आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

मधेसमा एमाले : हिँड्दैछ, पाइला मेट्दैछ !

वीरगञ्जका मेयरको लफडादेखि प्रभु साहको बहिस्कारसम्म
बुधबार, ०२ चैत २०७८, ०८ : ४६
बुधबार, ०२ चैत २०७८

नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले सोमबार जनकपुरधाममा नेकपा एमालेको धनुषा जिल्ला अधिवेशन उद्घाटन गरे । तर, मधेस प्रदेश कमिटीका सह–इञ्चार्जसमेत रहेका प्रभु साह अधिवेशनमा गएनन् । इञ्चार्ज रघुवीर महासेठसँग असन्तुष्ट रहँदै आएका साह आफ्नै गृह जिल्ला रौतहटमा रहेका थिए ।

पछिल्लो समय नेकपा एमालेले मधेस प्रदेशमा आफ्नो गतिविधि बढाउँदै लगेको छ । वीरगञ्जमा मेयर विजय सरावगी एमालेमा प्रवेश गरेका छन् भने अन्य पार्टीबाट पनि एमालेमा प्रवेश गराउने क्रम बढेको छ । तथापि ‘हिँड्दैछ, पाइला मेट्दैछ’ भनेजस्तै मधेसका आठवटै जिल्लामा एमालेभित्र चरम असन्तुष्टि र अन्तर्विरोध पनि चुलिँदै गएको नेताहरू बताउँछन् ।

विशेष गरी प्रभु साहको नेतृत्वमा नेकपा एमालेमा समाहित भएका पूर्वमाओवादी नेता कार्यकर्ताहरू निराश बनेका छन् । पूर्वएमालेका नेताहरूले आफूलाई पेलेको र जिम्मेवारीविहीन बनाएको भन्दै कतिपय कार्यकर्ताहरू माओवादीमै फर्कने क्रमसमेत बढेको छ ।

जनकपुरधाममा एकजना राजनीतिक विश्लेषकले पछिल्लो समय मधेसमा एमालेले आफ्नो प्रभाव बढाएको दाबी गरे । सिके राउत र महन्थ ठाकुरको पार्टीसँग एमालेको सम्बन्ध सुध्रिएको र आगामी चुनावमा उनीहरूबीच गठबन्धन हुन सक्ने ती विश्लेषकले दाबी गरे ।

तर, मधेस मामिलाका जानकारहरूले एमालेको स्थितिमा सुधार आएको बताइरहँदा एमालेमा आबद्ध पूर्वमाओवादी नेताहरूमा चाहिँ चरम असन्तुष्टि र निराशा बढेको छ । एमालेमा आबद्ध एक पूर्वमाओवादी नेताले रातोपाटीसँग भने, ‘आठवटै जिल्लामा पूर्वमाओवादीलाई पेल्ने काम भइरहेको छ, पूर्वएमाले नेताहरूले एकलौटी व्यवहार गरिरहेका छन् ।’

 एमालेमा रहेर असन्तुष्ट बनेका ती पूर्वमाओवादी नेताका अनुसार मधेस प्रदेशका आठै जिल्लामा एमालेभित्र असन्तुष्टि र अन्तर्विरोध चुलिएको छ । सप्तरीदेखि पर्सासम्मको अवस्था उस्तै छ ।

पर्सा: वीरगञ्जका मेयरले भित्र्याए लफडा

केपी शर्मा ओलीले वीरगञ्जका मेयर विजय सरावगीलाई माला लगाएर यही साता एमालेमा प्रवेश गराएका छन् । सरावगी मेयरको उम्मेदवार बन्नका लागि एमालेमा लागेका हुन् । तर, उनको प्रवेशसँगै एमालेमै रहेका अन्य आकाङ्क्षीहरू झस्किएका छन् ।

मेडिकल व्यवसायीसमेत रहेका एमाले नेता बसरुद्दीन अन्सारी पनि वीरगञ्जको मेयरका दाबेदार हुन् । सरावगी एमालेमा लागेपछि अन्सारी झस्किएका छन् ।

त्यसैगरी भर्खरै एमाले बनेका राजेशमान सिंह पनि वीरगञ्जमा लोकप्रिय छन् । सिंह पनि मेयरका दाबेदार थिए । तर, सरावगीलाई एमाले नेता मोती दुगडले वीरगञ्जको मेयर बनाउने आश्वासनसहित पार्टीमा भित्र्याएपछि सिंहको मेयर बन्ने सपनामा धक्का लागेको छ ।

पर्सा जिल्लामा एमालेले आन्तरिक विवादका कारण अहिलेसम्म जिल्ला अधिवेशन नै गर्न सकेको छैन । मिति घोषणा भइसकेको अधिवेशनमा कुटाकुट हुने अवस्था आएपछि बीचैमा रोकिएको नेताहरू बताउँछन् । पार्टीको विवाद मिलाउन इञ्चार्ज रघुवीर महासेठ रातारात खटिए पनि अधिवेशनको मिति तय हुन सकेको छैन ।

स्थानीय चुनावको मिति नजिकै आइसक्दा पनि  जिल्ला अधिवेशन हुन नसक्नु अनि महानगरपालिकाको मेयरका दाबेदारहरू थपिँदै जानुले पर्सामा एमालेभित्र सङ्कट देखा परेको  एक नेताले बताए ।

बारा: एक सयजनाको उजुरी

बारा जिल्लामा पनि नेकपा एमाले चरम विवादमा फसेको छ । यहाँ अधिवेशन त भएको छ तर रघुवीर महासेठ पक्षले एकपक्षीय रूपमा अधिवेशन गरेको भन्दै करिब सय जना कार्यकर्ताले पार्टी मुख्यालयमा उजुरी दर्ता गराएका छन् । पूर्वमाओवादीमाथि विभेद गरेको देखि परिवारवाद हाबी भएकोसम्म उजुरीमा उल्लेख छ ।

रौतहट: प्रभु साहविरुद्ध रेखा झाको उजुरी

रौतहटमा नेकपा एमालेको जिल्ला अधिवेशन सम्पन्न भएको छ । यहाँ यहाँ प्रभु साहनिकट त्रिभुवन साह जिल्ला अध्यक्ष बनेका छन् । पदाधिकारीमा तीनजना पूर्वएमालेलाई समेटिएको छ । तर, एमालेकी केन्द्रीय सदस्य रेखा झाले प्रभु साहविरुद्ध केन्द्रमा उजुरी दर्ता गराएकी छिन् । अधिवेशनमा पूर्वमाओवादी पक्षले एकलौटी गरेको झाको आरोप छ ।

सर्लाही: भाँडभैलोपछि केही नेता माओवादीमै फिर्ता

मधेसका अन्य जिल्लामा जस्तै सर्लाहीमा पनि एमालेभित्र भाँडभैलो मच्चिएको छ । गत फागुन ७ र ८ गते जिल्ला अधिवेशन गर्ने मिति तय भएकोमा विवाद चर्किएपछि ७ गते नै एकतर्फी रूपमा पदाधिकारी घोषणा गर्दै अधुरो अवस्थामै अधिवेशन अन्त्य गरिएको पूर्वमाओवादी पक्षका नेताहरूको गुनासो छ ।

सर्लाही जिल्ला कमिटीको पदाधिकारी टिममा पूर्वएमालेका मात्रै राखिएको र पूर्वमाओवादीलाई नसमेटिएको ती नेताले गुनासो गरे । पूर्वमाओवादी भन्दै पदाधिकारी बनाइएका केदार खत्री आफ्नो समूहको नभई पहिले नै एमाले बनिसकेको साह पक्षधर नेताहरू बताउँछन् ।

त्यसो त सर्लाही एमालेमा पूर्वमाओवादीमाथि विभेद भएको भन्दै केही नेताहरू एमाले छाडेर माओवादीमै फर्किएका छन् भने केही निष्क्रिय बसेका छन् । मनिष माझी, राजकुमार यादव लगायतका नेताहरू माओवादीमै फर्किएको र शिवपुजन यादव निष्क्रिय बसेको स्रोतले बतायो ।

महोत्तरी: चुनाव आइसक्यो, अध्यक्ष छैनन्

मधेस प्रदेशको अर्को जिल्ला महोत्तरीमा पनि एमालेभित्र विवाद चर्केको छ । स्थानीय चुनाव आइसक्न लाग्दा पनि यहाँको जिल्ला अधिवेशन अनिश्चित बनेको छ । पूर्वमाओवादीबाट एमाले बनेका टेकबहादुर बलम्पाकी केन्द्रीय सदस्य बनेपछि यहाँको जिल्ला नेतृत्व खाली छ । पूर्वमाओवादी र पूर्वएमालेबीचको विवादकै कारण महोत्तरीमा पनि अधिवेशन हुन नसकेको स्रोतको दाबी छ ।

सप्तरी  र सिराहामा पनि विवाद

मधेस प्रदेशका पूर्वी जिल्ला सप्तरी र सिराहामा एमालेका जिल्ला अधिवेशनहरू सम्पन्न भएका छन् । सिरहामा अधिवेशनका सञ्चालक नै पदाधिकारीको उम्मेदवार बन्न नपाएपछि नेकपा एकीकृतमा छिरेका छन् । अधिवेशनमा एकलौटी गरिएको भन्दै पूर्वमाओवादी पक्षका नेताहरूले केन्द्रमा उजुरी दिएका छन् । सप्तरीमा पनि एकलौटी अधिवेशन भएको पूर्वमाओवादी समूहको आरोप छ ।

प्रदेश कमिटीमा पूर्वमाओवादी शून्य

त्यसो त ८ जिल्लाको नेतृत्व गर्ने एमालेको प्रदेश कमिटी पनि पदाधिकारीमै सीमित भएको छ । कमिटीका सदस्यहरूले पूर्णता पाउन सकेका छैनन् । पदाधिकारीमा पूर्वएमालेले एकलौटी गरेको र पूर्वमाओवादी पक्षको प्रतिनिधित्व शून्य रहेको प्रभु साह पक्षधरको आरोप छ । राम अवतार यादवको अध्यक्षतामा बनेको प्रदेश कमिटी पाँच जना पदाधिकारीमै सीमित छ ।

पुसको सहमति फासफुस !

त्यसो त मधेसमा देखा परेको विवाद समाधानका लागि एमालेले गत पुस १९ र २० गते ललितपुरको तुलसीसाल प्रतिष्ठानमा दुई दिने बैठक आयोजना गरेको थियो । केपी ओली समेत सहभागी रहेको सो बैठकले नेकपा कालीन सदस्यहरूलाई साबिककै जिम्मेवारीमा राख्ने, नेकपाको भाव झल्कने गरी व्यवहार गर्ने अनि निर्णयहरू सहमतिका आधारमा गर्ने भनेको थियो । सोहीअनुसार महासचिव शंकर पोखरेलले सर्कुलरसमेत जारी गरेका थिए ।

तर, रघुवीर महासेठले मधेसमा पुसमा भएको त्यो सहमति लागू नगरेको प्रभु साह पक्षका नेताहरूको गुनासो छ । पूर्वसहमति लागू नभएको भन्दै सह इञ्चार्ज प्रभु साहले धनुषाको अधिवेशनमा सहभागिता नजनाएको स्रोतले बतायो ।

धनुषामा एमालेका पुराना नेता राजकिशोर यादवलाई जिल्ला अध्यक्ष बनाउनुपर्ने पक्षमा प्रभु साह छन् । तर, महासेठ भने यादवलाई अध्यक्ष नबनाउने पक्षमा छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप