आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

सुदूरपश्चिममा आज सङ्क्रमण शून्य

आइतबार, २९ फागुन २०७८, २२ : ०३
आइतबार, २९ फागुन २०७८

सुदूरपश्चिम प्रदेशमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस सङ्क्रमणको अवस्था शून्यमा झरेको छ । स्वास्थ्य निर्देशनालय दिपायलले पछिल्लो २४ घण्टामा प्रदेशभरि कोरोनाको आशङ्का गरिएका ९४२ व्यक्तिको नमूना परीक्षण गरिएकामा कसैमा पनि कोरोना पोजेटिभ नदेखिएको जनाएको छ । सङ्क्रमित एकजनाको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचार व्यवस्थापन भइरहेको छ । यो अवधिमा उपचार व्यवस्थापनपछि दुईजना घर फर्किएका छन् ।

कोरोना भाइरसको सङ्क्रमण फैलिएयता हालसम्म प्रदेशमा पाँच लाख १९ हजार ८५३ व्यक्तिको नमूना परीक्षण गरिएकामा ५९ हजार ५८२ मा सङ्क्रमण पुष्टि भएको थियो । नमूना परीक्षण भएको यो सङ्ख्या दस वर्षअघिको प्रदेशको जनसङ्ख्या २५ लाख ५२ हजार ५१७ को झन्डै २० प्रतिशत हो । अहिलेसम्म कोरोनाबाट सङ्क्रमित ६३३ व्यक्तिको मृत्यु भएको छ । हाल सक्रिय बिरामी १४ जना छन् ।

पछिल्ला महिनामा कोरोना भाइरस विरुद्धको खोप लगाउने दर बढेको छ । कोरोना विरुद्धको दुई मात्र खोप पाइसकेका नागरिकलाई तेस्रो मात्राको रुपमा ‘बुस्टर डोज’को खोप दिने कार्य जारी छ । पूर्ण मात्रको खोप पाएर छ महिना अवधि पुगेका व्यक्तिलाई बुस्टर डोजको खोप दिने गरिएको छ ।

प्रदेशमा हालसम्म खोप दिनुपर्ने लक्षित जनसङ्ख्या २२ लाख ८३ हजार ३८८ मध्ये अधिकांशले पूर्ण मात्राको खोप पाइसकेका छन् । यस्तै १२ देखि १७ वर्ष उमेर समूहका ६४ प्रतिशतभन्दा बढीले पहिलो मात्राको खोप पाइसकेका छन् । उनीहरूलाई दोस्रो मात्राको खोप दिने समय पूरा भएपछि दोस्रो खोप दिइने जनाइएको छ । 

चैत महिनासम्म लक्षित सबै नागरिकलाई खोप लगाइसक्ने लक्ष्य सरकारको छ । यो रोगको सङ्क्रमण दर हाल घटेको भए पनि जोखिम अझै रहेको स्वास्थ्यकर्मीको भनाइ छ । कोरोना भाइरसको सम्भावित जोखिम हुन नदिन सुरुका वर्षको तुलनामा हाल अस्पताल र स्वास्थ्य संस्थामा आवश्यक पूर्वाधार जुटेको भए पनि दक्ष जनशक्तिको भने अझैँ अभाव रहेको जनाइएको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप