बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

विधवाले दोस्रो विवाह गर्नु पाप हो र ?

शनिबार, २८ फागुन २०७८, १७ : ४३
शनिबार, २८ फागुन २०७८

गहुँगोरी, हल्का मङ्गोलियन जस्तो चेप्टो अनुहार, रसिलो आँखामा हल्का गाजल, पिपलपाते ओठमा हल्का फिका गुलाबी लिपिस्टक । अनि घाँटीमा सेतो मोतीको माला, सिलिक्क परेको कालो केश बिचमा सिउँदो पारेर साइड साइडमा बफ बनाइएको त्यो हेयर स्टाइल । सपक्क पारेर लगाएको सेतो सारी, कालो ब्लाउज, हातमा सानो चिटिक्क परेको ब्यागमा सदा मुस्कुराइ रहने उहाँ अरु भन्दा बिल्कुलै भिन्न देखिनु हुन्थ्यो ।

प्रायः विभिन्न कार्यक्रममा उहाँको सहभागिता भइरहन्थ्यो । कार्यक्रममा उहाँको बोलाई अनि ड्रेसअपको फ्यान भैसकेकी थिएँ म । तर उहाँसँग नजिक भएर परिचय गर्ने मौका जुरेको थिएन ।  प्रायः  कार्यक्रममा एक सुन्दर युवक उहाँलाई पुर्याउन आउँथे ।

एक दिन होटेल रुबसमा महिला सशक्तिकरण सम्बन्धि कार्यक्रम थियो । कार्यक्रम सुरु भैसकेकोले अगाडिका सबै कुर्सी प्याक थियो । म पछाडि बसेकी थिएँ, उहाँ पनि मेरै छेउमा आएर बस्नु भयो । मलाई मनपर्ने मान्छे सँगसँगै बस्न पाउँदा मनको एक कुनामा खुशीको बतास सल्बलाई रहेको थियो ।

खाजा खानेबेला एकै टेबलमा बसेर कफी पिउँदै परिचय गर्यौं । उहाँले भन्नु भो, ‘म  सरिता, बसाईं धनगढी, पेशाले समाजसेवी, रुचि साहित्य पढ्न मन पराउने ।’ उहाँको कुरा नसकिदै उत्साहित हुँदै मैले हत्तपत्त सोधें, ‘लेख्नु पनि हुन्छ कि दिदी ?’ धपक्क बलेको दिदीको मुहारमा एकाएक मलिनता छायो । ओहो मैले त सोध्नै नहुने कुरा पो सोधेछु कि क्या हो भन्ने लाग्यो । मन्द मुस्कान छर्दै उहाँले भन्नु भयो, ‘लेखेपछि त आफैसँग थुप्रै कथा छन् तर लेख्ने बानी छैन । बजारमा आएको जति सबैजसो उपन्यास भने पढ्छु ।’

मैले उत्साह बढाएँ, ‘उसो भए हजुरको आफ्नै कथा लेख्न सुरु गर्नुस् अब ।’

उहाँले मलिन स्वरमा भन्नु भयो, ‘हैट लाटी, आफ्नो आँखाको कसिङ्गर आफैँ कहाँ निकाल्न सकिन्छ र ?’

मैले आफ्नो परिचय दिइसकेपछि भनें, ‘मेरो रुचि पनि हजुरसँग मिल्दोजुल्दो छ तर कहिलेकाहिँ फाट्टफुट्ट लेख्छु पनि ।’

दिदीले हाँस्दै भन्नु भयो, ‘ल अब मेरो कथा तिम्ले नै लेख्ने भयो । तिम्रो र मेरो दोस्ती अझ पक्का हुने भो ।’ त्यो दिनको कुराकानी सकियो ।

यसरी जति उत्साहित उहाँसँग म परिचय गर्नलाई थिएँ, त्यो भन्दा सयौं गुणा उहाँको जीवनका भोगाई सुन्नलाई आतुर भएँ । घर पुगेर फेसबुक खोलेर दिदीको नाम सर्च गरें । प्रोफाइलमा दुईजनाको फोटो थियो, दिदी सँगको अर्को ब्यक्ति अरु कोही नभएर सधंै कार्यक्रमा दिदीलाई पुर्याउन अनि लिन आउने ब्यक्ति थिए । मेरो उत्साहमा एक हिस्सा उत्साह अझै थपियो  । मनमनै गुन्गुनाएँ, जोडी त बनाएकै हुन् भगवान्ले ।

हत्तपत्त दिदीलाई फे्रन्ड रिक्वेस्ट पठाएँ । अझ मनले मानेन, फेसबुकमा पोस्ट भएका सबैजसो फोटो एक एक गरी हेर्न थालें । फोटो मात्रै कहाँ हो र, उहाँले पोस्ट गरेका हरेक स्टाटसमा एक अद्भूत भाव भेटें । कहीँ कतै मेरा आफ्नै कथाजस्तो लाग्यो । त्यस साँझ अरु केही नगरी दिदीका सबै  स्टाटस हेरेर भ्याएँ । ‘मलाई फेरि तिमीसँग प्रेम मन छ प्यारा, एकपटकको धोकाले धित मरेको छैन । प्रेम थियो र पो मैले चुपचाप हारिदिएँ, यदि युद्ध हुन्थ्यो भने मैले पनि संर्घस गर्न जानेकी थिएँ’ जस्ता शब्दले उहाँको आनीवानीसँगै अब उहाँको स्टाटसको नि क्रेजी भएँ ।

जब कि एक पटक धोका दिएको मान्छेको त छाँया पनि हेर्न मन लाग्दैन । स्टाटसको शब्दमा धित मरेको छैन । अझ धोका दिएको मान्छेसँग पे्रम, उफ कस्तो अचम्मको विचार । उहाँ मान्छे राम्रीसँगै उहाँको यावत थोक राम्रो लाग्न थाल्यो । दिदीसँग भेट्ने चाहनाको गति तीब्र भयो । खाटमा पल्टें, आँखामा निद्राको लेश थिएन, आँखा वरपर त्यही दिदी नाचिरहेकी थिइन् । नसुतौं भने भोलिपल्ट अफिस छ, जबरजस्त निदाउन प्रयास गरें ।

अरु दिन भन्दा त्यस बिहान अलि चाँडै निद्रा खुल्यो । सिरानीमुनि राखेको मोबाइल हेरें, दिदीले म्यासेस गर्नु भएको रहेछ, ‘यदि आज तिम्रो टायम मिल्छ भने अफिसपछि फल्याट ल्यान रेस्टुरेरन्टमा कफी गफ गरौं न ल ।’ म्यासेस पढ्दा पुरै जिऊ हलुङ्गो लाग्यो । किनकि दिदीको कथा सुन्न ब्याकुल थिएँ म । मैले उहाँले पठाको म्यासेजमा थम्स लाएँ ।

उठेर नुहाई धुवाई गरें । दिदीसँग भेट्ने कुराले आतुर थिएँ । आज छोरालाई स्कुल श्रीमानलाई पुर्याई दिन आग्रह गर्दै अफिस निस्किएँ । बेलुका चार बजेको थिएन, दिदीको फोन आयो, ‘आऊ, म अफिसबाट निस्कें ।’

ल्यापटप बन्द गरेर ब्यागमा राखेर हतारिदै निस्कें म । दिदी म भन्दा पहिल्यै पुगिसक्नु भएको रहेछ । छेउको कुर्सीमा बस्दै मैले भनें, ‘के पिउने दि, कफी कि चिया ?’

‘मैले अर्डर गरिसकें तिम्लाई मनपर्ने कुरा ।’ आश्र्यजनक हुदै भनें, ‘दि कसरी थाहा भयो हजुरले मेरो रोजाई के हो भनेर ?’

मैले हिजो राती तिम्रो प्रोफाईल खोलेर हेरेकी थिएँ, तिमीले लेखेको अदृश्य प्रेम पढेकी थिएँ । त्यसबाट थाहा पाएँ, तिमीलाई कफी मन पर्छ भनेर ।’ यत्तिकैमा कफी आयो । धनगढीमा मलाई सबैभन्दा मनपर्ने कफी फल्याट ल्यानकै हो । किन हो, त्यस दिनको कफी अझ बिशेष लाग्दै थियो मलाई ।

अरु दिनको भन्दा त्यस दिन दिदी अलि फरक देखिदै हुनुहुन्थ्यो । अनिदो भाको झैं आँखा सुन्निएको जस्तो त्यो दिन दिदीको हाँसोमा मलिनता थियो । सायद विगतमा दिदीको भोगाईको स्मृतिका पानाहरु पल्टिएको हुनुपर्छ, अतितका त्यान्द्रोले हल्लाएको हुँदो हो । बेचैनी, उदास उदास पुरै मौन ।

एकछिन आफूलाई दोषी सावित गरें मैले । दिदीको विगतको रिल मैले गर्दा फनफनी घुम्नेवाला छ भन्ने लाग्यो मलाई । कुरा मैले नै सुरु गरें, ‘घरमा को को हुनुहुन्छ, छोरा छोरी कति छन् ?’ 

‘दुई छोरा अनि हामी दुई ।’

मैले भनें, ‘भिनाजु निकै हेन्डसम हुनुहुन्छ नि दिदी ।’

लजाउँदै फिस्स हाँस्दै भन्नु भो, ‘त्यही हेन्डसमको त ठूलै कथा छ मैयाँ । ल सुन ।’ दिदीले लामो सास तान्नु भयो र आफ्नो जीवनीको पोको फुकाउन लाग्नु भयो ।

.....

पन्ध्र वर्षको कलिलो उमेरमा जिन्दगीको मधुरो यात्रा सुरु भयो । विडम्वना छोरो मात्र चार महिनाकोे हुँदा विधुवाको ट्याग लाग्यो । काखमा दुधे बालख च्यापेर जिन्दगीको सफर गर्न त्यति सजिलो त कहाँ थियो र ? तर पनि छोराको लागि म बाँच्नु पर्छ भन्ने सोचले आफ्नो मन दरिलो बनाउँथे । श्रीमान्को काजक्रियाको सबै काम सकेर बाहिर निस्किएँ । सबैको छायाँ बनिसकेकी रहेछु । पानी पधेंरो, घाँस दाउरा जाँदा टोल छिमेकले मलाई हेर्ने दृष्टिकोण नै फरक लाग्थ्यो । तर के गर्नु बाध्यताको भुमरीमा पौडिन सिक्नु थियो मलाई । जसरी छोरो दिनदिनै बढ्दै गयो, उसरी नै उसको लालनपालनको लागि आवश्यकता बढ्दै गयो । अझ जिम्मेवारीको एरिया चौरा भयो मेरो लागि ।

म आफै काम गर्नुपर्छ भन्ने सोचका साथ जब सघंर्षको मैदानमा उत्रिएँ, अनि सुरु भयो, फलानीकी बुहारी, फलानाको छोरी यस्ती उस्ती । उफ, कति सुन्नु ? सुन्दा सुन्दा वाक्क भएर आफ्नो नाम निशानै मेटाई दिऊँ जस्तो लाग्थ्यो । आधा रातमा बिउझिन्थें, छेउमा सुतेको छोरोलाई सुम्सुम्याउँथे । यो कलिलो मुनालाई फुलाउनु पर्छ, होइन भने मलाई पाप लाग्छ भन्ने लाग्थ्यो । तर जिन्दगी सहज थिएन । किनकि म माथि विधवाको छाप लागेको थियो ।

आज भोलि भन्दै दिनहरु निकै सुस्त गतिमा बित्दै थिए । सानोतिनो काम गर्दै जिन्दगीको गाडी चलिराको थियो । मन भुलाउन माइती जान्थें । माइती बस यात्रामा घरदेखि करिब तीन घण्टाको दुरीमा पथ्र्यौ, कति पटक चाहना भएर पनि बाटो खर्च नभएर माइत जान नि सक्दैनथें । माइतीको नि कति बोझ बन्नुँ भनेर एक मनले आफूले आफैलाई बोझ जस्तो पनि लाग्थ्यो ।

‘मेरी आमाले बेला बेला भन्नु हुन्थ्यो, कोही नहुनेको भगवान् हुन्छन्, छोरी ।’ आमाले भनेका ती कुराले मनमा ठूलो राहत महसुस गराउँथ्यो । म जस्तै कलिलो उमेरमै सिउँदो पुछिएको दिदी बहिनीहरुलाई हेरेर आफ्नो मन बुझाउँथे ।

समयको गतिसँगै मेरो उमेर पनि बढ्दै गयो, उमेरसँगै केही कुरा सोच्ने क्षमता नि बढ्यो । अब कतिन्जेल माइतीको सहारामा बस्ने ? छोराको लागि म आफै कमाउनु पर्छ भन्ने लाग्यो । कामको सिलसिलामा झापा पुगें, त्यहाँ दुई वर्ष काम गरेर फेरि घर फर्किएँ । जेनतेन अर्को काम त पाएँ तर त्यो भन्दा धेरै अपमान पाएँ अफिसको हाकिमबाट । तर के गर्नु, म लाचार थिएँ, सहनु बाहेक अरु विकल्प थिएन ।

सहनुको पनि सीमा हुन्छ । अन्त्यमा सहनै नसकेर त्यो जागिर पनि छाडें, निकै दिन खाली बसें । एक समय छोरालाई भुलाउन एक रुपैंयाको चकलेट  किनदिन सक्ने स्थिति भएन । मेरो छोराको धुलो माटोमा रङ्गिएको लुगा पानीमा मात्र कसरी धुनु ? घरमा सबै थिए, जेठानी दिदी जेठाजु, ससुरा बा । तर उहाँहरुलाई कति सताउनु ? मेरो गाउँसम्म आउने मान्छे पाएपछि मेरी प्यारी भाउजुले सरफ, साबुन स्याम्फु बाबुलाई लुगा अनि मलाई फरिया पठाई दिनु हुन्थ्यो  । कोठामा बसी ती समान काखीमा च्यापेर रुन्थें । ती समान छुँदा माइतीको सम्झनाले स्पर्श गथ्र्यो । यसरी कति दिन चल्छ भन्ने लाग्थ्यो ।

मुटुमा रगतको म्याराथुन दौडिरहेको थियो । मनमा एक हुल साहस जुटाएर फेरि अर्को जागिर खोज्ने निधो गरें । बाबुलाई माइती घरमा छाडेर जागिरको लागि निस्किएँ । मेरो संघर्ष देखेर बाबा आमाले बेला बेलामा कुरा निकाल्नु हुन्थ्यो, ‘यो बालख नातिको सहारा खोज्नुपर्छ छोरी । तिमीलाई बुझ्ने तिम्रो नजरमा कोही छ भने निर्धक्क भन । भगवान्ले छुटाको जोडी भगवान्ले नै जुटाउनु हुन्छ ।’

तर भने जस्तो सजिलो कहाँ पो थियो र ? यो रङ्गिन दुनियाँमा म बेरङ्ग विधवालाई साथ दिने मान्छे कहाँ पाउनु ? मान्छे त पाउँथे तर मन होइन, शरीर मात्र चाहने । कोही मलाई भित्रैदेखि चाहन्थे तर छोरालाई सँगै राख्न आनाकानी गर्थे । आमाको ममता दिने स्थानमा आफ्नो खुशीलाई कसरी पो प्राथमिकता दिन सक्थे र म ? यही छोरा त उनको एउटा नासो थियोे मसँग । जिन्दगीको उभरखाभर डगरमा हामी आमा, छोरा दुबैलाई सकार्ने युवा पनि भेटिए तर उसको परिवारले स्वीकारेन । उ पनि यही समाजको मानिस त थियो नि, जुन समाजले विधवालाई मान्छे नै गन्दैन । 

यतिन्जेल कुरै कुरामा कफी चिसो भैसकेको थियो, दिदीले फेरि अर्को कफी मगाउनु भयो । झमक्क साँझ परिसकेको थियो, चरा चुरुङ्गी चिरबिर चिरबिर गर्दै आफ्नो बथान खोजिरहेको थिए । यता मेरो मनमा खुल्दुली मच्चिरहेको थियो त्यसपछि दिदीको जिन्दगीमा के भयो होला भनेर ।

कफी सुरुप्प पार्दै दिदीले कुराको फेरो जोड्नु भयो । भ्वाङ्ग परेको जिन्दगी र उनको उपहार सेतो फरिया लतार्दा लतार्दै सात वर्ष भैसकेको थियो । अघि तिम्ले भनेको हेन्डसमसँग चौध वर्ष अघि अचानक भेट भयो । सानो छँदा देखेको एकदमै फरक देखें उनलाई । मेरो बारेमा सबै कुरा थाहा पाएका रहेछन् । त्यति धेरै केही सोधेनन् ।

त्यति बेला बाँचेपछि भेट हुँदोरहेछ भन्दै हामी छुट्टियौं । कहिलेकाहीँ फोनमा कुरा हुन थाल्यो । कहिले हाम्रो समाजको बारेमा, कहिले जिन्दगीको बारेमा यस्तै यस्तै कुराको सिलसिलामा एकदिन एक दिन उनले भने, ‘अब  तिमी र मैले मिलेर यो हाम्रो समाजमा केही परिवर्तन गर्नुपर्छ । जीवनमा म नयाँ काम गर्न चाहन्छु, यदि तिम्रो अनुमति भए ।’

उफ, एक छिन त मेरो सासै राकिएला झैं भयो । मेरो मुखबाट कुनै बोली नै फुटेन । उनी अविवाहित, म एक विधवा, त्यही माथि एक छोराको आमा । यो कसरी सम्भव होला ? म त दुःखको महासागरमा तैरिएकी मान्छे । अहँ उनलाई मैले दुःख दिनु हुन्न भन्ने लाग्यो । उनको परिवारले यो कुरा मान्दैन भन्ने लाग्यो । मैले सोधें, ‘के तिम्रो परिवारले मान्छ त यो कुरा ?’

‘नमाने के भो त, तिमी र म मिलेर मनाउने कोसिस गरौंला नि  । हरेक नयाँ कामको थालनी गर्दा विभिन्न बाधा व्यवधान आउन सक्छन्, त्यसलाई सामना गर्न सक्नु नै जिन्दगीको अर्को नाम हो । त्यसका लागि हामीले संघर्ष गर्नुपर्छ ।’ यसरी उनले मेरो घाउको पिप निचोरी दिएका थिए ।

मलाई उनका सबै कुरा सही हो जस्तो लाग्यो । छोरालाई सम्झें, जन्म दिने बाबालाई एक शब्द बाबा भन्न नपाए पनि कर्म दिने बाबा पाउने भो । तर त्यो खुशी ल्याउन त्यति सहज थिएन । एक्लै हुँदा समाजबाट पाएको अवहेलना, कसैको लगनको लुगा छुन नदिएको समाज । विधवाको अनुहार हेर्दा साइत बिग्रिन्छ रे । मेरो रित्तो हात अनि सेतो लेंहगा, फरियामा दाग लगाउन खोजेका, म प्रति गरेका दुव्र्यावहार, सबै सबै एक एक गरी सम्झें ।

अर्को बिहान आफ्नो अन्तिम निर्णय सुनाए उनले । अबको हाम्रो सहयात्रा सँगै गर्ने निर्णय तय भयो । हामी खुलेर बाहिर आयौं । हामीलाई त लागेको थियो कि निकै उदाहरणीय काम गरेका छौं । सुरुमा हाम्रो सम्बन्ध तीतो लागेपनि बिस्तारै मीठो बन्नेछ । तर सहयात्राको दुई दिन के भाको थियो, चिया पसलदेखि भट्ट पसल, गाउँका सबै टोल टोलमा हाम्रै चर्चा चल्न थाल्यो ।

हामी दुई सँगै हिँडेको देख्दा उनलाई दुर्बाच्य बोलेर खिल्ली उडाउनेहरु थिए, ‘थुइक्क, कस्तो मुर्ख होस् तँ, अरु कुनै केटी पाइनस् ? बच्चा सितको माउ उठाएर ल्याएछस् ?’

‘धर्म तोड्ने कस्ती आईमाई हो यो, पति गुमाउनुको केही पीडा छैन ।’ हिजो मेरो शरीरमा गिद्धे नजर लगाउनेहरु आज मलाई तथानाम भन्दै थिए ।

उता उनको परिवारले त झन हाम्रो छाँया समेत हेर्न चाहेनन् । बुहारीको ‘ब’ शब्द उच्चारण गरेनन् । आफ्नो पोईलाई खाईस्, आफ्नो घरबार बिगारिस्, अब हाम्रो घर बिगार्न आकी राँडी । अरु भेटिनेस्, मेरै छोरो देखिस्, हाम्रो घर बिगार्ने पापिनी अलिक्षिणी होस् तँ ।

यस्तो गालीको बर्षाले चारैतर्फ अँध्यारो देखें । जन्मको अन्तिम सत्य नै मृत्यु हो, अमर त को नै छ र ? हामी सबै जाने बाटो त्यही हो, केवल अघिपछि मात्रै त हो । भोलि कसले पो देखेको छ र ? तर किन बुझ्दैन यो समाज ?संसार भरिको घृणा समेटिएर मेरो चित्तमा पोको  परेजस्तै महसुस भयो मलाई । प्रश्नै प्रश्न उब्जिन थाल्यो मनमा ।

के एक विधवाले दोस्रो विवाह गर्नु पाप हो र ? जिन्दगीमा गर्नै नहुने काम गरेको हुँु र मैले ? कसलाई भनेर आफ्नो मनको गरुङ्गो बोझ हल्का गरुँ ? आँखा अगाडि पहिलेको त्यो दृष्य फनफनी रिङ्गन थाल्छ । अकल्पनीय ब्यथाले मुटु निमोथ्न सुरु गर्छ । त्यसबखत आफूले आफैलाई लुकाएर, आफूलाई स्वयम् म त्यो अभागी ब्यक्ति होइन भन्ने छल्दै रम्न खोज्छु । तर मेरो सब कोसिस बेकार हुन्छ, दृष्यहरु झन झन सजीव हुँदै जान्छ । आज तिम्लाई आफ्नो कथा सुनाउन पाउँदा मन धेरै हल्का भएको छ ।

...

देखिने पहेँलो जति सुन हुँदैन भने जस्तै दिदीको जीवनकथा सुनेर दिदीको अर्को रुप थाहा पाएँ । वास्तवमा मनभरि पीर ब्यथा लुकाएर बाहिर रानी बनेर हिँड्न सक्नेलाई नै महान् नारी भनिन्छ ।

धनगढी,कैलाली

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप