सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

७८ वर्षपछि पुग्यो सरकारी बाख्रा फार्ममा पानी

आइतबार, २९ फागुन २०७८, १० : १५
आइतबार, २९ फागुन २०७८

मकवानपुरको चितलाङमा रहेको बाख्रा फार्ममा ७८ वर्षपछि बल्ल पानीको समस्या हटेको छ । २००१ सालमा तत्कालीन सरकारले मकवानपुरको उत्तरी क्षेत्र चित्लाङमा भेँडा फार्म (हाल बाख्रा विकास फार्म) खोलेको हो ।

मुलुकमा व्यावसायिक रुपमा भेँडा पालन पालनका लागि उक्त फार्मलाई विकास गर्ने योजना रहे पनि सरकारले व्यवस्थापकीय पक्षमा ध्यान नदिँदा ७८ वर्षदेखि सो फार्ममा पानीको अभाव थियो । फार्म खुलेको ७८ वर्षपछि बल्ल पानीको समस्या हल भएको छ । हाल भेँडा, बाख्रा र खरायो पालन गर्दै आइरहेको उक्त सरकारी फार्ममा डिप बोरिङमार्फत् पानीको समस्या हल भएको हो ।

स्रोत साधन र पर्याप्त बजेटको अभाव झेल्दै आएको उक्त फार्मलाई हिउँदे खडेरीमा पानीको ठूलो संकट पर्ने गर्थ्यो । हिउँदका ५ महिनासम्म फार्मका भेँडा, बाख्रालाई मात्र नभइ सिंचाईको स्रोत नहुँदा फार्म क्षेत्रमा चरिचरण तथा घाँसपात पनि उम्रन नसक्ने अवस्था हुन्थ्यो ।​ समुन्द्री सतहबाट साढे १७ सय मिटर उचाईमा रहेको उक्त फार्मले १ सय ३८ मिटर गहिरो डिप बोरिङ गरेर पानी निकाल्न सफल भएको छ । प्रदेशको तत्कालीन भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय (हाल कृषि तथा पशुपन्छी)ले आर्थिक वर्ष २०७७/०७८ मा विनियोजन गरेको २० लाख बजेटबाट डिप बोरिङ गरिएको हो ।

यसका बाबजुद पानी तान्ने मोटर पम्प चलाउन समस्या देखियो । मोटर पम्प चलाउन थ्री फेजको विद्युत लाइन आवश्यक भएको तर फार्ममा थ्री फेज विद्युत लाइन नहुँदा समस्या बल्झियो ।थ्री फेजको विद्युत विस्तारको माग गर्दै बारम्बार फार्मका प्रतिनिधिले नेपाल विद्युत प्राधिकरण पालुङ वितरण केन्द्रसँग अनुरोध गरे पनि केन्द्रले खासै चासो नदेखाउँदा एक वर्ष यत्तिकै खेर गयो ।

केही अघि प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्णप्रसाद शर्मा खनाल र मन्त्रालयका सचिव रुद्र सिं तामाङ सो फार्म अवलोकनका लागि पुगेका थिए । उक्त समयमा फार्मका तत्कालीन प्रवन्धक बब्लु ठाकुरले फार्मको बारेमा जानकारी गराए भने समस्याको बारेमा पनि अवगत गराए ।

लगत्तै सचिव तामाङले फार्मको अवस्थाको बारेमा नेपाल विद्युत प्राधिकरणका प्रवन्ध निर्देशक कुलमान घिसिङलाई जानकारी गराएपछि एक हप्तामै फालुङ वितरण केन्द्रले फार्ममा थ्री फेज लाइन जोडिदियो । त्यसपछि भने पानी निकाल्न सफल भएको ठाकुरको भनाइ छ ।

पाइप विस्तारका लागि बजेट अभाव

फार्ममा बजेट अभावका कारण पाइप विस्तार गर्न सकिएको छैन । जसका कारण फार्ममा पानी निस्किए पनि चरिचरण क्षेत्रसम्म पानी पुर्‍याउन समस्या देखिएको छ ।

