रामेछापको भटमास, सर्लाहीको बेसार, रहरको दाल, रुपन्देहीको आलस, खोकनाको कोलमा पेलेको तोरीको तेल, इलामको गाईको घ्यू, सोलुको सेतो सिमी लगायतका रैथाने खाद्यान्न समेत बिक्री गरिरहेको छ ।

बालाजु चोकस्थित ज्योति विकास बैंक अघिको घरमा आजु फूड्सको बिक्री केन्द्र रहेको छ । स्वयम्भू चोकको होटल नयनको भुइँतल्लामा पनि बिक्रीकक्ष राखेको छ । मुख्य गोदाम टेकु शुक्रपथमा खोलेको छ । स्थानीय किसानबाट सीधै सामान खरिद गरेर उपभोक्तामाझ पुर्‍याउन थोक र खुद्रा दुबै तवरले खाद्यान्न बिक्री-वितरण गरिरहेको सञ्‍चालक देवकोटाले जानकारी दिए । 

किसानले उत्पादन गरेको खाद्यान्न गोदाममा ल्याएर ग्रेडिङ, प्याकेजिङ्ग र ब्राण्डिङ गरेर उपभोक्तासम्म पुर्‍याउन देवकोटासहित विभिन्न व्यावसायिक उद्यममा संलग्न व्यक्तिहरूले ‘आजु समूह’ नै स्थापना गरेका छन्‌ । गोरखा र धादिङमा उत्पादनमूलक कार्यसमेत अघि बढाउनेगरी समूहले जमिन लिजमा लिएको छ । 

चर्को मूल्य तिरेर पनि स्वस्थकर खाद्यान्न नपाउने उपभोक्ताको स्वस्थ खाद्यान्न  उपभोग गर्न पाउने मौलिक हकप्रति प्रतिवद्ध हुँदै स्वस्थ, ताजा र उच्च गुणस्तरको खाद्यान्न उपलब्ध गराउने प्रतिबद्धता पनि सो समूहले व्यक्त गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप