आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

स्थानीयस्तरमा गठबन्धनबारे अन्योल

जिल्लास्तरका नेताहरू भन्छन्, ‘यसरी अन्योल हुँदा गोल हान्न सकिँदैन’
आइतबार, २९ फागुन २०७८, १३ : १३
आइतबार, २९ फागुन २०७८

मोरङका सत्ता गठबन्धन दलका नेताहरुले चुनावमा सहकार्य गर्ने कि नगर्ने भन्ने विषयमा अन्योल भएको बताएका छन् । उनीहरुले केन्द्रबाट गठबन्धनको विषयमा सहमतिसहित ठोस धारणा नआउँदा अप्ठ्यारो परेको गुनासो गरेका छन् । काँग्रेस मोरङका सभापति डिकबहादुर लिम्बूले  स्थानीयस्तरमा हुने गठबन्धनका विषयमा छिटो टुंगो लाग्नुपर्नेमा जोड दिए । ‘गठबन्धन गर्ने हो कि होइन ? गर्ने हो भने त्यसको स्पष्ट आधार के हो ? स्थानीय तहमा मात्रै हो कि प्रदेश र संघमा पनि गठबन्धन गर्ने हो ? भन्ने विषयको टुंगो छिटो लाग्नुपर्छ’, उनले भने । 

‘गठबन्धन गर्ने हो भने पहिले जस्तो हुँदैन,’ ०७४ सालमा माओवादीले स्थानीय तहमा सहकार्य गर्ने तर संघ र प्रदेशमा नगर्ने गरेको विषय उल्लेख गर्दैै उनले भने, ‘गठबन्धन गर्ने हो भने शीरदेखि तिरसम्म गर्नुपर्छ, एउटामा गर्ने अर्कोमा नगर्ने हुँदैन ।’

लिम्बूले यसअघिको निर्वाचनमा भएको गडबढीमा काँग्रेसका कार्यकर्तामा आशंका कायमै रहेको पनि बताए ।  । ‘०७४ मा स्थानीय तहमा माओवादीले हामीसँग सहकार्य गर्यो ।  पछि एमालेसँग मिलेर संघ र प्रदेशमा गएपछि काँग्रेस बिटुलो भयो । त्यसले गर्दा काँग्रेस कार्यकर्तामा ठूलो आशंका छ,’ लिम्बूले भने, ‘अब गठबन्धन गर्ने हो भने स्थानीय तहमा गर्ने, संघ वा प्रदेशमा नगर्ने भन्ने हुँदैन । गठबन्धन गर्ने हो भने किन गर्ने ? नगर्ने हो भने किन नगर्ने ? भन्ने कुरा स्पष्ट पार्नुपर्ने अवस्था छ ।’

माओवादी केन्द्र प्रदेश १ सदस्य तथा मोरङका नेता कुशल लिम्बूले गठबन्धन गर्ने हो भने केन्द्रमा जस्तै प्रदेश, जिल्ला र स्थानीय तहमा पनि संयन्त्र बनाउनुपर्नेमा जोड दिए । समय धेरै घर्किसकेको बताउँदै उनले भने, ‘ढिलो भइसक्यो, गठबन्धनको विषयमा स्पष्ट हुनुपर्यो, काँग्रेसकै नेताहरु कोही गर्ने भन्ने कोही नगर्ने भन्ने कुरा छ, अब एउटै मत बनाउनु आवश्यक छ ।’

लिम्बूले अन्तिम समयमा गठबन्धन गर्दा पनि नगर्दा पनि अन्योल बढ्ने भएकोले अहिलेदेखि नै तयारीमा लाग्नुपर्नेमा जोड दिए । ‘अहिले गठबन्धन गर्ने भन्ने, अलिक समयपछि नगर्ने भन्ने, फेरि गर्ने भन्ने जस्तो भयो भने, परिणाम राम्रो दिन सकिँदैन,’ लिम्बूले भने, ‘हामीलाई गोल गर्नका लागि रेफ्रीले समयमै सिट्ठी बजाउनु आवश्यक छ ।’

नेकपा (एकीकृत समाजवादी)का पोलिटब्युरो सदस्य तथा मोरङका नेता महेश रेग्मीले पनि गठबन्धनको विषयमा केन्द्रले छिटो टुंगो लगाउनु पर्ने आवश्यक भएको बताए । ‘हामीले यस विषयमा उपर्युक्त सुझाव दिएका छौं,’ उनले भने, ‘केन्द्रले गर्ने निर्णय नै अन्तिम हो ।’

यसैबीच आज विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले गठबन्धन दलहरुबीच केन्द्रमा बनाएजस्तो प्रदेश, जिल्ला र स्थानीय तहमा पनि संयन्त्र बनाउने सहमति भएको बताएका थिए । ‘प्रदेश, जिल्ला तथा स्थानीय तहमा पनि संयन्त्र बनाउने निर्णय भएको छ । हामी बनाउने प्रक्रियामा छौं,’ केन्द्रमा जस्तो प्रदेश, जिल्ला र स्थानीय तहमा संयन्त्र बनाउनु हुन्छ कि हुँदैन भन्ने प्रश्नमा उनले भने । 

प्रचण्डले एमालेसँग आगामी निर्वाचनमा मिल्ने कुनै सम्भावना नरहेको पनि बताएका थिए । ‘तत्काल फेरि एमालेसँग सहमति हुने सम्भावना कहिँकतै देखिएको छैन । हामी राष्ट्रिय स्वाधिनताको विषयसँग एमालेसँग केही सहमति हुनसक्छ भनेर नारायणकाजीजी र म नगएको होइन । तर, कहिँकतै एमालेमा सकारात्मक चिज भन्ने देखिएन । अहिले एमालेसँग वा केपी गुटसँग तत्काल कुनै सहमति सहकार्य हुने स्थिति छैन,’ उनको भनाइ थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन आचार्य
अर्जुन आचार्य
लेखकबाट थप