चरिचरण क्षेत्र र घाँस उत्पादन क्षेत्रसम्म पाइप विस्तार गर्नुपर्ने हुन्छ । तर, बजेट अभावका विस्तार कार्यमा समस्या देखिएको छ । आर्थिक वर्ष २०७८/०७९ मा कृषि तथा पशुपन्छी विकास मन्त्रालयले दिएको पाँच लाखमध्ये १ लाख विद्युत विस्तार कार्यमा खर्च गरेर पानीको समस्या समाधान गरेको उक्त फार्मसँग अब ४ लाखमात्रै बाँकी छ ।

घाँस उत्पादन क्षेत्र र चरिचरण क्षेत्रसम्म पानी पुर्‍याउन ३० लाख रुपैयाँ आवश्यक पर्छ । तर, पर्याप्त बजेट नहुँदा त्यसमा समस्या देखिएको हो ।

घाँस अभाव टार्न ‘घासको गुन्द्रुक’ को प्रयोग

२०५६ साल साउन १६ गतेबाट बाख्रा विकास फार्मको नामले सञ्चालित उक्त फार्मलाई सरकारले २०५८ सालमा भेँडालाई विस्थापित गरेर बाख्रा अनुसन्धान केन्द्रका रुपमा विकास गर्ने लक्ष्य लिएको थियो । त्यसयता फार्मले बाख्रासँगै भेँडा र खरायो पनि पालन गर्दै आइरहेको छ ।

चित्लाङको बाख्रा विकास उक्त फार्ममा जग्गा पर्याप्त छ । ३०५ रोपनीमा फैलिएको फार्ममा चरिचरण क्षेत्रमात्रै १०८ रोपनी छ । तर, एउटा बिडम्बना, वर्षको ६ महिना अर्थात् बर्खे समयमा मात्रै बाख्रा र भेँडाले पोषिलो घाँस खान पाउँछन् ।

वर्षायाममा चिसो कम, घाँसको पर्याप्तता र सिंचाईका कारण खासै समस्या नहुने भए पनि हिउँदमा भने निकै समस्या झेल्नुपर्ने हुन्छ । हिउँदका ६ महिनामा तुषारोका कारण भुइँघाँँस मर्ने, डाले घाँसको पात झर्ने, पानी अभावका कारण घाँसहरु सुक्नेमात्र नभइ चिसोबाट बाख्रा तथा पाठापाठीलाई बचाउन मुस्किल पर्ने गर्दछ ।

हिउँदको घाँस अभावलाई टार्न फार्ममा वर्षायामको घाँसलाई सुकाएर राख्ने तथा नेपियर, मकै आदि घाँसलाई साइलेज (घाँसको गुन्द्रुक) बनाएर राख्ने गरिन्छ । उक्त घाँसको गुन्द्रुकको प्रयोगबाट हिउँदको घाँस अभाव टार्ने गरेको ठाकुरले बताए ।

अध्ययन केन्द्रको रुपमा विकास हुँदै

फार्ममा देशभरबाट भेटेनरी विद्यार्थी अध्ययन, अनुसन्धानका लागि आउने गरेका छन् । अनुसन्धान केन्द्रका रुपमा विकास हुँदै आएको फार्ममा हाल विभिन्न जातका भेडा बाख्राहरु छन् ।

फार्ममा हाल २ सय ९८ वटा बाख्रा, बरुवाल जातको ५६ वटा भेँडा, ६३ वटा खरायो छन् । चित्लाङ बाख्रा फार्म पर्यटकीय स्थलका रुपमा देशभर चर्चित छ ।

यहाँ भेँडा तथा बाख्राको बारेमा अध्ययन तथा अनुसन्धानका लागि कृषि तथा भेटेरिनरी अध्ययन गरेका विद्यार्थी आउने गरेका छन् । भेँडा–बाख्रासँगै त्यस क्षेत्रमा लगाइएको घाँसका बारेमा पनि अध्ययनका लागि विभिन्न जिल्लाबाट विद्यार्थीहरु आउने गरेका छन् ।

त्यस्तै विभिन्न कृषि तथा सहकारीहरुबाट कृषकहरु पनि व्यावसायिक बाख्रापालनको बारेमा अवलोकन गर्न आउने गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप