आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

कागेश्वरीमा एकीकृत समाजवादीको एमालेसँग प्रतिस्पर्धा हुन्छ : नगरप्रमुख कृष्णहरि थापा

'हाम्रो यहाँ गठबन्धन दलहरूबीच राम्रो सम्बन्ध छ'
शनिबार, २८ फागुन २०७८, १६ : २२
शनिबार, २८ फागुन २०७८

कृष्णहरि थापा कागेश्वरी मनोहरा नगरपालिकाका प्रमुख हुन् । २०७४ सालको स्थानीय तहमा नेकपा एमालेबाट निर्वाचित भए पनि पार्टी विभाजनमा उनी एकीकृत समाजवादीतिर लागेका छन् ।

२०५४ सालको स्थानीय तहको निर्वाचनमा गाविस अध्यक्षमा समेत निर्वाचित भएका उनले आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा नगरप्रमुखमा उम्मेदवारी दिने वा नदिनेबारे निर्णय गरिसकेका छैनन् । पार्टी फुटपछि नगरपालिकाको कामसँगै संगठन विस्तारमा लागेका उनले एमाले एकीकृत समाजवादी दलको प्रतिस्पर्धी दल रहेको उनले बताए । आगामी स्थानीय तहको निर्वाचनको सम्बन्धमा केन्द्रित रहेर नगरप्रमुख थापासँग रातोपाटीले गरेको यो कुराकानी  : 

आगामी स्थानीय तहको निर्वाचनमा तपाईं दोहोरिने कि नदोहोरिने ? 

दोहोरिन त दोहोरिने हो तर अहिले नै भनिहाल्न सकिँदैन । पार्टीले के भन्छ, जनताले के भन्छन् सोही आधारमा दोहोरिने कि नदोहोरिने निश्चित हुन्छ । 

धेरैजस्तो स्थानीय तहका प्रमुख, उपप्रमुखले आफू फेरी दोहोरिने बताइरहेका छन् । तपाईंले ठ्याक्कै किन निर्णय गर्न नसक्नुभएको ? 

यसरी सिधै घोषणा गरेर हुँदैन । म २०५४ सालको गाविस अध्यक्ष पनि हो । फेरी ७८ सालमा पनि आफैले घोषणा गर्नुभन्दा साथीहरूले नै घोषणा गर्नु राम्रो हुन्छ भनेर हो । हाम्रो पार्टी सिस्टममा पार्टीले कसलाई उठाउँदा चुनाव जितिन्छ भनेर मूल्याङ्कन हुन्छ, त्यही निर्णयका आधारमा बोल्ने हो । राजनीति गर्नेमा चाहना भइहाल्छ, म पार्टीको जिम्मेवार कार्यकर्ता हो । पार्टीले निर्णय गरेपछि मात्रै मैले बोल्ने कुरा हुन्छ ।    

५ वर्षको अवधिमा के के काम गर्नुभएको छ ?

पूर्वाधार विकासदेखि भौतिक विकास सबै राम्रोसँग विकास भएको छ । कोभिड नियन्त्रणदेखि सबै काम राम्रोसँग गरेका छौँ । कृषि, स्वास्थ्यदेखि सबै पक्षमा राम्रोसँग काम गरेका छौँ । तपाईंले हाम्रो वेबसाइटमा हेर्नुभयो भने हामीले गरेका सबै कामको विवरण राखेका छौँ । 

आगामी स्थानीय तहको चुनावका लागि को उम्मेदवार बनाउने भन्ने बारेमा छलफल हुन थाल्यो कि छैन ?

म पहिले एमाले थिएँ, अहिले एकीकृत समाजवादीमा छु । अब साथीहरू को को आकाङ्क्षी हुनुहुन्छ अहिले स्पष्ट भइसकेको छैन । गठबन्धन बनाएर जाँदा काँग्रेसको भागमा पर्छ कि हाम्रो भागमा पर्छ निश्चित छैन । मैले २०७९ साल वैशाख १ गते घोषणा गर्छु भनेको छु । म चुनावमा उठ्ने वा नउठ्ने त्यही दिन घोषणा गर्छु । 

एमालेसँग फुटेपछि कागेश्वरी मनहरामा एकीकृत समाजवादीको अवस्था कस्तो छ ? 

यो त चुनाव नभई कसरी थाहा हुन्छ ? समाजवादीको सबै वडा कमिटी गठन गरिसकेका छौँ । सबै पार्टीको अवस्था उस्तै उस्तै छ । राजनीतिक रूपमा हामी अगाडि बढ्ने प्रयास गरिरहेका छौँ । 

पार्टी फुटको असर कस्तो देखिएला ? 

पार्टी फुटको असर त देखिनै हाल्छ । स्थानीय स्तरमा पार्टी भन्दा पनि व्यक्तित्व हेर्ने कुरा पनि हुन्छ । हामीले पाँच वर्ष राम्रोसँग काम गरेका छौँ । भोलि पार्टीले टिकट दियो भने र जनताले पनि मूल्याङ्कन गरे भने पार्टी फुटेर केही प्रभाव पर्दैन । 

स्थानीय स्तरमा गठबन्धन दलको सम्बन्ध कस्तो रहेको छ ? 

गठबन्धन बनाउने केन्द्रबाट हुन्छ कि स्थानीय तहलाई नै जिम्मा दिन्छन् त्यो पछि निर्णय हुन्छ होला । स्थानीय तहमा जिम्मा दियो भने हामी यहीँ निर्णय गर्छौँ । चैत १५ सम्म गठबन्धनबारे निर्णय भइसक्ने कुरा पनि आएको छ । महानगरपालिकाहरू गठबन्धन दलबीच भाग लगाएको कुरा पनि आएको छ । हाम्रो यहाँ गठबन्धन दलहरूबीच राम्रो सम्बन्ध छ । 

पार्टीले तपाईंलाई फेरी टिकट दियो भने जित्ने आधार छ कि छैन ? 

मज्जासँग एकदम मज्जासँग जित्ने आधार छन् । यसको आधार भनेको हाम्रो टिमले  पाँच वर्ष गरेको कामको आधार नै हो । कागेश्वरी मनहरामा हामी आठ दशवटा बाटो पिच भएकोमा अहिले बिस तीसवटा सडक पिच भएको छ । नगरपालिकामा ८० प्रतिशत सडक पिच भइसकेको छ । केही बाटोहरू निर्माण भइरहेको छ । नगरको गौरवको रूपमा ५३ करोड लागतमा नगरपालिकाको भवन बन्दैछ । स्वास्थ्य केन्द्रहरू, मूलपानी अस्पताल, शिक्षा क्षेत्रमा आमूल परिवर्तन गरेका छौँ । अहिले गोकर्णेश्वर नगरपालिका, कागेश्वरी नगरपालिका र शंखरापुर नगरपालिका मिलेर २६ हजार रोपनी जग्गाको ल्याण्ड पुलिङ्को काम गरेर वितरण गर्दैछौँ । यो योजना हामीले ल्याएको भौतिक पूर्वाधार मन्त्रालयबाट पास भइसक्यो । हामीले जग्गा एकीकरण गरेर दिँदैछौँ । यसमा २० प्रतिशत जग्गा बाटोमा जान्छ, १० प्रतिशत अरुमा जान्छ, ५ प्रतिशत जग्गा खाली हुन्छ । ३५ प्रतिशत जग्गा काटेर व्यक्तिलाई ६५ प्रतिशत फिर्ता जान्छ । मूल्यको भ्याल्यूको आधारमा बाटो ढल सहित जग्गाको मूल्य डबल हुन्छ । 

हाम्रो नारा जडीबुटी जोरपाटी पूर्वलाई पूर्वी काठमाडौँको रूपमा विकास गर्नुपर्छ भन्ने हो । त्यो हिसाबले अहिले हामी लागिरहेका छौँ ।

तपाईंको नगरपालिकामा राजनीतिक दलहरू स्थानीय तहको निर्वाचनको तयारीमा लागेका छन् कि छैनन् ? 

सबै चुनावमा लागिसकेका छन् । मेयर उपमेयरका प्रत्याशीहरू गाडी चढेर घर घर जान थालिसकेका छन् । सांसद, प्रदेश सांसदभन्दा पनि अहिले मेयरको चमक धेरै छ । चुनावका लागि सबै लागिरहेका छन् । कोभिडका बेला पार्टीका नेता सबै सुतेर बसे ज्यान बचाउनका लागि । अहिले सबै संगठन बनाउनका लागि कुदिरहेका छन् । 

पार्टी फुटेपछि एकीकृत समाजवादीको संगठन निर्माणको काम कसरी गर्दै हुनुहुन्छ ? 

अहिले म पनि नगरपालिकाको कामका साथै संगठन विस्तारको काममा पनि लागेको छु । 

कागेश्वरी मनहरामा तपाईंहरूको एमालेसँगको सम्बन्ध कस्तो रहन्छ ? 

मेरो त एमाले, कांग्रेस, माओवादी, राप्रपा सवैसँग राम्रो सम्बन्ध छ । नगरपालिकामा म अहिले पार्टीभन्दा माथि उठेर काम गरिरहेको छु । चुनावमा त प्रतिस्पर्धा त भइहाल्छ नि । 

स्थानीय तहको चुनावका लागि दलहरूमा उम्मेदवारका आकाङ्क्षीहरू कत्तिको रहेका छन् ? 

उम्मेदवारका आकाङ्क्षीहरू त धेरै छन् । काँग्रेसमै पन्ध्र सोह्र जना छन् । एमालेमै दश बाह्र जना छन् । हाम्रो पार्टीमा पनि चार पाँच जना छन् । राप्रपाले पनि सबै ठाउँमा उम्मेदवारी दिन्छु भनेको छ । हाम्रो नगरपालिकामा मुख्य पार्टी ५ वटा छन् । यहाँ तराईका पार्टीहरू चाहिँ छैनन् । काँग्रेस, माओवादी, समाजवादी, एमाले र राप्रपा नै मुख्य पार्टीका रूपमा छन् । यी दलहरूले नै उम्मेदवारी दिन्छन् । 

(नगरपालिका परिचय :  काठमाडौँ जिल्लाको उत्तर पूर्वमा रहेको कागेश्वरी मनोहरा नगरपालिका तत्कालीन गोठाटार, मूलपानी, डाँछी, भद्रवास, आलापोट र गागलफेदी गाविसहरूलाई समायोजन गरी गठन गरिएको नगरपालिका हो । 

यो नगरपालिको पूर्वमा शंखरापुर नगरपालिका, दक्षिण पूर्वमा भक्तपुरको मध्यपुर थिमी नगरपालिका र चाँगुनारायण नगरपालिका, दक्षिण पश्चिममा काठमाडौँ महानगरपालिका र उत्तर पश्चिममा  गोकर्णेश्वर नगरपालिका पर्दछ । यस नगरपालिकाको हावापानी समशीतोष्ण प्रकारको छ । भौगोलिक हिसाबले यो नगरपालिकामा समथल जमिनदेखि शिवपुरी लेकसम्मको भूभाग रहेको छ । प्रशासनिक हिसाबले यो नगरपालिकामा ९ वटा वडाहरू रहेका छन् ।) 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शम्भु दंगाल
शम्भु दंगाल

शम्भु दंगाल संसदीय मामिला, पुनर्निर्माण र समसामायिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप