बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

ओममणिलाई धनमान कथा पुरस्कार

आइतबार, २९ फागुन २०७८, १० : ०१
आइतबार, २९ फागुन २०७८

लघुकथा समाज केन्द्रीय समितिले धनमान कथा पुरस्कार २०७८ साहित्यकार ओममणि शर्मालाई प्रदान गरेको छ । संस्कृतिविद् सत्यमोहन जोशीको प्रमुख आतिथ्यमा उहाँकै निवास बखुण्डोल, पाटनमा आयोजित कार्यक्रमा सो पुरस्कार प्रदान गरिएको हो । संस्कृतिविद् सत्यमोहन जोशी, लघुकथा समाजको केन्द्रीय अध्यक्ष श्रीओम श्रेष्ठ रोदन, सचिव तुलसीहरि कोइराला, प्राडा. लक्ष्मण गौतम, नाटककार अशेष मल्ल, रामप्रसाद पन्त लगायतले उक्त पुरस्कार संयुक्त रूपमा हस्तान्तरण गरेका थिए । 

कार्यक्रको उद्घाटन गर्दै लघुकथा समाजका महासचिव तुलसीहरि कोइरालाले धनमान साहित्य पुरस्कार २०७५ सालदेखि प्रदान गरिँदै आएको बताए । उनले यस पटक कथा विधाको पुरस्कारको पालो परेको र ३० को दशकदेखि निरन्तर कथा तथा नाटक क्षेत्रमा साधनारत साहित्यकार ओममणि शर्मालाई प्रदान गरिएको बताए । नेपाली साहित्यमा कथा लेखनको संस्थागत विकासको लागि लेखन तथा प्रवद्र्धन योगदान दिएबापत उहाँलाई सो पुरस्कार प्रदान गरिएको लघुकथा समाजले जनाएको छ । सो पुरस्कारको राशि १५,१०० रुपियाँ नगदसहित सम्मानपत्र रहेको छ । 

प्राडा लक्ष्मणप्रसाद गौतमले साहित्यकारद्वय पुरस्कार प्रदान गर्ने र पुरस्कृत हुनेहरुको कथायात्रा आफूभन्दा ७, ८ जेठो रहेको बताउँदै सो समयदेखि हालसम्म सिर्जनारत रहनुले गौरवको अनुभूति भएको बताए । शताब्दी पुरुष सत्यमोहन जोशीको यो आगनीमा यो कार्यक्रम हुनु स्वयंममा ऐतिहासिक रहेको पनि उनले बताए । 

शुभकामना मन्तव्य दिँदै रङ्गकर्मी अशेष मल्लले ओममणि शर्मा २०३० को दशकदेखि कथा तथा नाट्य क्षेत्रमा कलम चलाउँदै आएका व्यक्तित्व भएको बताए । उनले भने, “शर्माको ‘छाप’ कथा सङ्ग्रह साझा प्रकाशनबाट प्रकाशित छ, यसका अतिरिक्त थुप्रै लघुकथाहरु विभिन्न पत्रपत्रिकामा प्रकाशित छन् । मेरा ९९ प्रतिशत नाटकमा उहाँले अभिनय गर्नुभएको छ ।” सो कार्यक्रमा धनमान श्रेष्ठकृत ‘धनमान श्रेष्ठ ः व्यक्ति एक आयाम अनेक’ पुस्तक पनि विमोचन गरिएको छ । शताब्दी पुरुष सत्यमोहन जोशीको करकमलबाट उक्त पुस्तक विमोचन गरिएको थियो । 

उक्त कृतिकाबारेमा वरिष्ठ साहित्यकार रामप्रसाद पन्तले परिचर्च गरेका थिए  । २०१४ सालको रूपरेखा पत्रिकामा कैदी कथा लेखेर धनमानले कथा यात्राको सुरु गरेको र ८४ वर्षको उमेरमा पनि उत्तिकै सक्रिय उनले बताए । २०७८ पुसको शारदामा कोरोनाको  विकासे कहर उहाँको पछिल्लो कथा रहेको चर्चा पनि उनले गरे । स्वास्थ्य क्षेत्रमा कार्य गरी उपसचिव पदबाट अवकाश लिएका श्रेष्ठको साहित्यप्रतिको झुकाव अनुकरणीय रहेको छ । 

कार्यक्रमका अध्यक्ष श्रीओम श्रेष्ठ रोदनले यो पुरस्कार स्थापना गरी साहित्य क्षेत्रमा गरेको योगदानको प्रशंशा गरे । उनले २०६५ सालमा लघुकथा समाजको स्थापना भइसकेपछि विभिन्न पुरस्कारहरुबाट स्रष्टहरुलाई सम्मान गरिँदै आएको बताए । 

लघुकथा समाजले यसअघि प्राध्यापक मोहनराज शर्मा, प्राडा दयाराम श्रेष्ठ सम्भव, किशोर पहाडी, नारायण भट्ट, विजय सागर, परशु प्रधान, भाउपन्थी, पद्मावती सिंह, सनत रेग्मी, डा. राजेन्द्र विमल, मधुवन पौडेल, लक्ष्मण प्रसाद गौतम, हिरण्य भोजपुरे, यति श्रेष्ठ, महेश प्रसाईं, ध्रुव मधिकर्मी, हरिप्रसाद भण्डारी, वनमाली निराकार, ध्रुवचन्द्र गौतमलाई सम्मानित गरिसकेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप