आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

‘ट्रान्स फ्याट’युक्त खानेकुरा स्वास्थ्यका लागि कति घातक ?

सोमबार, ३० फागुन २०७८, १५ : ५८
सोमबार, ३० फागुन २०७८

तपाईं हामीले ‘ट्रान्स फ्याट’ धेरै कम सुन्दै आएको शब्द हो । ट्रान्स फ्याट स्वास्थ्यका दृष्टिले चिल्लो पदार्थ मध्येको सबैभन्दा हानिकारक चिल्लो पदार्थ हो । नेपालमा न्यून तथा मध्यम आय भएका परिवारका लागि ट्रान्स फ्याट चुनौती बन्दै गएको वरिष्ठ मुटुरोग विशेषज्ञ डा.प्रेमराज वैद्य बताउँछन् ।

अति खराब चिल्लो पदार्थका कारण नसर्ने रोग बढ्दै गएको छ । जस्तै क्यान्सर, मुटु, हृदयघात, मधुमेह मष्तिस्कघात, मिर्गौला लगायतका नसर्ने रोगले ज्यान जाने गरेको छ । यस्तै, ट्रान्स फ्याटले रगतमा हुने खराब कोलेस्ट्रोलको मात्रालाई समेत बढाउने डा. वैद्यको भनाइ छ । ट्रान्स फ्याटले रक्तनलीभित्र रगत जम्ने प्रक्रियालाई सहयोग गर्ने भएकाले हृदयघात तथा अन्य ठूला रोग लाग्न सक्छ ।

कति प्रकारको हुन्छ  ट्रान्स फ्याट ?

चिकित्सकहरुका अनुसार ट्रान्स फ्याट प्राकृतिक र कृत्रिम गरी दुई प्रकारको हुन्छ । प्राकृतिक ट्रान्स फ्याटमा राँगा–भैंसी, खसी, बोका आदिको रातो मासु तथा जनावरको दूध ट्रान्स फ्याटका स्रोत हुन् । रातो मासुमा ट्रान्स फ्याटको मात्रा ३ देखि ९ प्रतिशत हुन्छ । यस्तै दूधमा २ देखि ६ प्रतिशत चिल्लो ट्रान्स फ्याट पाइन्छ । प्राकृतिक स्रोतबाट पाइने ट्रान्स फ्याटले स्वास्थ्यमा नकारात्मक असर नगर्ने डा वैद्य बताउँछन् ।

यस्तै, कृत्रिम स्रोतबाट प्राप्त हुने औद्योगिक ट्रान्स फ्याटलाई पार्सियल्ली हाइड्रोजेनेटेड आयल भनिन्छ । उद्योगबाट उत्पादिन हुने ट्रान्स फ्याटले स्वास्थ्यमा धेरैमा हानी पुर्याउने गर्छ । उद्योगबाट उत्पादित केही चिल्लो पदार्थ वनस्पति तेललाई तताएर त्यसमा आंशिक मात्रामा हाइड्रोजनको अणु मिसाएर उत्पादन गरिन्छ । यस्तै, ट्रान्स फ्याट सामान्य तापक्रममा जम्ने भएकाले व्यापारिक प्रयोजनका लागि उत्पादन गरिने खानेकुरा पकाइने गरिन्छ । ट्रान्स फ्याटले  खानेकुरालाई स्वादिष्ट बनाउँछ । यसमा पकाएको खानेकुरा धेरै दिनसम्म टिक्ने हुँदा बजारमा पाइने अर्थात् तेलमा तारिने खानेकुरा सकेसम्म नखान स्वास्थ्यकर्मीहरुको सुझाव दिन्छन् । वनस्पति तेललाई धेरैबेर र धेरैपल्ट तताउँदा त्यसमा ट्रान्स फ्याटको मात्रा बढ्दै जाने हुँदा त्यसमा पकाएका खानेकुरा अत्याधिक हानिकारक हुने गर्छ । यस्तै, धेरै बेरसम्म तताएर पकाइएका खानेकुरामा पनि ट्रान्स फ्याट बन्न सक्छ ।

नेपालमा प्रयोग गरिने विभिन्न किसिमका तेलमा ट्रान्स फ्याट हुने र ट्रान्स फ्याट भएको तेल विक्री गर्दा फाइदा हुने भएकाले विभिन्न उद्योगहरुले उत्पादनमा  प्रयोग गर्ने गरेको पाइएको छ । जस्तै डाल्डा, विभिन्न ब्रान्डका तेलमा ट्रान्स फ्याट रहेको पाइएको चिकित्सकहरु बताउँछन् ।

 तयार गरी प्याकेटमा बन्द गरिएका खाद्य पदार्थ कुकिज, चाउचाउ, दालमोट, चिजबल, आलु चिप्स कुरकुरेमा ट्रान्स फ्याटको मात्रा अधिक हुन्छ । बनस्पतिबाट बनेका बेकरी आइटमहरु केक, पाउरोटी, आइसक्रिम विभिन्न किसिमका फास्ट फुड र चिल्लोमा तारेर बनाइने मिठाइ, समोसा, पुरी लगायतका खानेकुरामा ट्रान्स फ्याट हुने हुँदा नखान स्वास्थ्यकर्मी सुझाव दिन्छन् । विश्व स्वास्थ्य संगठनको र विश्वव्यापी मान्यताअनुसार ट्रान्स फ्याट हुँदै नभएको वा दुई प्रतिशत भन्दा कम भएको खानेकुरा हानिकारक हुँदैन ।

कस्तो खानेकुरा खाने, कस्तो नखाने ?

–वनस्पति घिउमा बनाइएका खानेकुरा नखाने ।

–डिप फ्राई गरेका खानेकुरा नखाने ।

–प्याकेटमा बन्द गरी बेच्न राखिएका तयारी खानेकुरा नखाने ।

–गाई भैंसीको दूधबाट बनाइएका घिउको प्रयोग गर्ने ।

–सेतो मासु खाने ।

–मिठाइ आइसक्रिम, केक, तयारी चाउचाउ आदि कम खाने ।

–बजारमा प्याकेटमा पाइने खानेकुराहरुमा बाहिर छापिएको लेबल ट्रान्स फ्याट कति छ भनेर हेरेर मात्रै खाने  ।

वरिष्ठ मुटुरोग विशेषज्ञ डा. वैद्यका अनुसार वयस्क व्यक्तिले दैनिक दुई हजार क्यालोरी दिने खानेकुरा खानुपर्छ, जसमा एक प्रतिशत मात्र ट्रान्स फ्याट भएको खाना खानुपर्छ ।  

चिल्लो पदार्थ  कति प्रकारको हुन्छ ?

स्याच्यूरेटेड, ट्रान्स फ्याट र अनस्याच्यूरेटड गरी मुख्यतः चिल्लो पदार्थ तीन प्रकारको हुन्छ । यद्यपि यिनको बनावट मोलिक्यूलको हुन्छ । जस्तै, स्याच्यूरेटेड फ्याटमा कार्बनचेनको सबै भागमा हाइड्रोजन अणु भरिएको हुन्छ । अनस्याच्यूरेटेडमा हाइड्रोजन अणु केही ठाउँमा खाली हुन्छ अर्थात् एकातर्फबाट मात्रै खाली हुने चिकित्सकहरुको भनाई छ । तर ट्रान्स फ्याटमा हाईड्रोजन अणु दुई तर्फबाट खाली हुने गर्छ । चिकित्सकहरुका अनुसार हाइड्रोजन अणुको कम बढी मात्राले चिल्लोलाई फरक रुप दिने गर्छ । त्यसैले हाईड्रोजन अणु दुईतर्फ भएकाले ट्रान्स फ्याट बनाइएको खानेकुरा खानु हँुदैन ।

ट्रान्स फ्याटसम्बन्धी खै नीति ?

नेपालमा खाद्य पदार्थमा हुनुपर्ने ट्रान्स फ्याटको मात्रा सम्बन्धि नीति बनेको छैन । ट्रान्स फ्याटसम्बन्धि नीति नभएकाले नाफा कमाउने उद्धेश्यले कृत्रिम तेल उत्पादन गर्ने उद्योगबाट उत्पादित तेलबाट बजारमा तयारी खानेकुरा बनाएर पठाइन्छ । त्यसैले जंकफुड् अर्थात् तयारी चाउचाउ, दालमोट, चिप्स लगायतका खानेकुरामा खाँदा सानैदेखि नसर्ने खालका गम्भीर रोग देखिने चिकित्सकहरुको भनाइ छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार नेपालमा कुल मृत्युमध्ये ६६ प्रतिशतको नसर्ने रोगकै कारण मृत्यु हुने गर्छ । विश्व स्वास्थ्य संगठनका अनुसार वार्षिक एक करोड ५० लाख व्यक्ति नसर्ने रोगका कारण मृत्यु हुने गरेको छ ।  

नेपाल सरकारको योजनाअनुसार सन् २०२३ सम्ममा औद्योगिक ट्रान्स फ्याटको मात्रा दुई प्रतिशतमा लक्ष्य समेटिएको छ । विश्वका ४० मुलुकले ट्रान्स फ्याट दुई प्रतिशतमा झारिसकेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

माया श्रेष्ठ
माया श्रेष्ठ

श्रेष्ठ राताेपाटीका लागि समसामयिक विषयमा रिपाेर्टिङ गर्छिन् ।

लेखकबाट थप